बुधवार , बैशाख ३०, २०८३
भैरहवा, ३० वैशाख । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० दोगहरीस्थित श्री सूर्यदेव माध्यमिक विद्यालयमा माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । बुधबार विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
विद्यालयका प्रधानाध्यापक भरत गिरी गोसाईका अनुसार २०८२ सालको एसईई परीक्षामा विद्यालयबाट २७ जना सहभागी भएकोमा ११ जना विद्यार्थी उत्तीर्ण भएका छन् । पछिल्ला वर्षमा विद्यालयको नतिजामा सुधार भइरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा कक्षा १० मा अध्यापन गर्ने दुईजना शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुने शिक्षकमा विजय लक्ष्मी गुप्ता र शालिकराम ज्ञवाली रहनुभएको छ । शैक्षिक सत्र २०८२ मा माध्यमिक तह (कक्षा १०) को ऐच्छिक शिक्षा विषय शिक्षण गरी एसईई–२०८२ ब्याचको नतिजामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको भन्दै शिक्षक गुप्तालाई सम्मान गरिएको थियो । त्यस्तै ऐच्छिक अर्थशास्त्र विषय शिक्षण गरी एसईईमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको भन्दै शिक्षक ज्ञवालीलाई सम्मान गरिएको प्रधानाध्यापक भरत गिरी गोसाईले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार कोइरीको अध्यक्षता, सिद्धार्थनगर–१० का वडाअध्यक्ष सुर्जमन यादवको प्रमुख आतिथ्यता, एनप्याब्सन सिद्धार्थनगरका अध्यक्ष तथा नगर शिक्षा समिति सदस्य अमित यादवको विशिष्ट आतिथ्यता, भैरहवा नमुना माविका शिक्षक जगत रायमाझीको आतिथ्यता, शिक्षक मञ्जु कुमारी कुँवरको स्वागत तथा अर्का शिक्षक गंगालाल जैसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा अतिथिहरुले आगामी दिनमा विद्यालयले अझ उत्कृष्ट नतिजा हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
