बुधवार , बैशाख ३०, २०८३
भैरहवा, ३० वैशाख । लायन्स क्लब अफ सिद्धार्थनगर र लायन्स क्लब अफ सिद्धार्थनगर लोटसले सामुदायिक विद्यालयलाई आरओ वाटर प्लान्ट हस्तान्तरण गरेका छन् । ‘ज्वाईज्ट कम्यूनिटी सर्भिस’ अन्तर्गत बुधबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ स्थित श्री रुपन्देही लीलाराम न्यौपाने माविलाई आरओ वाटर प्लान्ट हस्तान्तरण गरिएको लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष धर्मराज आचार्यले बताउनुभयो ।
‘वृक्षारोपण गर्ने भनेर विद्यालयमा आएको थिएँ, त्यतिबेला पिउने पानीको अभाव रहेको जानकारी पाएँ । सोही समयमा मैले आफ्नो कार्यकालमा यसको व्यवस्था गर्ने प्रतिबद्धता गरेको थिएँ । आज प्रतिबद्धता पूरा गरियो, ’अध्यक्ष आचार्यले भन्नुभयो ।
अध्यक्ष आचार्यका अनुसार २ लाख ५० हजार रुपैयाँ बढीको लागतमा आरओ वाटर प्लान्ट विद्यालयमा जडान गरिएको हो । जसमध्ये १ लाख ५० हजार एभरेष्ट बैंक लिमिटेडले सहयोग गरेको थियो । त्यस्तै स्टील टंयाक पञ्चकन्या समूहले सहयोग गरेको थियो । बाँकी रकम दुवै क्लबले प्रदान गरेका थिए ।
विद्यालयमा जडान भएको स्टील टंयाक, वाटर फिल्टर र कुलिङ बुधबार एक कार्यक्रमकाबीच लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका डिष्ट्रिक गभर्नर बालाराम भट्टराई र एभरेष्ट बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख निरञ्जन कार्कीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि डिष्ट्रिक गभर्नर बालाराम भट्टराईले स्वास्थ्य क्षेत्रबाट लायन्सले काम सुरु गरेको बताउनुभयो । ‘यो अत्यन्तै उत्कृष्ट कार्य भएको छ । कार्यक्रम अघि बढाउने क्लब र ठाउँ उपलब्ध गराउने विद्यालयप्रति आभार व्यक्त गर्दछु, ’उहाँले भन्नुभयो । उहाँले समाजको आवश्यकता अनुसार लायन्सले कार्यक्रम गरिरहने बताउनुभयो ।
त्यस्तै सिद्धार्थनगर नगरपालिका–८ का वडाअध्यक्ष राजनजंग राणाले लायन्स क्लबले सराहनीय कार्य गरेको छ । ‘हिजोको दिनमा पनि यहाँहरुले यस्तो कार्यहरु गर्नुभएको थियो । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्दछु । लायन्स क्लबको टीमलाई धन्यवाद दिन्छु,’ उहाँले भन्नुभयो ।
कार्यक्रममा लायन्स क्लब अफ सिद्धार्थनगर लोटसको अध्यक्ष सरिता आचार्य, कार्यक्रम संयोजक चन्द्र रोका, लायन्स क्लब अफ सिद्धार्थनगरका सह–सचिव आनन्द खनाल लगायतले बोल्नुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
