२०८३, बैशाख ३१ गते

May 14 2026 | २०८३, बैशाख ३१ गते

एसईईमा साई ग्लोबलका दुई विद्यार्थीले ल्याए ४ जीपीए

बुधवार , बैशाख ३०, २०८३

  • 643
    Shares
  • 643
    Shares
  • भैरहवा, ३० वैशाख । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ बसडिलियास्थित साई ग्लोबल एकेडेमी (साई ग्लोबल माध्यमिक विद्यालय तथा कलेज) बाट माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी विद्यार्थीमध्ये दुईजनाले ४ जीपीए ल्याएका छन् । 

    दुईजना ४ जीपीएसहित विद्यार्थीहरुले उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको विद्यालयका प्राचार्य लक्ष्मण ज्ञवालीले बताउनुभयो । 

    ४ जीपीए ल्याउने विद्यार्थीमा प्रशान्त पाण्डे र शिवांस मिश्रा रहेका छन् । २०८२ सालको एसईईमा साई ग्लोबल एकेडेमीबाट ६७ जना विद्यार्थी सहभागी भएका थिए । 

    एकेडेमीले एसईईमा उत्तीर्ण विद्यार्थीहरुलाई विद्यालयमा बधाई तथा शुभकामना कार्यक्रम गरी सम्मान गरेको छ । ४ जीपीए ल्याएका विद्यार्थीहरुलाई नगद ५ हजार रुपैयाँसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिका–८ का वडाअध्यक्ष राजनजंग राणाले  एसईई उत्तीर्ण विद्यार्थीहरु देशको महत्वपूर्ण स्थानमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विद्यालयले आगामी दिनमा पनि यस्तै उत्कृष्ट नतिजा प्राप्त गरोस् भन्दै शुभकामना व्यक्त गर्नुभयो ।

    साई ग्लोबल एकेडेमी सञ्चालक समितिका अध्यक्ष दिनेश मान अमात्यले विद्यालयको नतिजा सबै कुरा नभए पनि नतिजाले ठूलो अर्थ राख्ने बताउनुभयो । उहाँले साई ग्लोबल एकेडेमीले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताउनुभयो ।

    विद्यालयका प्रबन्ध निर्देशक मोती प्रसाद पौडेलले शिक्षक, अभिभावक र विद्यार्थीको मिहिनेतले नै विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउनुभयो ।

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्यले शैक्षिक क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने निजी विद्यालयलाई राज्यले हेर्ने दृष्टिकोण भने फरक रहेको बताउनुभयो । 

    चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष सचिन रोक्काले शिक्षामा भैरहवा क्षेत्र अब्बल छ भन्ने कुरा नतिजाले प्रमाणित गरेको बताउनुभयो ।

    साई ग्लोबल एकेडेमीका निवर्तमान अध्यक्ष तथा सल्लाहकार हरि बहादुर थापाले एसईई उत्तीर्ण गरेपछि अध्ययनका लागि टाढा जानु नपर्ने बताउनुभयो । 

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) लुम्बिनी प्रदेशका कोषाध्यक्ष महेश भुर्तेलले आगामी दिनमा पनि विद्यालयले उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

    काशी नोबल एकेडेमीका प्राचार्य राजेन्द्र घिमिरेले शैक्षिक क्षेत्रमा साई ग्लोबलले महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो । 

    विद्यालयको पूर्व विद्यार्थी समाजको अध्यक्ष एलिना आचार्यले साई ग्लोबल भैरहवामा मात्र नभइ नेपालकै प्रतिष्ठित संस्थाको रुपमा अघि बढेको बताउनुभयो । 

    अभिभावक प्रदीप कुमार पाण्डे र सुरेन्द्र प्रसाद मिश्राले आगामी दिनमा पनि विद्यार्थीहरुलाई मिहिनेतका साथ अध्ययन गर्न आग्रह गर्नुभयो । उहाँहरुले शिक्षक र व्यवस्थापन टीमको अथक मिहिनेतका कारणले विद्यालयले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताउनुभयो ।  

    कार्यक्रममा कक्षा १० मा अध्यापन गर्ने शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो ।