मंगलवार , बैशाख २९, २०८३
रुपन्देही, २९ वैशाख । सरकारले बिना विकल्प घरटहरा भत्काएर आफूहरुमाथि अमानवीय व्यवहार गरेको भन्दै भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुले गरेको आन्दोलनप्रति रुपन्देहीका राजनीतिक दलहरूले ऐक्यबद्धता जनाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमा रहेको वर्तमान सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी माथि गरेको अमानवीय व्यवहारप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै रुपन्देहीमा क्रियाशील १२ वटा राजनीतिक दलहरुले उनीहरुको आन्दोलनप्रति सामूहिक ऐक्यबद्धता जनाएका हुन् ।
मंगलबार बसेको राजनीतिक दलहरुको संयुक्त बैठकले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथि सरकारको दमनकारी प्रवृतिकोविरुद्ध सामूहिक रुपमा लाग्ने निर्णय गरेको हो ।
राजनीतिक दलहरुको संयुक्त बैठकपछि जारी गरिएको विज्ञप्तीमा सरकारले भुमिहप्न, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको दीर्घकालीन समाधान नखोजी एकाएक उनीहरूको घरबस्तीमा डोजर चलाउने, दमन गर्ने, शारीरिक तथा मानसिक यातना दिने एवं संविधान प्रदत्त बाँच्न पाउने मौलिक अधिकारबाट वञ्चित गर्ने काम गरेको उल्लेख छ ।
‘नेपाली जनतालाई सुशासन, शान्ति र सुरक्षित भविष्य दिने भन्दै चुनावका बेला ठूलो आश्वासन दिएर सत्तारुढ भएको झण्डै दुईतिहाई बहुमतप्राप्त सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको दीर्घकालीन समाधान नखोजी एकाएक उनीहरूको घरबस्तीमा डोजर चलाउने, जबरजस्ती दमन गर्ने, शारीरिक तथा मानसिक यातना दिने एवं संविधान प्रदत्त बाँच्न पाउने मौलिक अधिकारबाट नागरिकलाई वञ्चित गर्ने अमानवीय कार्यको घोर भर्सना गर्दछौं, ’विज्ञप्तीमा उल्लेख छ ।
उक्त विज्ञप्तीमा नेपाली काँग्रेसका जिल्ला सभापति रामकृष्ण खाण, नेकपा (एमाले) का अध्यक्ष यज्ञ गैरे, नेपाली कम्युनिष्ट पार्टीका निर्मल जिसी, श्रम संस्कृति पार्टीका छविलाल गुरुङ्ग, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मण प्रसाद श्रेष्ठ, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका लक्ष्मीकान्त पौडेल, नेकपा माओवादीका शरद वली, नेकपा बहुमतका रेखा खनाल, नेकपा (मसाल) का लालचन्द पन्त, राष्ट्रिय जनमोर्चाका इन्दिरा ज्ञवाली, प्रगतिशील लोकतान्त्रिक पार्टीका कृष्णकुमार बञ्जाडे र नेकपा संयुक्तका भिमबहादुर क्षेत्रीले ऐक्यबद्धता जनाउँदै हस्ताक्षर गरेका छन्।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
