२०८३, बैशाख २९ गते

May 12 2026 | २०८३, बैशाख २९ गते

वाईवाई यु–१९ पुरुष रुपन्देही जिल्ला छनौट क्रिकेट प्रतियोगिता, रुपन्देही ब्लू विजयी

मंगलवार , बैशाख २९, २०८३

  • 256
    Shares
  • 256
    Shares
  • भैरहवा, २९ वैशाख । रुपन्देही क्रिकेट संघको आयोजनामा जारी यु–१९ पुरुष रुपन्देही जिल्ला छनौट क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा रुपन्देही ब्लू विजयी भएको छ । तिलोत्तमा नगरपालिका–१७ स्थित एक्स्ट्राटेक ओभलमा आइतबार भएको खेलमा रुपन्देही ग्रीनलाई २ विकेटलाई पराजित गर्दै रुपन्देही ब्लूले जितेको हो।

    टस जितेर ब्याटिङ रोजेको रुपन्देही ग्रीनले ३६ ओभरमा १० विकेटको क्षतिमा ९१ रनको योगफल बनायो । उसका लागि लक्ष्मण कुमाल (नटआउट)ले ३५ र सिद्धार्थ ढकालले १५ रन बनाए । अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

    बलिङमा रुपन्देही ब्लूका विनय जि.सी.ले ३, सुप्रिम कंडेलले २ तथा दिल बहादुर वि.क., फैजन खाँ, शिव प्रसाद यादव र सुजन रानाभाटले १–१ विकेट लिए ।

    जवाफमा रुपन्देही ब्लूले २५ दशमलव १ ओभरमा ८ विकेट गुमाउँदै ९२ रन बनायो । उसका लागि मनान खानले २४, समिर ठकुरीले १६, विमल भट्टराईले १५ र वलिउद्दीन खानले १२ रनको योगदान गरे ।

    बलिङमा रुपन्देही ग्रीनका तुसार चौहानले ३, सन्दिप बढईले २ तथा प्रिन्स पाल, लक्ष्मण कुमाल र सहज अर्यालले १–१ विकेट लिए । खेलमा रुपन्देही ब्लूका सुप्रिम कंडेल म्यान अफ द म्याच घोषित भए । 

    वैशाख २ र ३ गते भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको ओपन क्याम्पबाट छनोट भएका ४८ जना यस प्रतियोगितामा सहभागी रहेको रुपन्देही क्रिकेट संघका कार्यसमिति सदस्य प्रथम पराजुलीले बताए । ‘छनौट भएका ४८ जना खेलाडीहरु सम्मिलित चारवटा टीम रुपन्देही यु–१९ छनोट क्रिकेट प्रतियोगितामा सहभागीता रहेको छ । यो प्रतियोगिताबाट प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुनका लागि १४ जना रुपन्देही जिल्ला टीमको लागि  छनौट हुनेछन्, ’उनले भने ।