२०८३, बैशाख २७ गते

May 10 2026 | २०८३, बैशाख २७ गते

प्रहरीद्वारा अपरेशन डेल्टा सञ्चालन : रुपन्देहीमा १७ सवारीचालक कारवाहीमा

आइतवार , बैशाख २७, २०८३

  • 190
    Shares
  • 190
    Shares
  • भैरहवा, २७ वैशाख । रुपन्देहीमा लागूऔषध सेवन गरी सवारीसाधन चलाउने १७ जना चालक कारवाहीमा परेका छन् । शनिबार जिल्लास्थित विभिन्न स्थानमा आकस्मिक चेकपोईन्ट स्थापना गरेर यात्रुसमेत बोकी चलाइरहेका सार्वजनिक सवारीसाधनलाई रोकी चेकजाँच गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दले बताउनुभयो ।

    सिद्धार्थ राजमार्गलगायतका विभिन्न भित्री सडकखण्डमा चल्ने सार्वजनिक सवारीसाधनमा चालकहरुले लागूऔषध सेवन गरी सवारीसाधन चलाइरहेका छन् भन्ने विशेष सूचनाका आधारमा उनीहरुबाट हुन सक्ने सम्भावित ठूलो धनजनको क्षति तथा सवारी दुर्घटनालाई न्यूनीकरण गर्न लागूऔषध सेवन गरेका चालकहरुलाई कानूनबमोजिम कारवाहीका लागि चेकजाँच गरिएको उहाँले जानकारी दिनुभयो ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नेतृत्वमा लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय भैरहवा, जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही तथा नेपाल लुम्बिनी प्रादेशिक प्रहरी अस्पताल नेपालगंजसमेतबाट खटिएको प्राविधिक चिकित्सकसहितको टोलीले १ सयजना चालकहरुको युरिन (पिसाब) ड्रग किटमा राखी तत्कालै परीक्षण गर्दा १७ जना चालकहरुले लागूपदार्थ सेवन गरेको पोजिटिभ रिपोर्ट प्राप्त भएको थियो ।

    ती चालकहरुलाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम आवश्यक कारवाहीका लागि तत्कालै जरुरी पक्राउ पुर्जी दिइ नियन्त्रणमा लिइएको डीएसपी चन्दले जानकारी दिनुभयो । सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको उहाँले बताउनुभयो ।

    Photo1.jpg

    रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ बस्ने २४ वर्षिय मंजिल परियार, लुम्बिनी साँस्कृतिक नगरपालिका–३ बस्ने २२ वर्षिय इमरान अलि मुसलमान, तिलोत्तमा–६ बस्ने ४८ वर्षिय कुल प्रसाद रेग्मी, सिद्धार्थनगर नगरपालिका–१ बस्ने ३८ वर्षिय सुरज राना, लुम्बिनी साँस्कृतिक नगरपालिका–९ बस्ने ४४ वर्षिय सरिफ अहमद, तिलोत्तमा–५ बस्ने ३० वर्षिय विशाल मगर, तिलोत्तमा–३ बस्ने ४२ वर्षिय होम बहादुर क्षेत्री, तिलोत्तमा–१२ बस्ने २३ वर्षिय दिपेश कठरिया थारु, बुटवल उपमहानगरपालिका–११ बस्ने ४७ वर्षिय सूर्य बहादुर वि.क., बुटवल उपमहानगरपालिका–१३ बस्ने २६ वर्षिय प्रविण सिंजाली, कैलालीको चुरे गाउँपालिका–५ बस्ने २५ वर्षिय मोहन राना मगर, अर्घाखाँचीको पाणिनी गाउँपालिका–६ बस्ने ३२ वर्षिय सुमन परियार, दाङको तुल्सीपुर उपमहानगरपालिका–१५ बस्ने २७ वर्षिय सन्जु चौधरी, धादिङको गजुरी गाउँपालिका–५ बस्ने २४ वर्षिय जिपसन राई, नवलपरासीको रामग्राम नगरपालिका–१६ बस्ने २८ वर्षिय सन्तोष कुमार चौधरी, बर्दघाट नगरपालिका–४ बस्ने ३४ वर्षिय तारा प्रसाद उपाध्याय र उदयपुरको चौदण्डी नगरपालिका–९ बस्ने २५ वर्षिय विवेक राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।