२०८३, बैशाख २६ गते

May 09 2026 | २०८३, बैशाख २६ गते

बुटवलमा मिडिया मन्थन : सामाजिक न्यायको पक्षमा लाग्नुपर्नेमा जोड

शनिवार , बैशाख २६, २०८३

  • 184
    Shares
  • 184
    Shares
  • रुपन्देही, २६ वैशाख । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन सुरु भएको छ । सम्मेलनमा सामाजिक न्यायको पक्षमा पत्रकारिताका लागि जोड दिइएको छ । 

    सम्मेलनमा शनिबार पहिलो दिनको पहिलो सेसनमा सहभागी प्रतिनिधिहरुले पत्रकारिताको भविष्य हिजो, आज र भोली पनि रहेको बताए । उनीहरुले जस्तोसुकै चुनौती आए पनि पत्रकारिताको भविष्य रहेको बताएका हुन् । स्थानीय मिडिया कसरी बचाउने सम्बन्धी छलफल कार्यक्रममा सहभागीले यस्तो बताएका हुन् ।

    कार्यक्रममा दैनिकपत्र दैनिकका प्रधान सम्पादक÷सञ्चालक डा. बालकृष्ण चापागाईंले समाज रहेसम्म पत्रकारिता रहिरहने बताउनुभयो । उहाँले जस्तोसुकै चुनौति आए पनि पत्रकारिताको भविष्य रहेको बताउनुभयो । ‘पत्रकारिताले समाजमा कस्तो प्रभाव पार्छ भन्ने कुरा नै महत्वपूर्ण कुरा हो, ’उहाँले बताउनुभयो । मिडियाको महत्व कहिले पनि नघट्ने उहाँको भनाइ छ । सामाजिक न्यायको पक्षमा पत्रकारिताको वकालत गर्ने अवस्था आएको उहाँले बताउनुभयो।
    लुम्बिनी सामुदायिक टेलिभिजनका अध्यक्ष एजाज आलमले सञ्चार क्षेत्र मात्र नभइ आर्थिक संकटका कारण धेरै क्षेत्र

    प्रभावित भएको बताउनुभयो । उद्योग–व्यवसाय आफै थला परेकोले पनि मिडियामा विज्ञापनको अभाव रहेको उहाँले बताउनुभयो । मिडिया आवश्यताका आधारमा मर्ज गर्नुपर्ने उहाँको भनाइ छ । औद्योगिक क्षेत्रलाई मिडियाले पनि सहयोग गर्न आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।

    ग्लोबल सञ्चार गृहका प्रबन्ध सम्पादक गौतम भुसालले अब धेरै होइन, थोरै र राम्रो मिडिया हाउसहरु आवश्यकता रहेकोमा जोड दिनुभयो । उहाँले स्थानीय मिडिया संकटमा रहेको बताउनुभयो ।

    रेडियो मुक्तिको स्टेशन म्यानेजर कल्पना तिवारीले मिडियालाई सेवामूलक उद्योगको रुपमा अगाडि बढाउन लागि रहेकोमा जोड दिनुभयो । उद्योगी–व्यवसायी र स्थानीय सरकारले मिडियालाई सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

    लुम्बिनीखबरका सम्पादक/सञ्चालक कमल रायमाझीले मिडिया सञ्चालनमा चुनौती भए पनि चुनौतीलाई अवसरको रुपमा बदल्न आवश्यक रहेको बताउनुभयो । उहाँले मिडियाभित्र पनि केही समस्या रहेको बताउनुभयो । कार्यक्रमको सहजीकरण पत्रकार कपिल ज्ञवालीले गर्नुभएको थियो ।

    ‘चुनौतीको सामना गरेर अघि बढ्नुपर्ने आवश्यकता छ’

    कार्यसम्पादन गर्ने क्रममा आउने चुनौतीको सामना गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेकोमा जनप्रतिनिधिले जोड दिएका छन् । स्थानीय सरकार, के गर्दैछन्, के गर्नुपर्छ भन्ने विषयमा आयोजित छलफल कार्यक्रममा जनप्रतिनिधिले यस्तो बताएका हुन् ।

    कार्यक्रममा बुटवल उपमहानगरपालिकाको उपप्रमुख सावित्रा देवी अर्यालले उपमहानगरपालिकाले गरेका कतिपय काम नागरिकलाई चित्त नबुझ्न सक्ने बताउनुभयो । उहाँले सबै कुरा वार्ता र छलफलकै माध्यमबाट समाधान हुन सक्ने धारणा राख्नुभयो । ‘अफठ्यारो परे प्रमुख–उपप्रमुखसमक्ष आउनुस् भनेर बारम्बार भनिरहेकै छौं, यहाँहरु आइरहनुभएकै छ, ’उहाँले भन्नुभयो ।

    नगरपालिकाले गरेका असल अभ्यासबारे समाचार सम्प्रेषण गर्नुका साथै कमीकमजोरी पनि उजागर गर्न उहाँले मिडियालाई आग्रह गर्नुभयो । उहाँले उपमहानगरपालिकाको कार्यालयमा कसैले घुस मागेको प्रमाणसहित आए कारवाही गर्न तयार रहेको बताउनुभयो । ‘सबै जनालाई सन्तुष्ट बनाएर भगवानले पनि काम गर्न सक्दैनन्, ’उहाँले भन्नुभयो । आफूले जापान जाँदा एकजना नेपालीले ७–८ वटा होटलसम्म सञ्चालन गरेको देखेको उपप्रमुख अर्यालले बताउनुभयो । ‘विदेश गएका नेपालीले त्यहाँ प्रगति पनि गरेका छन्, ’उहाँले भन्नुभयो । उपप्रमुख अर्यालले बुटवलका सामूदायिक विद्यालयलाई राष्ट्रियस्तरमा अब्बल बनाउने प्रयास गरिएको बताउनुभयो ।

    hhhhhh.JPG

    त्यस्तै देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेलले काम गर्ने क्रममा धेरै कानूनी जटिलता रहेको बताउनुभयो । उहाँले नगरपालिकामा कर्मचारीको अभाव र स्थानीय स्रोत अत्यन्तै कम रहेको बताउनुभयो । ‘नगरमा कर प्रणालीलाई व्यवस्थित गरेका छौं, गर्नुपर्ने धेरै काम छन् । विकास निर्माण गर्दै जाने हो, ’नगरप्रमुख खरेलले भन्नुभयो ।

    उहाँले देवदहमा सबैभन्दा ठूलो समस्या फोहोरमैला व्यवस्थापनकै रहेको बताउनुभयो । ‘खुल्ला रुपमा हाम्रो एकल अधिकार प्रयोग गर्न पाएका छैनौं, ’उहाँले भन्नुभयो–‘अशिक्षा, गरीबीकाविरुद्ध लडिरहनुपरेको छ ।’ देवदहले धेरै नमूनायोग्य कामहरु गरेको र नगरपालिकामा आएर अनुगमन गर्न उहाँले आग्रह गर्नुभयो ।

    नेपाल पत्रकार महासंघ, रुपन्देहीका पूर्वअध्यक्ष डी.आर. घिमिरेले मिडियाले समस्याको उठान गरिरहनुपर्नेमा जोड दिनुभयो । उहाँले आलोचनाबाट डराउन नहुने बताउनुभयो । ‘आलोचनाले समाधान निकाल्छ, परिणाम दिन्छ, त्यसैले आलोचनाबाट डराउनुहुँदैन, ’उहाँले भन्नुभयो । स्थानीय सरकारको ध्यान कर उठाउनेतर्फ मात्र गयो कि भन्दै उहाँले प्रश्न गर्नुभयो । ‘स्थानीय सरकारले नागरिकलाई बाँध्ने होइन, सहजीकरण गर्ने हो, ’घिमिरेले भन्नुभयो ।

    कार्यक्रममा कुखुरापालक किसान विशाल थापाले मैले आर्जन गरेको शिक्षाले गुजारा चल्छ कि चल्दैन भनेर सोच्नुपर्ने बेला आएको बताउनुभयो । उद्योगी कृष्ण प्रसाद पाण्डेले स्थानीय सरकारले लगानी गरेको तालिमबाट कत्तिको प्रतिफल प्राप्त भयो भन्ने कुरामा ध्यान दिनुपर्ने बताउनुभयो ।

    फर्निचर व्यवसायी नेत्र रुचालले घुमन्ते र बिना दर्ता घरघरमा पुगेर काम गर्ने व्यक्तिहरुका कारण उद्योग दर्ता गरेर सञ्चालन गरेर उद्योग–व्यवसाय सञ्चालन गरेका उद्योगी–व्यवसायी पीडित रहेको बताउनुभयो ।  उद्योगी मणि खनालले तरकारी तथा फलफूमा अत्याधिक विषादी भेटिएकोले यसको नियन्त्रणमा स्थानीय सरकारको ध्यान जान आवश्यक रहेको बताउनुभयो ।

    बुटवल उद्योग वाणिज्य संघको सह–कोषाध्यक्ष धन कुमारी खनालले तालिमबाट कतिजना उद्यमी–व्यवसायी बन्नुभयो भन्नेबारे बहस जरुरी रहेको बताउनुभयो । व्यवसायी लक्ष्मी प्रसाद श्रेष्ठले बुटवलमा रात्रीकालीन बजार अगाडि बढाउनुपर्ने बताउनुभयो ।
    कार्यक्रमको सहजीकरण पत्रकार महासंघ, रुपन्देहीको उपाध्यक्ष अस्मिना पाण्डेले गर्नुभएको थियो । कार्यक्रम वैशाख २८ गतेसम्म सञ्चालन हुने नेपाल पत्रकार महासंघ, रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले बताउनुभयो ।

    उद्योगी–व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड

    सरकारले उद्योग–व्यवसाय फस्टाउने नीतिनियम बनाउनुपर्नेमा उद्योगी–व्यवसायीले जोड दिएका छन् । उनीहरुले उद्योग–व्यवसाय सञ्चालनमा थुप्रै अवरोध रहेको बताए । कसरी उभो लाग्छ उद्योग व्यवसाय सम्बन्धी छलफल कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।

    कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले उद्यम गर्नका लागि धेरै अवरोधहरु रहेको बताउनुभयो । ‘हामी निर्वाहमुखी उद्योग–व्यवसायमा केन्द्रीत भयौं कि ? यसतर्फ सोच्नुपर्नेछ । अध्यक्ष पराजुलीले स्वदेशी उद्योग दिगो सञ्चालनका लागि सरकारले नीति बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले स्वदेशी वस्तुको प्रयोगमा जोड दिन आग्रह गर्नुभयो । ‘अचार, डेरी प्रोडक्ट नेपालकै प्रयोग गर्न सकिन्छ, ’उहाँले भन्नुभयो ।

    ffffffffffffff.JPG

    बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले राष्ट्रिय उत्पादनले प्राथमिकता पाउन नसकेको बताउनुभयो । उहाँले काठ पनि तेस्रो मुलुकबाट आयात भइरहेको बताउनुभयो । नीतिगत क्षेत्रमा सुधार गर्नुपर्ने आवश्यकता रहेकोमा उहाँले जोड दिनुभयो ।

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्यले निजी क्षेत्रको कुरा राज्यले सुन्ने नचाहेको आरोप लगाउनुभयो । उहाँले कच्चा पदार्थमा भन्सार शुल्क घटाउनुपर्नेमा जोड दिनुभयो । बेलहिया नाकामा मात्र नभइ सबै नाकामा कडाइ हुनुपर्ने उहाँको भनाइ छ ।

    रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकालले उद्योग–व्यापारको सम्बन्ध नङ र मासुको जस्तो भएको बताउनुभयो । उहाँले सरकारको नीति व्यवसायमैत्री हुन नसकेको बताउनुभयो ।

    उद्योग व्यापार संघ, बुटवलका अध्यक्ष लोकनाथ पन्थीले राज्यका नीतिनियम ठीक हुनुपर्नेमा बताउनुभयो । उहाँले उद्योगी–व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभयो । ‘राज्यलाई मात्रै दोष लगाएर हुँदैन, गलत गर्ने व्यवसायीको समर्थन गरेका छैनौं, ’उहाँले भन्नुभयो । कार्यक्रमको सहजीकरण पत्रकार रेखा भुसालले गर्नुभएको थियो ।