शुक्रवार , कार्तिक २०, २०८३
हाम्रो समाजमा एउटा पुरानो र सर्वमान्य लोककथन छ–नाम अनुसारको काम । बाल्यकालदेखि नै हामीले सुन्दै आएको यो भनाइलाई धेरैले एउटा संयोग वा सामान्य लोकव्यवहारका रूपमा मात्र बुझ्ने गर्छन् । तर, आधुनिक चिकित्सा, समाजशास्त्र र मनोविज्ञानका आयामहरूले के पुष्टि गरिसकेका छन् भने, नाम केवल कुनै व्यक्तिलाई भीडमा चिन्नका लागि प्रयोग गरिने शब्द वा ध्वनी मात्र होइन । यो त मानव अस्तित्व र पहिचानको त्यो पाहिले विन्दु हो, जसले व्यक्तिको जीवनयात्रा, उसको सोचाइ, आत्मविश्वास र सामाजिक सम्बन्धको रूपरेखा कोरिरहेको हुन्छ । हामीले जन्मनेबित्तिकै पाउने यो प्राथमिक पहिचानले बाँकी जीवनको मानसिक स्वास्थ्य र सामाजिक स्वीकार्यतालाई कसरी डोर्याउँछ भन्ने पाटो भने निकै रोचक र मननयोग्य छ ।
मनोवैज्ञानिक अध्ययनका अनुसार एउटा शिशुले यो विशाल संसारका जटिलता र भाषालाई बुझ्नुभन्दा धैरे अगाडि सर्वप्रथम आफ्नै नामलाई चिन्न र त्यसमा प्रतिक्रिया दिन थाल्छ । जब परिवार र समाजले उसलाई एउटा निश्चित नामले बारम्बार पुकार्छ, तब उसको कमलो मस्तिष्कमा ‘म को हुँ’ र ‘मेरो अस्तित्व कहाँ छ’ भन्ने आत्म–अवधारणाको विकास हुन थाल्छ ।
नामले मानिसलाई संसारका अर्बौँ जनसंख्यामाझ एउटा विशिष्ट स्वत्वको बोध गराउँछ । मनोविज्ञानमा एउटा सिद्वान्त छ, जसलाई ‘नाम–अक्षरको प्रभाव’ भनिन्छ । यस अनुसार मानिस आफ्नो नाममा प्रयोग भएका अक्षर र ध्वनीहरूसँग अचेतन रूपमै बढी आकर्षित हुन्छन् । यो आकर्षण यति गहिरो र अदृश्य हुन्छ कि भविष्यमा व्यक्तिले छनोट गर्ने पेशा, बस्ने सहर वा जीवनसाथीको छनोटमा समेत यसले कहीं न कहीं भूमिका खेलिरहेको हुन्छ ।
नामको त्रि–आयामी महत्व : धार्मिक, दार्शनिक र व्यवहारिक पक्ष
नामको यो प्रभावलाई अझ गहिराइबाट बुझ्न हामीले यसका तीनवटा मुख्य पक्षहरूलाई नियाल्नुपर्ने हुन्छ :
धार्मिक र साँस्कृतिक पक्ष : विश्वका हरेक धर्म र संस्कृतिमा नामकरणलाई एउटा पवित्र संस्कारका रूपमा लिइन्छ । सनातन हिन्दु धर्ममा ‘नामकरण’ लाई सोह्र संस्कारमध्ये एक महत्वपूर्ण संस्कार मानिएको छ । धार्मिक मान्यताअनुसार नाम केवल अक्षरहरूको समूह होइन, यो त मन्त्र जस्तै शक्तिशाली हुन्छ । देवी–देवता वा आध्यात्मिक प्रतीकका नाममा बच्चाको नाम राख्दा, त्यो नाम जति पटक पुकारिन्छ, त्यति नै पटक सकारात्मक ऊर्जा र दैवीय आशीर्वाद प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ । ज्योतिषीय गणना, राशी र नक्षत्रका आधारमा निकालिने नामले व्यक्तिको आन्तरिक ग्रहदशालाई सन्तुलनमा राख्न र जीवनमा आउने विघ्नबाधाबाट सुरक्षा प्रदान गर्ने आध्यात्मिक विश्वास रहिआएको छ ।
दार्शनिक पक्ष : दार्शनिक दृष्टिकोणबाट हेर्दा, नामले ‘रूप’ र ’सार’ को सम्बन्धलाई व्याख्या गर्छ । दार्शनिक रूपमा नामले शून्यबाट एउटा आकार दिन्छ । नाम नहुनु भनेको पहिचानबिहीन हुनु हो । पूर्वीय दर्शनको ‘नाम–रूप’ को सिद्धान्तअनुसार यो भौतिक संसारमा कुनै पनि वस्तु वा व्यक्तिको अस्तित्व तब मात्र स्थापित हुन्छ, जब त्यसको एउटा नाम र निश्चित रूप हुन्छ । यसले व्यक्तिलाई ‘म को हुँ ?’ र समाजमा ‘मेरो स्थान के हो ?’ भन्ने अस्तित्ववादी प्रश्नको उत्तर खोज्न र आत्म–चेतनाको विकास गर्न मद्दत गर्छ ।
व्यवहारिक र सामाजिक पक्ष : दैनिक जीवन र सामाजिक व्यवहारमा नाम सबैभन्दा बढी प्रयोग हुने औजार हो । व्यवहारिक जीवनमा कुनै व्यक्तिसँग भेट हुनुअघि नै उसको नाम हामीकहाँ आइपुग्छ । एउटा सरल, स्पष्ट र अर्थपूर्ण नामले कार्यस्थल, विद्यालय वा समाजमा सकारात्मक पहिलो प्रभाव छाड्न मद्दत गर्छ । आधुनिक संसारमा व्यक्तिको कानूनी अस्तित्व, नागरिकता, सम्पत्तिको अधिकार र व्यवसायिक पहिचान सबै नाममै टिकेका हुन्छन् ।
हाम्रो सामाजिक संरचनामा कसैको नाम सुन्नेबित्तिकै हाम्रो मस्तिष्कले त्यो व्यक्ति कस्तो होला भनेर एउटा काल्पनिक चित्र वा धारणा बनाउन हतार गरिहाल्छ । यसलाई मानसपटलमा बन्ने अचेतन पूर्वाग्रह पनि भन्न सकिन्छ । उदाहरणका लागि, परम्परागत वा धार्मिक नाम सुन्दा समाजले अचेतन रूपमै त्यो व्यक्तिलाई बढी संस्कारी, भद्र र विश्वासिलो ठान्ने गर्छ भने आधुनिक वा नौलो नाम भएका व्यक्तिहरूलाई सिर्जनशील र खुला विचार भएको आधुनिक मानिसका रूपमा हेरिन् छ। यसको विपरीत, उच्चारण गर्न कठिन र जटिल नाम भएका व्यक्तिलाई मानिसको मस्तिष्कले सहजै स्वीकार गर्न सक्दैन र उनीहरू सामाजिक रूपमा केही टाढा हुन पुग्छन् । मानव मस्तिष्कले जुन कुरा सजिलै बुझ्न र उच्चारण गर्न सक्छ, त्यसलाई चाँडै विश्वास गर्छ भन्ने स्थापित मनोवैज्ञानिक सत्य यहाँ पनि लागू हुन्छ ।
आफ्नो नामप्रतिको दृष्टिकोणले व्यक्तिको आत्मविश्वास र आत्मसम्मानको स्तर निर्धारण गर्छ । यदि कुनै व्यक्तिलाई आफ्नो नाम अर्थपूर्ण, प्रिय र गौरविलो लाग्छ भने उसको आन्तरिक आत्मविश्वास सधै उच्च रहन्छ । विजय, विवेक, श्रद्धा वा करुणा जस्ता सकारात्मक ऊर्जा बोकेका नामहरूले व्यक्तिलाई भित्रैदेखि असल र सफल बन्ने प्रेरणा दिइरहेका हुन्छन् । जब समाजले व्यक्तिको नामको अर्थसँग उसको व्यवहारको तुलना गर्छ, तब व्यक्तिले पनि सोही अनुरूपको आदर्श चरित्र निर्माण गर्ने प्रयास गर्छ ।
यसको ठीक उल्टो, बाल्यकालमा विद्यालय वा समुदायमा नामकै कारण साथीभाइबाट जिस्काइने वा गिज्याइने बालबालिकामा सामाजिक चिन्ता र हीनताबोधको जोखिम उच्च रहन्छ । उनीहरू नयाँ मानिसका अगाडि आफ्नो नाम भन्नै लजाउँछन्, जसले गर्दा उनीहरूको प्राकृतिक नेतृत्व क्षमता र अभिव्यक्ति स्वतन्त्रता सानै उमेरमा दब्न पुग्छ ।
नेपाली संस्कृतिको कुरा गर्दा, नामकरण केवल एउटा सामाजिक वा धार्मिक औपचारिकता मात्र होइन, बरु यो शिशुको जन्मसँगै सुरु हुने एउटा गहिरो पारिवारिक र सांस्कृतिक प्रक्रिया हो । सनातन हिन्दु संस्कारदेखि विभिन्न आदिवासी, जनजाति र बौद्ध समुदायहरूमा नाम राख्ने आ–आफ्नै मौलिक परम्पराहरू छन् ।
हिन्दु समाजमा ज्योतिषीय विधिबाट नक्षत्र र राशीका अक्षरका आधारमा निकालिने राशिको नामले व्यक्तिमा एक प्रकारको आन्तरिक सुरक्षा र सकारात्मक भावना पैदा गर्छ । आफ्नो नाम शुभ साइतमा राखिएको हुनाले जीवनमा राम्रा कुराहरू मात्र हुनेछन् भन्ने आशावादी मनोविज्ञानको विकास हुन यसले मद्दत पुर्याउँछ । हाम्रा परिवारहरूमा औपचारिक प्रमाणपत्रका लागि एउटा र घरमा माया गरेर बोलाइने अर्को ‘पुकारू’ अर्थात् ‘बोलाइने’ नाम राख्ने चलन पनि छ । घरेलु नामले शिशुलाई सुरक्षा र अत्यधिक पारिवारिक मायाको महसुस गराउँछ भने औपचारिक नाम सुन्दा उसमा जिम्मेवार र वयस्क हुने मानसिकता विकास हुन्छ ।
नेपाली संस्कृतिमा नदी, हिमाल र देवीदेवताका नाममा नाम राख्ने जुन सुन्दर परम्परा छ, त्यसले बच्चामा सानैदेखि शान्त, ज्ञानी र परोपकारी बन्ने सकारात्मक मानसिक दबाब सिर्जना गर्छ । पहिले–पहिले नेपालमा बच्चा नजन्मने वा जन्मेर पनि बित्ने समस्या हुँदा, नयाँ जन्मिएको बच्चालाई खराब नजरबाट बचाउन जानाजानी नेपाली समाज र संस्कृतिमा कमसङ्गर, फोहोर, ओखती वा बिरामीसँग सम्बन्धित अनौठा र नराम्रा सुनिने नामहरू राख्ने एउटा विशेष अन्धविश्वास र सामाजिक चलन थियो ।
जसका सन्तानहरू जन्मिएर तत्कालै मर्थे, उनीहरूका आमाबाबुले यस्ता नाम राख्थे। कालले ‘यो त नराम्रो, फोहोर वा काम नलाग्ने चिज रहेछ’ भनी बालकलाई लैजाँदैन र बालक बाँच्छ भन्ने अन्धविश्वास थियो । राम्रो नाम राख्दा अरूको आँखा लाग्ने र बच्चा बिरामी पर्ने डर हुन्थ्यो । फोहोर वा तुच्छ नाम राख्दा कसैको रिस वा खराब नजर पर्दैन भन्ने मान्यता थियो । ‘ओखती’ वा यस्तै नाम राख्दा बच्चा सधैं निरोगी रहन्छ र उसलाई रोगव्याधिले छुँदैन भन्ने जनविश्वास थियो । यस्तो चलनको पछाडि अभिभावकको सन्तान गुमाउने डर लुकेको हुन्थ्यो ।
तर, आमाबुबाको डर शान्त पार्न राखिएका यस्ता नामले पछि ती बालबालिकाहरू ठूला भएर विद्यालय वा समाजमा जाँदा तीव्र मानसिक तनाव र हीनताबोधको सिकार बनाउँथे । अर्कोतर्फ, शेर्पा समुदायमा जन्मेको बारको आधारमा वा अन्य जनजातिमा ऋतु र प्रकृतिको आधारमा नाम राख्ने सरल परम्पराले समुदायमा समानता र सामूहिक पहिचानको बलियो मानसिक वातावरण निर्माण गर्छ ।
लामो समयसम्म जातीय र वर्गीय संरचनामा आधारित रहेको नेपाली समाजमा नाम र थरको विभेदले मानिसको मानसिक स्वास्थ्यमा पारेको असर झन् संवेदनशील छ । कथित तल्लो जात भनिएका समुदायका व्यक्तिहरूले नयाँ ठाउँ वा कार्यस्थलमा आफ्नो थर भन्नुपर्दा अस्वीकृत हुने वा हेपिने डर र हीनताबोधको सामना गर्नुपर्छ ।
विद्यालय वा कार्यस्थलमा नाम र थरकै भरमा कतिपय मानिसहरूले पूर्वाग्रही व्यवहार गर्छन्, जसले पीडित व्यक्तिमा दीर्घकालीन मानसिक तनाव पैदा गर्छ । यसैकारण अचेल आत्मसम्मानका लागि धैरेले आफ्नो जात झल्कने थर बदलेर एउटा साझा वा साहित्यिक थर राख्ने गरेका छन्, जसले उनीहरूलाई मानसिक मुक्ति र समानताको अनुभूति गराउँछ । यो केवल कानुनी प्रक्रिया मात्र नभएर एउटा ठूलो मानसिक रूपान्तरण पनि हो ।
वर्तमान समयमा विश्वव्यापीकरण, पश्चिमी संस्कृतिको प्रभाव र प्रविधिको विकासले आधुनिक नेपाली आमाबुबाको सोचाइमा ठूलो परिवर्तन ल्याएको छ । अहिले नयाँ शिशुको जन्म हुनुअघि नै इन्टरनेट र सामाजिक सञ्जालमा ‘युनिक’ नाम खोज्ने छुट्टै फेसन चलेको छ । आफ्ना छोराछोरीको नाम अरूको भन्दा फरक होस् भन्ने चाहना राख्नु स्वभाविक भए तापनि, यो होडबाजीमा कतिपय यस्ता गल्तीहरू भइरहेका छन् जसले बालबालिकाको मानसपटलमा दीर्घकालीन नकारात्मक असर पुर्याइरहेका छन् । नामलाई नौलो बनाउने नाममा अत्यधिक जटिल र उच्चारण गर्न कठिन नाम राख्दा विद्यालयमा शिक्षक र साथीहरूले बारम्बार गलत उच्चारण गरिदिन्छन्, जसले गर्दा बच्चाले अचेतन रूपमा आफूलाई समाजमा समाहित हुन नसकेको एक्लो महसुस गर्न थाल्छ ।
त्यस्तै केवल सुन्नमा आधुनिक लाग्ने तर कुनै वास्तविक वा सकारात्मक अर्थ नभएका अर्थहीन शब्दहरूलाई नाम बनाउने अर्को ठूलो गल्ती भइरहेको छ । अर्थहीन नामले व्यक्तिमा आफ्नो पहिचानप्रति गर्व गर्ने बलियो आधार हुँदैन । त्यसै गरी नेपाली अनुहार र परिवेशमा पश्चिमी नामको अन्धो अनुकरण गर्दा बच्चामा आफ्नो देश र संस्कृतिप्रति एक प्रकारको दूरी वा साँस्कृतिक अलगाव पैदा हुन सक्छ । आजकाल नाम राख्ने निर्णय पारिवारिक छलफलभन्दा बढी सामाजिक सञ्जालका ‘पोल’ र ‘लाइक–कमेन्ट’ मा हुन थालेको छ, जसले आमाबुबाको बाह्य अनुमोदन खोज्ने डिजिटल लत र प्रदर्शनको मानसिकतालाई देखाउँछ ।
समग्रमा, नाम केवल एउटा शब्द वा सम्बोधन गर्ने माध्यम मात्र होइन । यो मानव मनोविज्ञानको एउटा अत्यन्तै संवेदनशील र शक्तिशाली पाटो हो, जसले व्यक्तिको बाल्यकालदेखि वृद्ध अवस्थासम्मको मानसिक विकास, सामाजिक सम्बन्ध र आत्म–मूल्याङ्कनलाई अदृश्य रूपमा डोर्याइरहेको हुन्छ । त्यसैले, नयाँ शिशुको नामकरण गर्दा केवल क्षणिक फेसन वा अनौठोपनलाई मात्र ध्यान नदिइ त्यसको उच्चारणको सरलता, सकारात्मक अर्थ, साँस्कृतिक गरिमा र भविष्यमा पर्ने मनोवैज्ञानिक प्रभावलाई गम्भीरताका साथ विचार गर्नु आवश्यक छ । आज राखिने एउटा सकारात्मक, सरल र आदरयुक्त नामले नै भोलिको नागरिकलाई मानसिक रूपमा सुदृढ बनाउन र उच्च आत्मसम्मानका साथ गौरवमय जीवन बाँच्नका लागि एउटा बलियो जगको काम गर्नेछ ।
(लेखक काठमाडौं महानगरपालिकाको पूर्व निर्देशक हुनुहुन्छ ।)
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
