बिहिवार , कार्तिक १९, २०८३
भैरहवा, १९ कार्तिक । रुपन्देहीमा गोली हानी हत्या गरेको घटनामा संलग्न भइ फरार दुई प्रतिवादी कारागार चलान भएका छन् । रुपन्देही जिल्ला अदालतको कार्तिक १८ गतेको आदेशले रोहिणी गाउँपालिका–४ का ६८ वर्षीय प्रल्हाद कुर्मी र सोही स्थानका ६० वर्षीय महेन्द्र प्रसाद कुर्मी पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दका अनुसार २०६५ मंसिर ६ गते राती करिब १२ः३० बजे रुपन्देहीको साविक धकधई गा.वि.स–८, हाल रोहिणी गाउँपालिका–३, झुङ्गापरासीस्थित हुलाकी सडकखण्डमा गोली हानी एकजनाको हत्या गरिएको थियो ।
साविक छिपागढ गा.वि.स–६, हाल रोहिणी गाउँपालिका–४ बस्ने तत्कालीन ३२ वर्षीय चिनक राजभर भन्ने मुनिराम राजभरको पछाडिबाट गलबन्दीले हात बाँधी कन्चटमा गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ । उक्त हत्यामा संलग्न रहेको आरोपमा दुवैजनालाई १८ वर्षपछि पक्राउ गरिएको हो ।
अनुसन्धानपश्चात उनीहरूलाई रुपन्देही जिल्ला अदालतमा पेश गरिएको डीएसपी चन्दले जानकारी दिनुभयो । प्रहरीका अनुसार दुवै प्रतिवादीलाई गत असोज २१ गते पक्राउ गरिएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
