२०८३, भाद्र २७ गते

Sep 12 2026 | २०८३, भाद्र २७ गते

काठमाडौंका विस्थापित सुकुम्बासीका समस्या बुझ्दै पूर्वप्रधानमन्त्री डा. भट्टराई

बिहिवार , बैशाख १७, २०८३

  • 979
    Shares
  • 979
    Shares
  • काठमाडौं, १७ बैशाख । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं उपत्यकामा भत्काइएको सुकुम्बासी बस्तीका पीडितहरूसँग भेट गरी उनीहरूको पछिल्लो अवस्था र समस्याबारे जानकारी लिनुभएको छ । 

    भेटका क्रममा विस्थापित परिवारले राज्यका विभिन्न निकायबाट आफूहरूले भोग्नुपरेको सास्ती र प्रशासनिक उदासीनताबारे गुनासो पोखेका छन् । पीडितहरूले हालैको वर्षा र बाढीका कारण आफ्नो उठिबास भएको र बस्ने–खाने कुनै ठेगान नभएको बताएका छन् ।

    बाढीले घरभित्रका सामान निकाल्न समेत नपाएको र विद्युतका मिटरहरू डुबेर लाइन काटिएपछि थप अन्धकारमा बस्नुपरेको उनीहरूको भनाइ छ । यस्तो विषम परिस्थितिमा पनि सम्बन्धित निकायले समस्या समाधान गर्नुको साटो ‘कालोसूचीमा राख्ने’ वा ’सामान सिज गरिदिने’ जस्ता धम्कीपूर्ण कुरा गरेर मानसिक तनाव दिएको उनीहरूले उल्लेख गरे । 

    गोकर्णेश्वर नगरपालिका वडा नं. ८ का एक पीडितले आफ्नो दुःख व्यक्त गर्दै भने, ‘म दशरथ रंगशाला गएँ, त्यहाँ बन्द भनियो । प्रहरीलाई सम्पर्क गर्दा नगरपालिका जान भनियो र नगरपालिका पुग्दा पुनः गुहेश्वरी पठाइयो । यसरी एक निकायबाट अर्को निकायमा पठाइए पनि कतैबाट कुनै ठोस सहयोग प्राप्त हुन सकेन ।’

    भेटघाटका क्रममा डा. भट्टराईसहितको टोलीले पीडितहरूलाई सहानुभूति प्रकट गर्दै उनीहरूको समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएको छ । सो क्रममा विस्थापितहरूको उचित व्यवस्थापनका लागि नाम दर्ता गराउन र कानूनी प्रक्रियामार्फत अघि बढ्न सुझाव दिइएको थियो । 

    ‘हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ । कसैलाई पनि अन्याय हुन दिनुहुँदैन, भट्टराईले भन्नुभयो, ‘तपाईंहरूले आफ्नो विवरण र प्रमाणहरू पेश गर्नुस्, कानुनी तरिकाले समस्याको समाधान खोज्न हामी साथ दिनेछौँ ।’

    बस्ती भत्काइएपछि खुला आकाशमुनि बस्न बाध्य भएका ती परिवारले हाल खाद्यान्न र सुरक्षित आवासको तत्काल व्यवस्था गरिदिन सरकारसँग माग गरेका छन् ।