मंगलवार , चैत्र १७, २०८२
परासी, १७ चैत । निर्माणाधीन बुटवल–नारायणगढ सडक अन्तर्गत दाउन्ने खण्डमा सवारी आवागमन सहज बनाउँदै निर्माण कार्यको गति बढाउन पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) दीपकराज नेपालले सक्रियता देखाउनुभएको छ । उक्त क्षेत्रमा सडक विस्तारको काम जारी रहेकोले सामान्य वर्षामा पनि सडक अवरुद्ध हुने गरेको छ ।
पूर्व–पश्चिम राजमार्गको अत्यन्तै संवेदनशील मानिने दाउन्ने खण्डका दाउन्ने बजार, घिउखोला र विश्वकर्मा मन्दिर आसपासका क्षेत्रमा वर्षायामसँगै सडक हिलो र चिप्लो हुँदा सवारीसाधन उकालो चढ्न नसकी बीचमै रोकिने समस्या बढ्दो छ । त्यससँगै अव्यवस्थित ओभरटेक र लेन अनुशासनको अभावले बारम्बार सवारी जाम निम्त्याउँदै आएको छ। जसले गर्दा विशेष गरी ७ किलोमिटर क्षेत्रको सडकको हिलो, चिप्लो र खाल्डाखुल्डीका कारण दैनिक घण्टौँ जाम, सवारी दुर्घटना र सवारी विग्रने समस्याले विगत सात वर्षदेखि यात्रुहरुले सास्ती खेप्नुपरेको छ ।
नारायणगढ–बुटवल सडक योजना कार्यालय दाउन्ने पश्चिमका आयोजना प्रमुख, निर्माण कम्पनीका प्रतिनिधि, ट्राफिक प्रहरी र नेपाल प्रहरीका प्रतिनिधिसहित दाउन्ने क्षेत्रको अनुगमनमा पुग्नुभएका प्रजिअ नेपालले समस्या समाधानका लागि तत्कालै पहल थाल्न निर्देशन दिनुभयो। । उहाँले लेन अनुशासनलाई कडाइका साथ लागू गराउन, ओभरलोड सवारीसाधनको आवागमन नियन्त्रण गर्न र ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ट्राफिक प्रहरीलाई निर्देशन दिनुभयो ।
साथै वर्षायाममा अत्यधिक चिप्लिने स्थानहरूमा तत्काल ग्राभेल हालेर सवारी आवागमन सहज बनाउन र निर्माण कार्यमा भइरहेको ढिलाइ अन्त्य गर्न थप जनशक्ति परिचालन गरी कामलाई तीव्रता दिन आयोजना प्रमुख र निर्माण कम्पनीका प्रतिनिधिलाई निर्देशन दिइएको प्रजिअ नेपालले जानकारी दिनुभयो ।
दाउन्ने खण्डमा ओभरलोड मालबाहक सवारीका कारण आवागमनमा असहज भइरहेको भन्दै प्रजिअ नेपालले तिलकपुर धर्मकाँटामा समेत अनुगमन गरी ओभरलोड मालबाहक सवारीलाई जरिवानासहित कडाइका साथ नियन्त्रण गर्न निर्देशन दिनुभयो ।
दाउन्ने खण्ड दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि हालको सुस्त कार्यशैली र न्यून जनशक्तिका कारण लक्ष्यप्राप्तिमा चुनौती देखिएको छ । प्रजिअ नेपालको सक्रियताले निर्माण कार्यले गति लिने र यात्रुले भोग्दै आएको सास्ती अन्त्य हुने अपेक्षा गरिएको छ । दाउन्ने पश्चिम आयोजना प्रमुख पशुपति ज्ञवालीले वैशाख महिनाभित्र दाउन्ने खण्डको एकतर्फी निर्माण सम्पन्न हुने दावी गर्नुभयो ।
बुटवल–नारायणगढ सडक विस्तार र स्तरोन्नतिको काम साढे ३ वर्षमा अर्थात २०७९ सालको साउन महिनामा सक्ने गरी २०७५ माघ २४ गते सम्झौता भएको थियो । तर, तीनपटक म्याद थपिएको समयभित्र पनि काम नसकिएपछि चौथोपटक २०८३ साउन पहिलो हप्तासम्म म्याद थपिएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij