२०८३, बैशाख ३ गते

Apr 16 2026 | २०८३, बैशाख ३ गते

रूपन्देही सुपर लिग सुरु, बुद्ध क्रिकेट क्लबको विजयी सुरुवात

मंगलवार , चैत्र १७, २०८२

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • भैरहवा, १७ चैत । २४ औं संस्करणको रुपन्देही सुपर लिग–२०८२ सुरु भएको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा मंगलबारदेखि भैरहवामा प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनका खेलहरु सुरु भएका छन् । 

    २०५४ सालदेखि सुरु भएको एकदिवसीय उक्त सुपर लिगको उद्घाटन खेलमा बुद्ध क्रिकेट क्लब विजयी भएको छ । बुद्धले नेपथ्य ज्ञानोदय क्रिकेट क्लबलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो ।

    सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपथ्य ज्ञानोदयले निर्धारित ५० ओभरको खेलमा ३३ ओभर २ बलमा अलआउट हुँदै १ सय ११ रन मात्रै बनायो । उसका लागि प्रवेश सारुले ६१ र रन्जित खड्काले १२ रन बनाए । बलिङमा बुद्धका अनुज चौहानले ४, सुरज गुरुङ र नितेश पटेलले २–२ तथा प्रवेज अन्सारीले १ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको बुद्धले २३ ओभरमा ५ विकेट गुमाएर १ सय १२ रन बनाउँदै सहजै जीत निकाल्यो । उसको जितमा हरिकेश मुराउले अविजित २४, अनुज चौहान र अजय त्रिपाठीले समान २१–२१, प्रवेज अन्सारीले २० तथा मिथिलेश यादवले १४ रनको योगदान गरे । 

    बलिङमा नेपथ्य ज्ञानोदयका रन्जित खड्का र जय गोदारले २–२ तथा प्रवेश सारुले १ विकेट लिए । खेलमा अनुज चौहान प्लेयर अफ द म्याच भइ १ हजार २ सय रुपैयाँ प्राप्त गरेको खेल संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

    प्रतियोगिताको विजेता टीमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएका छन् । 

    त्यस्तै म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले समान पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसै गरी प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार २ सय रुपैयाँ पाउने पराजुलीले बताए । 

    प्रतियोगिताको विजेता पुरस्कार माउण्ट एभरेष्ट कत्था मिल, उपविजेता पुरस्कार विके ज्वेलर्स, भैरहवा, म्यान अफ द म्याचको पुरस्कार सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले प्रायोजन गरेका छन् ।

    त्यस्तै म्यान अफ द सिरिजको पुरस्कार होटल स्टार होलिडे, बेस्ट व्याटर र बलरको पुरस्कार युवा व्यवसायी रवि कुमार रौनियार, उदयीमान खेलाडीको पुरस्कार प्रतीक ट्रेड लिंक र म्याच अवधिभर बलको प्रायोजन व्यवसायी अमित कुमार गुप्ताले गरेका छन् । प्रतियोगितामा ‘ए’ र ‘बी’ डिभिजन गरी २० टीमको सहभागीता छ ।

    यसअघि प्रतियोगिताको उद्घाटन सत्रमा प्रतिनिधि सभा सदस्य पुनम कुमारी अग्रवाल, संघका कार्यबाहक अध्यक्ष धीरज क्षेत्री अधिकारी, संघका पूर्वअध्यक्ष प्रशान्त विक्रम मल्ल, संस्थापक अध्यक्ष प्रेम कुमार सेन्चुरी, खेल संयोजक प्रथम पराजुली लगायतले रुपन्देहीको क्रिकेट विकासमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिएका थिए ।