२०८२, चैत्र १७ गते

Mar 31 2026 | २०८२, चैत्र १७ गते

पत्रकार महासंघको स्थापना दिवसमा फुटसल

सोमवार , चैत्र १६, २०८२

  • 166
    Shares
  • 166
    Shares
  • बुटवल, १६ चैत । नेपाल पत्रकार महासंघको ७१ औं  स्थापना दिवसको अवसरमा रुपन्देही शाखाले फुटसल प्रतियोगिता आयोजना गरेको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा पत्रकार महासंघ रुपन्देहीले दोस्रो एफएनजे मिडिया कप तथा कर्पोरेट कप फुटसल प्रतियोगिता-२०८२ आयोजना गरेको हो ।

    कर्पोरेट कपको फाईनलमा एनआईईएफ र नेपाल ईन्जिनियर्स एशोसियसन प्रवेश गरेका छन् । सोमबार कर्पोरेट कपतर्फ भएको पहिलो सेमीफाईनलमा एनआईईएफले चार्टर एकाउन्टेन्ट एशोसियसनलाई ८–२ तथा दोस्रो सेमीफाईनलमा नेपाल ईन्जिनियर्स एशोसियसनले नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीलाई ७–० गोल अन्तरले पराजित गर्दै फाईनल भिडन्त पक्का गरेका हुन् ।

    एक समारोहकाबीच बुटवल उपमहानगरपालिकाको उपप्रमुख सावित्रा देवी अर्यालले रेफ्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको शुभारम्भ गर्नुभयो । सो अवसरमा बोल्दै उपप्रमुख अर्यालले खेलबाट भातृत्वको विकास हुने भएकोले महत्वपूर्ण प्रतियोगिता आयोजना भएको बताउनुभयो । उहाँले खेल मानव स्वास्थ्य र भातृत्व विकासमा सहयोग सिद्ध हुने बताउनुभयो । कार्यक्रममा महासंघका अध्यक्ष दिनेश पाण्डेले खेलमार्फत भातृत्व विकासको उद्देश्यसहित रुपन्देही जिल्लामा रहेको संघ-संस्थाहरुबीच प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । विगतबाट भएका राम्रा अभ्यासलाई निरन्तरता स्वरुप कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।

    प्रतियोगिता अन्तरगत कर्पोरेटतर्फ रुपन्देही जिल्लाका दुई दर्जन संघ-संस्थाहरुले भाग लिएका छन ।  मिडिया कपमा आधा दर्जन टिमहरुले प्रतिस्पर्धा गर्दैछन् । कर्पोरेट कपको विजेता टिमले नगद ३० हजार रुपैयाँ, शिल्ड, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद २० हजार रुपैयाँबाट पुरस्कृत गरिने खेल संयोजक सुमन श्रेष्ठले बताउनुभयो । त्यस्तै मिडिया कपको विजेता टिमले नगद २० हजार तथा उपविजेता टिमले नगद १० हजार रुपैयाँ, शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गर्ने उहाँले बताउनुभयो । प्रतियोगिता अन्तरगत मिडिया कपका खेलहरु मंगलबार बिहानबाट सुरु हुने महासंघका सचिव सिपि खनालले बताउनुभयो ।