२०८३, बैशाख ३ गते

Apr 16 2026 | २०८३, बैशाख ३ गते

मंगलबारदेखि २४ औं संस्करणको रूपन्देही सुपर लिग

सोमवार , चैत्र १६, २०८२

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • भैरहवा, १७ चैत । २४ औं संस्करणको रुपन्देही सुपर लिग–२०८२ मंगलबारदेखि हुने भएको छ । २०५४ सालदेखि सुरु भएको एकदिवसीय उक्त सुपर लिगको यो सिजन मंगलबारदेखि सुरु गर्न लागिएको आयोजक संस्था रुपन्देही क्रिकेट संघले सोमबार भैरहवामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

    प्रतियोगिता संयोजक प्रथम पराजुलीले चैत १७ देखि ३० गतेसम्म ‘बी’ डिभिजनका खेलहरु संचालन हुने बताउनुभयो । उहाका अनुसार प्रधानमन्त्री कपको समापन पछि ‘ए’ डिभिजनका खेलहरु हुनेछन् । कुल ३७ खेल हुने प्रतियोगितामा रुपन्देहीका २० वटा क्लब तथा एकेडेमीहरु सहभागी हुने उहाँले बताउनुभयो ।

    ‘बी’ डिभिजनका खेलपछि दुई टीम ‘ए’ डिभिजनमा बढुवा हुनेछन् । त्यसपछि ‘ए’ डिभिजनको टाइसिट प्रकाशन गर्ने संघले जनाएको छ ।

    प्रतियोगिताको विजेता टमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएका छन् । त्यस्तै म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले समान पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

    त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय रुपैयाँ पाउने पराजुलीले बताए । प्रतियोगिताको विजेता पुरस्कार माउण्ट एभरेष्ट कत्था मिल, उपविजेता पुरस्कार विके ज्वेलर्स, भैरहवा, म्यान अफ द म्याचको पुरस्कार सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले प्रायोजन गरेका छन् ।

    त्यस्तै म्यान अफ द सिरिजको पुरस्कार होटल स्टार होलिडे, बेस्ट व्याटर र बलरको पुरस्कार युवा व्यवसायी रवि कुमार रौनियार, उदयीमान खेलाडीको पुरस्कार प्रतीक ट्रेड लिंक र म्याच अवधिभर बल व्यवसायी अमित कुमार गुप्ताले प्रायोजन गरेको आयोजकले जनाएका छन् । 

    रुपन्देही क्रिकेट संघका पूर्वअध्यक्ष प्रशान्त विक्रम मल्लले सुपर लिग रुपन्देही क्रिकेटको मेरुदण्ड भएको जनाउनुभयो । उहााका अनुसार जिल्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा लिगले महत्वपूर्ण योगदान दिएको छ ।
    सिद्धार्थ क्रिकेट मैदानमा हुने प्रतियोगिता सम्पन्न गर्न करिब १५ लाख रुपैयाँ खर्च लाग्ने संघका कोषाध्यक्ष निरजप्रताप खाँणले जनाए ।

    प्रतियोगितामा ‘ए’ डिभिजनका वेष्टर्न क्रिकेट क्लब, न्यू होराजन क्रिकेट क्लब, लुम्बिनी खुकुरी क्लब, तिलोत्तमा क्रिकेट क्लब, जेआर क्रिकेट क्लब, तिरुपति क्रिकेट क्लब, एमसीसी क्रिकेट क्लब र बुटवल राइनोज सहभागी हुनेछन् ।
    यस्तै, ‘बी’ डिभिजनका बुद्ध क्रिकेट क्लब, नेपथ्य ज्ञानोदय, देवदह क्रिकेट युनिट, शंकरनगर क्रिकेट क्लब, लुम्बिनी शाक्यन क्लब, बुटवल–११ क्रिकेट क्लब, सैनामैना क्रिकेट क्लब, गोलपार्क क्रिकेट क्लब, साई ग्लोबल एकेडेमी, प्रोफेसनल मास्टर्स–११, बुटवल युथ क्लब र स्टार क्रिकेट एकेडेमी सहभागी हुने संघका कार्यबाहक अध्यक्ष धिरज क्षेत्री अधिकारीले जनाए ।