सोमवार , चैत्र १६, २०८२
काठमाडौं, १६ चैत । इस्लामाबादमा पाकिस्तान, साउदी अरब, टर्की र इजिप्टका विदेश मन्त्रीहरूले अमेरिका र इरानबीच शान्ति वार्ता आयोजना गर्ने पाकिस्तानको पहललाई पूर्ण समर्थन व्यक्त गरेका छन् ।
पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेश मन्त्री मोहम्मद इशाक डारले एक टेलिभिजन सन्देशमा सहभागीहरूले वार्ता र कुटनीति नै दिगो शान्ति प्राप्त गर्ने एक मात्र व्यावहारिक मार्ग भएकोमा सहमति जनाएका छन् ।
उनीहरूले मध्यपूर्वमा थप सैन्य तनाव रोक्न आवश्यक रहेकोमा जोड दिए । डारले भ्रमणमा आएका विदेश मन्त्रीहरूलाई अमेरिका र इरानबीच हुनसक्ने सम्भावित वार्ताको सम्भावनाबारे जानकारी गराएको बताए । उनले दुवै पक्षले सहजकर्ताको रूपमा पाकिस्तानको भुमिकामा विश्वास व्यक्त गरेको उल्लेख गरे ।
बैठकले सहभागी देशहरूबीच समन्वय बढाउन र गहिरो सहयोगका मार्गहरू खोज्न चारै देशका विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरू सम्मिलित एक समिति गठन गर्ने निर्णय पनि गरेको छ ।
इस्लामाबादमा भएको यो बैठक क्षेत्रीय परिस्थितिको विकास र तनाव कम गर्ने तथा जारी द्वन्द्व अन्त्य गर्ने प्रयासमा केन्द्रित थियो । डारकाअनुसार यो पहललाई सबै सहभागी देशहरूबाट बलियो समर्थन प्राप्त भएको छ । मन्त्रीहरूले जारी द्वन्द्वको मानवीय र आर्थिक प्रभावप्रति चिन्ता व्यक्त गर्दै शत्रुता जारी रहँदा विनाश र अस्थिरता मात्र निम्तिने बताए ।
भ्रमणमा आएका विदेश मन्त्रीहरूले सम्बन्धित पक्षहरूबीच संरचनागत वार्ताका लागि परिस्थिति सिर्जना गर्ने उद्देश्यले गरिएका प्रयासहरूलाई समर्थन गर्ने आफ्नो प्रतिवद्धता दोहो¥याए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij