२०८२, चैत्र १६ गते

Mar 30 2026 | २०८२, चैत्र १६ गते

बुटवल गोलपार्कले जित्यो प्रथम बटौली कपको उपाधि

सोमवार , चैत्र १६, २०८२

  • 259
    Shares
  • 259
    Shares
  • भैरहवा, १६ चैत । बुटवल गोलपार्क क्रिकेट क्लबले प्रथम बटौली कप–२०८२ टी–२० क्रिकेट प्रतियोगिताको उपाधि चुमेको छ । पृथ्वीनारायण शाह स्पोर्टस् प्रतिष्ठानको आयोजना, रुपन्देही क्रिकेट संघको व्यवस्थापन र बुटवल उपमहानगरपालिकाको सहयोगमा आयोजित प्रतियोगिताको आइतबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा सम्पन्न फाइनलमा लुम्बिनी खुकुरी क्लबलाई ३७ रनले हराउँदै गोलपार्कले उपाधि हात पारेको हो ।

    उपाधि विजेता बुटवल गोलपार्कले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेतामा चित्त बुझाएको लुम्बिनी खुकुरीले नगद २५ हजारसहित मेडल पायो ।

    टस जितेर ब्याटिङ गरेको बुटवल गोलपार्कले ६ विकेट गुमाएर १ सय ५४ रन बनायो । उसका लागि सुुजन गौतमले अविजित ४४, हरजीत सिंहले ४२, ईश्वर क्षेत्रीले २५, दीपेश रोक्काले १५, अनिश जोय गुरुङले १४ र कलम अलीले १० रन बनाए । बलिङमा लुम्बिनी खुकुरीका रोशन गौतमले २ तथा पिन्टु साहनी र बैतुल्लाह खानले १–१ विकेट लिए ।

    जवाफमा लुम्बिनी खुकुरीले १९ ओभर २ बलमा अलआउट हुँदै १ सय १७ रन मात्रै बनायो र उपाधि जित्नबाट चुक्यो । उसका लागि रोशन गौतमले ३६, जितेन्द्र केवटले १५, सुमनराज पाण्डेले १४, सुरज दरईले १३ र निश्चल चौधरीले १० रन बनाए । 

    बलिङमा बुटवल गोलपार्कका सन्दीप अर्याल र कलम अलीले ३–३ तथा सागर गैरे, हरजीत सिंह र सुप्रिम कंडेलले समान १–१ विकेट लिए । सुदीप अर्याल म्यान अफ द फाइनल भई एक हजार रुपैयाँ प्राप्त गरे ।

    बुटवल गोलपार्कका हरजीत सिंह म्यान अफ द सिरिज भइ १० हजार रुपैयाँ पाए । त्यस्तै बुद्ध क्रिकेट क्लबका अजित यादव वेष्ट ब्याटर र एमएसएमटी क्रिकेट क्लब नौतनवाका अंशु सिंह बेष्ट बलर भई समान ५–५ हजार रुपैयाँ प्राप्त गरे ।

    विजेता र उपविजेता खेलाडीलाई बुटवल नगर खेलकुुद विकास समितिका संयोजक वोनिन पिया, आयोजक संस्थाका अध्यक्ष निरज प्रताप खाण, नेपाल क्रिकेट संघ (क्यान) का पूर्व केन्द्रीय कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, रुपन्देही क्रिकेट संघका कार्यवाहक अध्यक्ष धिरज क्षेत्री, लुम्बिनी प्रदेश क्रिकेट संघका सदस्य प्रथम पराजुली, पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचन लगायतले पुरस्कार प्रदान गरे ।

    IMG20260329133540.jpg

    प्रतियोगितामा भारतका २ सहित १६ वटा टीमको सहभागीता थियो ।