
मंगलवार , भाद्र २, २०७७
भैरहवा, २ भदौ ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमण समुदायस्तरमा फैलिएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बुधबार सांझदेखि लागू हुने गरी एक साताका लागि पूर्ण लकडाउन घोषणा गरिएको छ । तिलोत्तमामा बुधबार सांझ ७ बजेपछि भदौ १० गते सांझ ७ बजेसम्मका लागि लकडाउन घोषणा गरिएको हो ।
सुरक्षा निकाय, राजनीतिक दल, व्यवसायिक संघ–संस्थाका प्रतिनिधिहरुको समेत उपस्थितिमा मंगलबार बसेको संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) को बैठकले पूर्ण लकडाउन गर्ने निर्णय गरेको हो ।
लकडाउनमा दुग्ध पसललाई भने बिहान ६ देखि ८ बजेसम्मका लागि छुट दिने, तर अन्य किरानासहित सबैखाले पसल व्यवसाय बन्द गरिनेछन् । त्यस्तै उद्योगधन्दा, कलकारखाना, निर्माण, बैंक, वित्तीय संस्था, सहकारी, सरकारी तथा गैरसरकारी संस्थाका कार्यालय, सवारीसाधन (साइकल समेत) पूर्णतः बन्द गर्ने सिसीएमसी बैठकले निर्णय गरेको छ ।
संकट व्यवस्थापन केन्द्रको निर्णयलाई नगर कार्यपालिकाको मंगलबारै बसेको बैठकले अनुमोदन समेत गरेको छ । बैठकले एक सातासम्म खाद्यान्नका पसल समेत बन्द रहने भएकाले भदौ १० गतेसम्मका बन्दोबस्त गर्न नगरवासीलाई आग्रह समेत गरेको छ । समुदायस्तरमा समेत संक्रमण देखिन थालेकाले एक साताका लागि लकडाउन गरिने र पीसीआर परीक्षणलाई समेत बढाइने नगर प्रमुख वासुदेव घिमिरेले बताए ।
तिलोत्तमा नगरपालिकामा हालसम्म ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३६ जना निको भइ घर गएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij