२०८२, चैत्र १४ गते

Mar 28 2026 | २०८२, चैत्र १४ गते

ओली र लेखक पक्राउबारे काँग्रेस: सरकारले विधिको शासनविपरित काम गर्‍यो

शनिवार , चैत्र १४, २०८२

  • 250
    Shares
  • 250
    Shares
  • काठमाडौं, १४ चैत । नेपाली काँग्रेसले जेन–जी आन्दोलनको छानविन गर्न गठित उच्चस्तरीय छानबिन आयोगको प्रतिवेदन अपारदर्शी र एकपक्षीय रहेको निष्कर्ष निकालेको छ ।

    शनिवार नवनिर्वाचित प्रतिनिधि तथा राष्ट्रिय सभाका सदस्यहरूका लागि आयोजित संसदीय सचेतना कार्यक्रममा पार्टीले यस्तो निष्कर्ष निकालेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो ।

    चालिसेले प्रतिवेदन कार्यान्वयनको नाममा सरकारले विधिको शासनविपरीत काम गरेको टिप्पणी पनि गर्नुभयो । उहाँले सञ्चारमाध्यमबाट सार्वजनिक भएका प्रतिवेदनका अंशहरूले भदौ २३ गतेको दमनलाई बढावा दिएको र भदौ २४ गतेको घटनालाई पूर्णतः नजरअन्दाज गरेको बताउनु भयो । उहाँले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेर सरकारले सेलेक्टिभ रूपमा प्रतिवेदन कार्यान्वयन गर्न खोजेको कांग्रेसको जिकिर गर्नुभयो । हतारमा पक्राउ गर्ने तर घटनाको गहिराइमा नपुग्ने कार्यले न्याय पाउने प्रक्रियालाई झन गिजोल्ने उहाँको निष्कर्ष छ ।

    जेन–जी आन्दोलनको जाँचबुझ प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयअनुसार प्रहरीले शनिवार बिहानै पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गरेको थियो ।