२०८२, चैत्र १३ गते

Mar 27 2026 | २०८२, चैत्र १३ गते

जाँचबुझ आयोगको प्रतिवेदन प्रथम दृष्टिमा नै अस्पष्ट : कांग्रेस

बिहिवार , चैत्र १२, २०८२

  • 247
    Shares
  • 247
    Shares
  • काठमाडौं, १२ चैत । नेपाली कांग्रेसले भ्रष्टाचारसम्बन्धी विभिन्न प्रकरणको छानबीनलाई पहिलो प्राथमिकता दिएर अघि बढाउन नयाँ सरकारलाई सुझाव दिएको छ ।  बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता देवराज चालिसेले मुलुकमा सुशासन कायम गर्नका लागि बिभिन्न भ्रष्टाचार प्रकरणको छानविनलाई पहिलो प्राथमिकता दिएर अघि बढाउन नयाँ सरकारलाई सुझाव दिनुभएको हो ।

    विभिन्न प्रकरणलाई राजनीतिक बहस, पार्टीसंग जोड्ने र जनमत प्रभावित पार्ने बिषय बनाउन नहुने उहाले बताउनुभयो । प्रवक्ता चालिसेले संसदमा कांग्रेसले प्रभावकारी भूमिका निर्वाह गर्ने जानकारी दिदै पार्टीको संशोधित विधानले सांसदहरुको प्रस्तुती र कार्यमूल्यांकन गर्ने विधि अपनाएकाले त्यसअनुसार अघि बढ्ने उल्लेख गर्नुभयो । त्यस्तै उहाँले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन प्रथम दृष्टिमा नै अस्पष्ट र अपूर्ण देखिएको धारणा राख्नुभयो ।

    कार्की आयोग र मानवअधिकार आयोगको प्रतिवेदन पार्टीले अध्ययन गरे पनि विस्तृत धारणा सार्वजनिक हुने उहाको भनाइ छ । प्रवक्ता चालिसेले पार्टी महाधिवेशनमा होमिसकेकाले कुनै पक्ष विपक्ष भन्दा पनि पार्टीलाई एकढिक्का बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । 

    उहाँले पार्टीभित्र केही मत–मतान्तर भए पनि आन्तरिक लोकतन्त्र नै पार्टीको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्नुभयो ।