बिहिवार , चैत्र १२, २०८२
काठमाडौं, १२ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन निन्दनीय र खेदजनक रहेकाले स्वीकार्य नभएको बताउनुभएको छ ।
बिहीबार एमाले पार्टी कार्यालय च्यासलमा पार्टीका प्रतिनिधि सभा तथा राष्ट्रिय सभा सदस्यहरुसँगको छलफल कार्यक्रममा अध्यक्ष ओलीले आयोगको प्रतिवेदन पूर्वाग्रह ढंगले आएको भन्दै स्वीकार्य नभएको स्पष्ट पार्नुभएको हो ।
उहाँले आयोगको प्रतिवेदन चरम लापरवाही, चरित्रहत्या र घृणाको राजनीति गर्ने खालको रहेको उल्लेख गर्नुभयो । घटनामा उपस्थिति नै नरहेको तत्कालिन प्रधानमन्त्री अर्थात आफूविरुद्ध फौजदारी अभियोगअन्तर्गत छानबीन गर्न र मुद्दा चलाउन सिफारिस गर्नु उचित नभएको उहाँको भनाइ छ ।
त्यस्तै अध्यक्ष अोलीले निर्वाचन परिणामबारे धेरै टिप्पणी गर्ने बेला नभए पनि निर्वाचन परिणाम अनपेक्षित, अस्वभाविक, अपत्यारिलो र जादुमय रहेको टिप्पणी गर्नुभयो । उहाँले एमालेप्रति कुप्रचारका साथै गम्भीर प्रहार भए पनि त्यसको डटेर सामान गर्न नसकिएको उल्लेख गर्नुभयो । अहिले देश विषम परिस्थीतिमा रहेकाले जिम्मेवार भएर प्रभावकारी भूमिका निर्वाह गर्न सांसदहरुलाई निर्देशन समेत दिनुभयो ।
उहाले आधुनिक बिचार बोक्ने परिवर्तनकारी र अनुशासित पार्टी एमालेबाहेक अरु नरहेकाले अनुशासन पालना गर्न समेत निर्देशन दिनुभयो । उहाँले संसदीय दलमा काम र जिम्मेवारीको आधारमा मूल्यांकन गरि जिम्मेवारी दिने भन्दै पदको माग गरेर नआउन समेत सुझाव दिनुभयो ।
अध्यक्ष ओलीले पार्टीभित्र समस्या खडा गर्नुभन्दा एकताबद्ध र एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij