बिहिवार , चैत्र १२, २०८२
काठमाडौं, १२ चैत । नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी एकीकृत रूपमा अगाडि बढ्न आगामी नियमित महाधिवेशनका लागि ‘साझा आयोजक समिति’ बनाउनुपर्ने प्रश्ताव अघि सार्नुभएको छ ।
पार्टी अहिले इतिहासकै जटिल र चुनौतीपूर्ण मोडमा रहेको उल्लेख गर्दै उहाँले सबै पक्षलाई समेटेर साझा स्वामित्व सुनिश्चित नगरेसम्म काँग्रेस बलियो हुन नसक्ने बताउनुभएको हो । संसदमा काँग्रेसको उपस्थिति जम्मा ३८ सिटमा खुम्चिएको अवस्थालाई ‘अत्यन्त न्युनतम संख्या’ भन्दै डा. महतले यसलाई मध्यनजर गर्दै समग्र पार्टी पंक्ति एकीकृत हुनुपर्नेमा जोड दिनुभयो ।
डा. महतले विगतमा भएको विशेष महाधिवेशन सबैको सहभागितामा नभएको र त्यसले पार्टीलाई अपेक्षित शक्ति दिन नसकेको टिप्पणी गर्नुभयो । आम निर्वाचनअघि नयाँ नेतृत्व नभई जान सकिन्न भन्ने तर्कका साथ विशेष महाधिवेशन गरिएको भएपनि त्यसको परिणाम सशक्त आउन नसकेको उहाँको ठम्याइ छ ।
अहिलेको विवाद समाधानका लागि विगतका गल्ती कोट्याएर ‘पोइन्ट स्कोर’ गर्नुभन्दा साझा बिन्दु पहिल्याउनुपर्ने महतको सुझाव छ । उहाँले आगामी नियमित महाधिवेशन सम्पन्न गर्न विशेष महाधिवेशनमा जोडिएका र नजोडिएका सबै पक्षलाई समेटेर एउटा ‘आयोजक समिति’ बनाउनुपर्ने प्रश्ताव गर्नुभयो ।
आगामी २२ गते अदालतबाट आउने निर्णयले कानूनी पाटो सम्बोधन गर्ने भएपनि पार्टीलाई जोड्न राजनीतिक संवाद नै अनिवार्य रहेको महतको भनाइ छ । उहाँले आफ्नो तर्फबाट सहमतिको वातावरण बनाउन आवश्यक योगदान दिन तयार रहेको समेत स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘अपेक्षा के थियो भने यसरी नयाँ नेतृत्वबाट निर्वाचनमा जाँदा परिणाम सशक्त परिणाम आउँछ भन्ने थियो । त्यो त रहेन र परिणाम त स्पष्टै छ । त्यसैले मूलभूत रुपमा अहिले पनि हाम्रो के भनाइ छ भने पार्टी जबसम्म हामी एकीकृत मानसिक, भौतिक सबै रुपमा हामी एकीकृत हुँदैनौँ, यो पार्टी चाहिँ बलियो हुन सक्दैन ।
अहिलेको जुन विशिष्ट चुनौतीपूर्ण अवस्थामा त झन् त्यो चाहिँ सम्भव हुँदैन । त्यसकारण अहिले जुन एउटा निराशाको अवस्था पार्टी पंक्तिमा छ, त्यसलाई आशामा रुपान्तरित गर्न जरुरी छ । त्यसको लागि फेरि हामी एकजुट भएर जान जरुरी छ । एकजुट भएर जानको लागि अब के गर्ने तरु यो पहिलाका कुरामा हामी बहसमा पोइन्ट स्कोर गर्ने होइन, यो–यो कारणले हामी ठीक थियौँ ।
हैन यो(यो कारणले अर्को ठिक थियो भन्ने बहसमा परिराख्ने कि हामीले अब एउटा चाहिँ साझा बिन्दु पहिल्याउने र अगाडिको दिनमा पार्टीलाई एकीकृत बनाएर यो चुनौतीबाट माथि उठ्ने भन्ने नै अहिलेको प्रश्न हो । र त्यतातिर नै सम्पूर्ण देशभरि छरिएर बस्नुभएका पार्टीका शुभचिन्तक, समर्थक, नेता, कार्यकर्ता सबै यसमा केन्द्रित हुन जरुरी छ भन्ने मलाई लाग्छ । त्यस अर्थमा अहिले के छ भनेदेखि यो अदालतले पनि २२ गते जुन निर्णय भनेको छ, निर्णय चाहिँ तत्कालै निर्णय गर्दियोस् ।
तर त्यो निर्णयले पनि मलाई लाग्छ त्यो एउटा कानूनी पाटोको सम्बोधन गर्छ । त्यसलाई एउटा दिशा निर्देश त गर्छ। तैपनि यो पार्टीलाई चाहिँ एकीकृत गरेर जोड्नको लागि फेरि हामीले एउटा संवाद गर्न जरुरी छ र साझा बिन्दु पहिल्याउन जरुरी छ । त्यो साझा बिन्दु भनेको अब जुन नियमित महाधिवेशन त गर्नु नै छ फेरि ।
यो नियमित महाधिवेशन फेरि यो आम निर्वाचनको कन्टेक्स्ट पनि भइसकेको अवस्थामा अब नियमित महाधिवेशन गर्नको लागि सबै पार्टीको विशेष महाधिवेशनमा जोडिएका र विशेष महाधिवेशनमा नजोडिएको ठूलो पार्टी पंक्ति, शेरबहादुर देउवा लगायत पार्टी पंक्तिले एउटा साझा विन्दु खोजेर हामीहरुले साझा बिन्दु खोजेर त्यो नियमित महाधिवेशन सम्पन्न गर्नको लागि एउटा आयोजक समिति जस्तो बनाएर, एउटा कमन ओनरशिप सुनिश्चित गरेर अगाडि बढ्यो भने त्यो नियमित महाधिवेशनबाट आएको नेतृत्वलाई पनि एउटा सर्वस्वीकार्य नेतृत्वलाई मानेर अगाडि बढ्ने परिस्थिति निर्माण हुन्छ ।
त्यसकारण अहिले के छ भने अब आफ्नो–आफ्नो हिसाबले अधिवेशन घोषणा गरेर जाने कुराले पनि यसलाई समाधान दिँदैन । त्यसकारण २२ गतेको यो निर्णय पर्खौं । त्यसपछि पनि अब यो निर्णय आएको छ, यसको बाबजुद हामी एक हुन जरुरी छ । एक हुनको लागि यसरी जान जरुरी छ र नियमित महाधिवेशनमा साझा सहकार्य र हिस्सेदारीका साथ र त्यो महाधिवेशन गर्ने निकायलाई सबैले विश्वास गर्ने वातावरण हुन जरुरी छ भनेर गयो भने मलाई लाग्छ यसले एउटा पार्टीलाई दिशा निर्देश गर्छ र पार्टी पंक्तिलाई एकीकृत गर्छ भन्ने मलाई लाग्छ । र त्यसमा एउटा सहमतिको वातावरण बनोस् र एउटा साझा सूत्रमा हामी जोडिन सकौँ भन्नको लागि मेरो तर्फबाट हुनसक्ने योगदान म गर्न तयार छु। तर त्यसमा सम्बन्धित सबै पक्ष साथीहरुले त्यही किसिमबाट सोच राख्न जरुरी छ।
अहिले एकअर्कालाई गालीगलौज गर्ने, यो पक्ष यस्तो उस्तो भन्ने अहिले पनि म सामाजिक सञ्जाल मिडियामा देख्छु । यो रोगबाट नेपाली कांग्रेसका साथीहरु मुक्त हुन जरुरी छ । त्यसले परिणाम दिँदैन र पार्टीको हित गर्दैन र यो चुनौतीलाई हामीले संयुक्त रुपमा साझा रुपमा सामना गर्न सक्दैनौँ भन्ने पनि मेरो ठम्याइ छ । त्यसकारण साझा बिन्दु पहिल्याउन जरुरी छ र एकीकृत भएर पार्टी अगाडि बढ्न जरुरी छ ।’
नेता महतले सामाजिक सञ्जाल र मिडियामा एकअर्कालाई गालीगलौज गर्ने प्रवृत्तिबाट मुक्त हुन पार्टी कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij