बुधवार , चैत्र ११, २०८२
काठमाडौं, ११ चैत । निर्वाचन आयोगले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई नेपालको इतिहासमै सबैभन्दा शान्तिपूर्ण र विवादरहित निर्वाचनका रूपमा मूल्याङ्कन गरेको छ ।
बुधवार आयोगद्वारा आयोजित जलपान समारोहमा बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यस्तो मूल्याङ्कन गर्नुभएको हो । उहाँले कुनैपनि मतदान केन्द्रमा झैझगडा वा विवादका कारण पुनः मतदान गर्नुपर्ने अवस्था नआएको भन्दै नेपालको इतिहासकै सफल निर्वाचनको रुपमा व्याख्या गर्नुभयो ।
उहाँले निर्वाचन अवधीभर राजनीतिक दल, उम्मेदवार र मतदाताले देखाएको अभुतपूर्व संयमको प्रशंसा गर्नुभयो । उहाँले विशेषगरी जेन–जी आन्दोलन भएको ६ महिनाभित्रै निर्वाचन सम्पन्न हुनुलाई विश्व समुदायले सकारात्मक रूपमा लिएको उल्लेख गर्नुभयो । अन्तरराष्ट्रिय पर्यवेक्षकहरूले समेत यस निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित भन्दै उच्च मूल्यांकन गरेको प्रतिवेदन प्राप्त भएको उहाँले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘राजनीतिक दल, उम्मेदवार र मतदाताबाट अभुतपूर्व संयम र सद्भाव प्रदर्शन भई ऐतिहासिकरुपमा शान्तीपूर्ण रुपले निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा कुनैपनि मतदान केन्द्रमा झैझगडा वा अन्य कुनै विवादका कारण अप्रिय घटना भएनन् । र कुनैपनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपरेन ।
अन्तरराष्ट्रिय पर्यवेक्षण संस्थाहरुबाट पनि यो निर्वाचन शान्तीपूर्ण ढंगले सम्पन्न भएको ऐतिहासिक निर्वाचन भनि प्रशंसासहित मूल्याङ्कन गरिएका प्रतिवेदन प्राप्त भएका छन् । विगतका निर्वाचनमा आचारसंहिता उल्लङघन, उम्मेदवारको योग्यता, निर्वाचन सुरक्षा तथा कर्मचारीको आचारसंहिताका कारण देखाई विवाद देखिने गरेकोमा यस निर्वाचनमा त्यस्ता कुनैपनि विवाद भएनन् ।
विभिन्न देशबाट आएका निर्वाचन प्रमुख अधिकारीहरु तथा पर्यवेक्षकहरुले समेत निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको भनी प्रशंसा गरेका छन् । विश्व समूदायबाट नेपालको यो निर्वाचन सुक्ष्म ढंगले अवलोकन भई जेनजी आन्दोलनको ६ महिनाभित्रै निर्वाचन सम्पन्न हुनुलाई अत्यन्तै सकारात्मक रुपमा लिएको छ ।’
उहाँले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सहयोग गर्ने सबैमा धन्यावाद समेत ज्ञापन गर्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij