मंगलवार , चैत्र १०, २०८२
बुटवल, १० चैत । नेपाल पत्रकार महासंघ रुपन्देहीले ७१ औं स्थापना दिवसका अवसरमा मिडिया कप र कर्पोरेट कप फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
यही चैत १६ र १७ गते दोस्रो मिडिया कप फुटसल प्रतियोगिता र दोस्रो कर्पोरेट कप फुटसल प्रतियोगिताको आयोजना गर्न लागिएको महासंघ रुपन्देहीका सह–सचिव तथा कार्यक्रम संयोजक सुमन रश्मि श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार बुटवल उपमहानगरपालिका–८ सुख्खानगर नमूनापथ स्थित एडरिक फुटसल कोर्टमा आयोजना हुने फुटसल प्रतियोगिताअन्तरगत मिडिया कप फुटसल प्रतियोगिताको पुरस्कार राशी प्रथम हुनेलाई रु. २० हजार र दोश्रो हुनेलाई १५ हजार, मेडल, कप र प्रमाणपत्र प्रदान गरिनेछ ।
त्यस्तै कर्पोरेट कप फुटसल प्रतियोगिताको विजेताले रु. ३० हजार र दोस्रो हुनेले २० हजार तथा मेडल, कप र प्रमाणपत्र प्राप्त गर्ने उहाँले बताउनुभयो । विधागत पुरस्कारतर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र कर्पोरेट कपमा अनुशासित टीमलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।
फुटसल प्रतियोगिता आयोजना गर्नका लागि महासंघले सह–सचिव सुमन रश्मि श्रेष्ठको संयोजकत्वमा सदस्य दिनेश कुमार श्रेष्ठ र सदस्य अनिता चौधरी सदस्य रहेको समिति बनाएको छ । त्यस्तै खेलमा निर्णायक तथा सहजीकरणका लागि खेलकुद पत्रकार मञ्चका अध्यक्ष सुमन अधिकारी, यमलाल भुसाल र स्वस्तिक श्रेष्ठ रहेको कार्यदल निर्माण गरिएको सचिव सीपी खनालले जानकारी दिनुभयो ।
गत वर्ष आयोजना गरिएको फुटसल प्रतियोगिताबाट बचत भएको रकमबाट उत्कृष्ट खेलकुद पत्रकारिता पुरस्कार स्थापना गरिएको र पहिलो पुरस्कार फुटसल प्रतियोगिताको समापनको अवसरमा प्रदान गरिने सचिव खनालले बताउनुभयो ।
त्यस्तै सुत्केरी पोषण तथा बालबचत खाताका लागि कोष स्थापना गरी हालसम्म ५ जनालाई सुत्केरी भत्तावापत् जनही रु. ५ हजार तथा बालबचतवापत् जनही रु. ५ हजार प्रदान गरिसकिएको महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले बताउनुभयो । उहाँले यसपटक पनि फुटसल आयोजनाबाट बचत भएको रकम खेलकुद पत्रकारिता पुरस्कार कोष र सुत्केरी कोषमा जम्मा गरिने बताउनुभयो ।
यसअघि गत वर्ष भएको पहिलो संस्करणमा कर्पोरेट कपको उपाधि इन्जिनियर्स एशोशिएशन लुम्बिनीले जितेको थियो भने मिडिया कपको उपाधि ग्लोबल आवाजले जितेको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij