२०८२, चैत्र १० गते

Mar 24 2026 | २०८२, चैत्र १० गते

सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौं : सभापति थापा

मंगलवार , चैत्र १०, २०८२

  • 235
    Shares
  • 235
    Shares
  • काठमाडौं, १० चैत । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा सुशासन कायम गर्न तथा शासकीय सुधारका सन्दर्भमा अब बन्ने सरकारसँग सहकार्य गर्न पार्टी तयार रहेको बताउनुभएको छ । 

    पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी केन्द्रिय कार्यसमिति बैठकमा सभापति थापाले यस्तो बताउनुभएको हो । उहाँले २०४५ सालयता सार्वजनिक पदमा बसेका सबै व्यक्तिको सम्पती छानविन गरी अवैध सम्पती जफत गर्नुपर्ने आफूहरुको मुख्य माग रहने पनि बताउनु भयो ।

    उहाँले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि उच्चस्तरीय छानबिनको लागि अब गठन हुने रास्वपा सरकारसँग प्रश्ताव गर्ने पनि बताउनु भयो । उहाँले नयाँ सरकारसँग सुशासनका सन्दर्भमा ठूलो नगरिक अपेक्षा रहेको उल्लेख गर्दै भ्रष्टाचारका फाइलहरू खोल्ने काम राजनीतिक खपतका लागि मात्र हुन नहुने बताउनु भयो ।

    विगत ३५ वर्षको अवधिमा शासकीय शक्तिको दुरुपयोग भएका घटनाहरू सार्वजनिक भइरहेको भन्दै उहाँले कुनै पनि काण्ड वा भ्रष्टाचारका विषयमा कानूनसम्मत ढंगले अनुसन्धान हुनुपर्नेमा जोड दिनुभयो ।

    उहाँले भन्नुभयो, ‘२०८२ सालबाट २०८७ सालसम्मको एउटा अध्याय शुरु भयो । यो विशेष परिस्थितिमा भएको सरकार हो । अब बन्ने सरकारसँग सुशासनको सन्दर्भमा धेरै अपेक्षाहरु छन् । हामी प्रतिपक्षको तर्फबाट गर्नुपर्ने भुमिका निर्वाह गर्छौँ । तर हामीले यसको लागि २०८२ साल अघिका कुराहरु पनि टुंग्याउनुपर्छ ।

    २०४५ सालयता सार्वजनिक पदमा बसेका सबैको सम्पती छानविन गर्नुपर्छ । यदि अवैध छ भने त्यो जफत गर्नुपर्छ । हामीले निर्वाचनमा जाँदा यो विषय उठाएका थियौँ । रास्वपाले पनि भनेको थियो । अब हाम्रो माग यो रहन्छ । हामीले यो ३५ सालको अवधिमा शासकीय शक्तिको दुरुपयोग भएको पनि सुन्यौँ । यो सार्वजनिक खपतको विषय बनाइनुहुन्न ।

    नेपाली काँग्रेसले अब कुनैपनि काण्ड वा भ्रष्टाचारका विषयका सन्दर्भमा कानूनसम्मत हिसाबले छानविन हुनुपर्छ । यो सार्वजनिक खपतको विषय हुनुहुन्न । भ्रष्टाचारको छानविन र शासकीय शक्तिको दुरुपयोगको अनुसन्धानको सन्दर्भमा काँग्रेसको पूर्ण साथ रहन्छ ।’

    उहाँले अबको पाँच वर्ष प्रतिपक्षको तर्फबाट कांग्रेसले जिम्मेवार भुमिका निर्वाह गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।