२०८२, चैत्र ४ गते

Mar 18 2026 | २०८२, चैत्र ४ गते

जनआकांक्षा र सुशासनको क्षेत्रमा केन्द्रित भएर काम गर्छौं : रास्वपा सांसदहरु

बुधवार , चैत्र ४, २०८२

  • 196
    Shares
  • 196
    Shares
  • काठमाडौं, ४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसदहरुले जन अपेक्षा र सुशासनको क्षेत्रमा केन्द्रित भएर आफूहरुले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । 

    बुधवार पार्टीका सांसदहरुको अभिमुखिकरण तथा परिचयात्मक कार्यक्रममा सहभागी भएका उनीहरुले जनताको आकांक्षालाई सम्बोधन गर्ने र भ्रष्टाचारमुक्त मुलुक बनाउने कुरालाई आफूहरुले प्राथमिकताका साथ अघि बढाउने योजना अघि सारेका हुन् ।

    सांसद हरि ढकालले सुशासनका लागि मुहान नै सफा गरेर अघि बढने संकल्प आफूहरुले लिएको बताउनु भयो । उहाँले जनताको अपेक्षा पूरा गर्न पनि आफूहरुले धेरै काम गर्नुपर्ने अवस्था रहेको बताउनु भयो ।

    सांसद ढकालले भन्नुभयो,‘सबै भन्दा मुख्य कुरा मुहान हो । मुहान सफा भए पछाडि नै तल सङ्लिने हो । सुशासनको मुख्य एजेण्डामा काम गर्नुछ । त्यसका लागि काम गर्न स्पष्ट जनमत पुगेको छ । जनअपेक्षा र सुशासनका लागि मुख्यतया मुहान देखिकै काम हुन्छ । मुहानदेखि नै काम भएपछि तल सङलो भईहाल्छ ।’

    यौनिक तथा अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्दै सांसद हुनुभएका भुमिका श्रेष्ठले पछाडि पारिएका सबै समुदायको हित प्रवद्र्धनमा आफूले काम गर्ने बताउनु भयो । उहाँले अल्पसंख्यक समुदायको आवाजलाई आफूले संसदबाट मुखरित गर्ने योजना पनि सार्वजनिक गर्नुभयो । 

    सांसद श्रेष्ठले भन्नुभयो,‘नेपालमा जहिले पनि लंैगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई उपेक्षा गरिएको छ । यो पछाडि पारिएको वर्ग हो । अहिले जुन तरिकाले राष्ट्रिय स्वतन्त्र पार्टीले समावेशिता र समताको एउटा मूल धारलाई अगाडि ल्याउन कोशिस गरेको छ ।

    त्यसको एउटा ज्वलन्त उदाहरण म बन्न गएको छु । पार्टी पदाधिकारीहरुलाई धन्यवाद दिन चाहन्छु । संसदमा मेरो एजेण्डा भनेको म जस्तो लैगिक तथा यौनिक अल्पसंख्यक समुदायको आवाज, नागरिकका  स्वास्थ्य, शिक्षा, रोजगारी, सामाजिक न्यायको विषयमा भएको विभेदहरुको न्युनिकरण गर्न, अन्त्य गर्न मेरो मुख्य एजेण्डा हुनेछ ।’

    आफूहरुको ५ वर्षे कार्यकाल मुलुकमा विद्यमान भ्रष्टाचार नियन्त्रणका लागि केन्द्रित हुने सांसद आशिका तामाङको भनाई छ । उहाँले भ्रष्टाचारको अन्त्य मात्रै भए मुलुकले ठूलो फडको मार्ने जिकिर समेत गर्नुभयो । 

    सांसद तामाङले भन्नुभयो, ‘अब आउने दिनमा भ्रष्टाचार अन्त्य गरेर सुशासन स्थापना गर्ने भनेर हामी आएका हौँ । यो नभई यो ५ वर्षको कार्यकालमा हामीले भ्रष्टाचार मात्रै अन्त्य गर्न सक्यौँ भने देशले छल्याङ मार्छ ।’ 

    सांसद सागर ढकालले पार्टीले निर्वाचनको बेला सार्वजनिक गरेको वाचा पत्र कार्यान्वयनमा आफूले जोड दिनु बताउनु भयो । उहाँले जनताका सानासाना आकांक्षालाई पूरा गर्ने कुरालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने पनि बताउनु भयो । 

    सांसद ढकालले भन्नुभयो,‘हाम्रो पहिलो रणनीति सानासाना कुराहरुलाई, सानासाना जनताका आकांक्षाहरु छन् । तिनलाई पूरा गर्दै हामी ठूलो भिजिनरी रुपमा देशलाई अगाडि बढाउनु पर्छ भन्ने कुरामा हामी सचेत छौँ ।

    देशलाई अघि बढाउने विषयमा स्पष्ट रुपमा हाम्रा बाचा पत्रहरुमा उल्लेख गरिएका छन् । यो बाचा पत्रलाई हामीले जमिनमा टेकाउनुपर्नेछ । त्यसका लागि हामी काम गरिरहेका छौँ ।’

    सांसद ढकालले मुलुकलाई अघि बढाउने ठूलो योजनाहरुमा पनि आफूहरुले काम गर्ने बताउनु भयो ।