
सोमवार , भाद्र १, २०७७
भैरहवा, १ भदौ ।
बढ्दो कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई मध्यनजर गर्दै रुपन्देहीको रोहिणी गाउँपालिकाले समुदायस्तरीय पीसीआर परीक्षण सुरु गरेको छ ।
सोमबारदेखि सुरु भएको परीक्षणको पहिलो चरणमा गाउँपालिका अन्र्तगत वडा कार्यालयमा काम गर्ने कर्मचारी, स्वास्थ्यकर्मी, बजार क्षेत्रका पसल सञ्चालन गर्ने व्यक्ति, बैंकका कर्मचारी लगायत गरी १ सय ५ जनाको स्वाब संकलन गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक रामनेवास चौधरीले जनाए । रोहिणी गाउँपालिका–३ स्थित श्री रामनरेश यादव आदर्श माध्यमिक विद्यालयमा स्वाब संकलन गरिएको थियो ।
रोहिणी गाउँपालिकाको पूर्वमा रहेको रामग्राम नगरपालिका र पश्चिममा रहेको सिद्धार्थनगर नगरपालिका तथा छिमेकी मुलुक भारतमा समेत कोभिड–१९ संक्रमितहरुको संख्या बढ्दै गइरहेकोले गाउँपालिकामा परीक्षण सुरु गरिएको अध्यक्ष सनोज कुमार यादवले जनाए । उनले गाउँपालिका अन्र्तगतका कर्मचारी मात्र नभई जोखिममा रहेका सर्वसाधारणहरु पनि आवश्यकता अनुसार परीक्षण गर्न सक्ने सुविधा रहेको बताए ।
भारतीय सीमामा रहेकोले रोहिणी गाउँपालिका पनि उच्च जोखिममा रहेको बताउँदै यादवले जोखिममा रहेका नागरिकको पहिचानको लागी पनि परीक्षण अपरिहार्य रहेको बताए । उनले पहिलो दिन बजार केन्द्रित रहे पनि आगामी दिनमा गाउँपालिका अन्र्तगतका ग्रामीण क्षेत्रका बासिन्दालाई लक्षित गरी परीक्षण गरिने बताए । यसका साथै गाउँपालिकामा रहेका बैंक तथा वित्तीय संघ–संस्थाका कर्मचारी, बढी भिडभाड हुने पसलका सञ्चालकहरुको पीसीआर परीक्षण गरिने दावी गरे ।
‘हामी आफ्नो आफ्नो नागरिकको स्वास्थ्यप्रति संवेदनशिल छौं, आवश्यकता महसुस गर्ने गाउँपालिकाका जुनसुकै स्थानीयले स्वाब परीक्षण गराउन सक्छन् ।’ यादवले भने “अहिले गाउँपालिकाको प्राथमिकता विकास भन्दा पनि स्थानीयहरुको स्वास्थ्य रहेको छ ।”
परीक्षणको लागी आवश्यक पर्ने भिटिएम किट गाउँपालिकाले नै खरीद गरेर पीसीआर परीक्षण गरिरहेको छ । परिक्षण कार्य मंगलबार र आवश्यकता अनुसार अन्य दिन पनि सञ्चालन गरिने गाउँपालिकाले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij