२०८३, जेठ २ गते

May 16 2026 | २०८३, जेठ २ गते

लुम्बिनी प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीलाई उत्प्रेरणा तालिम

शनिवार , फाल्गुण २, २०८२

  • 739
    Shares
  • 739
    Shares
  • बुटवल, २ फागुन । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत २ सय बढी स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई शनिबार उत्पेरणामूलक अभिमुखीकरण सम्पन्न भएको छ। अस्पतालको ११५ औं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तरगत कर्मचारीहरुलाई तालिम दिइएको हो ।

    सो अवसरमा अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको मिहिनेत र पसिनाले अस्पतालको गरिमालाई कायम राख्न सकिएको बताउनुभयो । ठूला भवन, सुविधासम्पन्न संरचना र उपकरणले मात्रै स्वास्थ्य सेवा पूर्ण नहुने उहाँले बताउनुभयो । अध्यक्ष श्रेष्ठले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको लगनशीलता महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

    अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. इन्द्र ढकालले आफ्नो जिम्मेवारीलाई आत्मसाथ गरेर कर्ममा लाग्न स्वाथ्यकर्मी तथा कर्मचारीहरुलाई आग्रह गर्नुभयो । मानिसलाई जीवन दिने दोसो भगवानको रुपमा चिकित्सक पेशा भएकोले उक्त गरिमा र कर्तव्यलाई सधै ध्यान राखेर सबैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिनुभयो । अस्पतालप्रति जनताको भरोसालाई कायम राख्नका लागि यहाँ कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको व्यवहार र कर्तव्य पालनको पक्ष महत्वपूर्ण रहने उहाँको भनाइ छ ।

    कार्यक्रममा मानव सेवा आश्रमका मोटिभेश्नल स्पिकर रामजी अधिकारीले सहजीकरण गर्नुभएको थियो । अधिकारीले मावन सेवा, जीवन र मानव समाजको बोमा व्याख्या गर्दै उत्पे्ररणा प्रदान गर्नुभएको थियो । दैनिक स्वास्थ्य सेवामा व्यस्त रहँदा आफ्नो दैनिक जीवनको व्यवस्थापन, मानसिक तनाव व्यवस्थापनको उपाय लगायत विषयमा उहाँले जानकारी दिनुभयो । 
    अस्पतालले हरेक वर्ष फागुन १५ गते मनाउँदै आएको वार्षिकोत्सव अन्तरगत यस वर्ष पनि विभिन्न अतिरिक्त क्रियाकलापसहित सप्ताहव्यापी मनाएको छ । अस्पतालका स्टाफ नर्स विष्णु पन्थीको संयोजकत्वमा शनिबार उत्पे्ररणामूलक अभिमुखिकरण सम्पन्न भएको हो । चिकित्सक, स्वास्थ्यकर्मी, स्टाफ नर्स तथा कर्मचारीहरुसहित करिब ९ सय जना कार्यरत रहेको लुम्बिनी प्रदेशकै ठूलो यस अस्पतालमा वार्षिक साढे ३ लाख बढीले स्वास्थ्य सेवा लिने गर्छन् । 

    वार्षिकोत्सवको अवसरमा कर्मचारी तथा स्वास्थ्यकर्मीहरुलाई सम्मान, अभिमुखिकरण, रक्तदान तथा फलफूल वितरण, सरसफाई तथा सचेतना कार्यक्रमका साथै स्वास्थ्यकर्मी तथा कर्मचारीहरुबीच मैत्रीपूर्ण भलिबल, फुटबल, ब्याटमिन्टन, म्याराथन लगायतका प्रतियोगिताहरु आयोजना गरिएको अस्पतालका प्रशासकीय प्रमुख प्रेम गौतमले जानकारी दिनुभयो ।