२०८२, फाल्गुण २ गते

Feb 14 2026 | २०८२, फाल्गुण २ गते

मुलुकको समस्या समाधानका लागि प्रतिबद्ध छौं : मोजिब अली

शुक्रवार , फाल्गुण १, २०८२

  • 406
    Shares
  • 406
    Shares

  • भैरहवा, १ फागुन । राष्ट्रिय जनमुक्ति पार्टीबाट रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मोजिब अलीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि आफूहरुसँग विशेष किसिमको योजना रहेको बताउनुभएको छ । उहाँले पार्टीले विमानस्थल सञ्चालन विशेष प्राथमिकतामा राखेको बताउनुभयो ।

    शुक्रबार भैरहवामा रुपन्देही–३ को निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन तथा घोषणा–पत्र सार्वजनिक कार्यक्रममा उम्मेदवार अलीले भन्नुभयो–‘अहिले क्षेत्र नम्बर ३ को पहिलो समस्या भनेको अरबौं लगानीमा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन नहुनु हो ।’

    पार्टीका केन्द्रीय सचिव समेत रहनुभएका अलीले यस क्षेत्रका उद्योगी–व्यवसायी, किसान तथा विभिन्न वर्गका समस्याहरु रहेको र ती समस्या समाधानका उपायहरु पार्टीले प्याकेजमै नागरिक सम्बोधन–पत्र (घोषणापत्र) मा राखेको जानकारी दिनुभयो । ‘घोषणापत्रमा समावेश गरिएका विषयहरु सम्बोधन र अक्षरस पालना गर्न हामी इमान्दार छौं । राष्ट्रिय जनमुक्ति पार्टीले आफ्नो स्थापनाकालदेखि घोषणापत्रहरुमार्फत हामीलाई एकपटक मौका दिनुहोस्, यो देशको मुहार फेर्न र विकास गर्न र यहाँका जस्तोसुकै समस्याको समाधान गर्नका लागि प्रतिबद्ध र इमान्दार छौं भन्दै आएका छौं, ’अलीले भन्नुभयो ।

    पार्टीका प्रतिबद्धता र घोषणापत्रमा उल्लेख गरिएका विषयहरु लागू नगरे निर्वाचनपश्चात उम्मेदवारविरुद्ध नागरिकले ‘राईट टु कोर्ट’ अधिकारको प्रयोग गरेर ठगी मुद्दा दायर गरेर अदालतमा उभ्याउन सक्ने उहाँको भनाइ छ । चुनावको बेला प्रतिबद्धता जाहेर गरे अनुसार जनप्रतिनिधिहरुले कार्य नगरेको खण्डमा राईट टु कोर्ट अधिकारको प्रयोग गर्न पाउने कानूनी व्यवस्था निर्माणका निम्ति पहल गरिने उहाँले बताउनुभयो ।

    राष्ट्रिय जनमुक्ति अन्य दल भन्दा फरक र इमान्दार भएको उहाँले दावी गर्नुभयो । ‘विगत ३५ वर्षदेखि यो देशमा सुख, शान्ति, समृद्धि, स्थायीत्व, भ्रष्टाचारमुक्त गर्न अनवरत रुपमा जनतमाझ प्रतिबद्धता व्यक्त गर्दै आएका छौं । मुलुकमा इमान्दार पार्टी कोही छ भने त्यो राष्ट्रिय जनमुक्ति पार्टी मात्रै हो, ’उम्मेदवार अलीले भन्नुभयो ।

    घोषणापत्रमा बेलहिया नाकालाई व्यवस्थित बनाउनेदेखि रात्रीकालीन बजार सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था मिलाउनेसम्म ४३ बुँदे प्रतिबद्धता व्यक्त गरिएको छ ।

    निर्वाचन सम्पर्क कार्यालयको पार्टीका केन्द्रीय उपाध्यक्ष हाजी डा.मोहम्मद हसन र संघीय महासभा सदस्य नरजङ गुरुङले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

    sssslll.jpg

    पार्टीको निर्वाचन रुपन्देही क्षेत्र नम्बर ३ का अध्यक्ष हरि दर्लामीको अध्यक्षता, क्षेत्रीय कोषाध्यक्ष माया सारुको स्वागत तथा सचिव ओम रानाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।