२०८२, माघ २९ गते

Feb 12 2026 | २०८२, माघ २९ गते

कार्यसम्पादन मूल्यांकनमा सिद्धार्थनगर नगरपालिका रुपन्देही जिल्लामा प्रथम

बिहिवार , माघ २९, २०८२

  • 541
    Shares
  • 541
    Shares
  • भैरहवा, २९ माघ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा सिद्धार्थनगर नगरपालिका रुपन्देही जिल्लामा प्रथम भएको छ । ६८.४६ अंकका साथ सिद्धार्थनगर नगरपालिका प्रथम भएको हो ।

    त्यस्तै तिलोत्तमा नगरपालिका ६६.५४ अंकका साथ दोस्रो र कञ्चन गाउँपालिका ६४.५५ अंक पाएर तेस्रो बनेको छ । आयोगले बिहीबार स्थानीय तहको कार्य सम्पादन मूल्यांकनको नतिजा सार्वजनिक गरेको हो ।

    सूचकहरुमा १० असारभित्र बजेट सार्वजनिक गरे/नगरेको, असार मसान्तभित्र बजेट पास गरे/नगरेको, आर्थिक वर्ष २०८१/८२ मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकमध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक प्रदेश सञ्चित कोषमा दाखिला गरे/नगरेको समेत मूल्यांकनको सूचक मानिएको छ ।

    आगामी आवको बजेट प्रक्षेपणसहित विवरण अर्थ मन्त्रालयमा बुझाए/नबुझाएको, बजेट समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेकोलाई समेत सूचक मानिएको छ ।

    यसबाहेक राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरुजु, सूत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, गर्भ जाँच गर्ने महिला अनुपात, एसईई परीक्षाको नतिजा, खोप लगाएका बालबालिकाको अनुपात समेत आयोगले मूल्यांकनका आधार मान्ने गरेको छ ।

    राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा अर्घाखाँचीको पाणिनी गाउँपालिका देशभरीकै सबैभन्दा अब्बल सावित भएको छ । आयोगले गरेको ७ सय ५३ स्थानीय सरकारमध्ये कार्यसम्पादन मूल्यांकनमो पाणिनी सबैभन्दा अब्बल सावित भएको हो । आयोगले प्रकाशित गरेको मूल्यांकन तालिका अनुसार पाणिनीले कुल ८३.८४ अंक प्राप्त गरी पहिलो स्थानमा रहेको छ ।