२०८२, माघ २९ गते

Feb 12 2026 | २०८२, माघ २९ गते

इरानद्वारा नेतान्याहुको अमेरिका भ्रमणको आलोचना

बिहिवार , माघ २९, २०८२

  • 253
    Shares
  • 253
    Shares
  • काठमाडौं, २९ माघ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको संयुक्त राज्य अमेरिकाको भ्रमण इरान र अमेरिकाबीच शुरु भएको आणविक वार्तालाई कमजोर बनाउने प्रयास भएको इरानले बताएको छ ।

    नेतान्याहु अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई भेट्न मंगलवार वासिङ्टन प्रस्थान गर्नुभएको थियो । उहाँले आगामी वार्ताहरूमा इरानको ब्यालेस्टिक मिसाइल क्षमताप्रति कडा अडान लिन ट्रम्पलाई दबाब दिने उद्देश्य राखेका छन् ।

    ट्रम्पले गाजामा युद्धविराम घोषणा गरेपछि अक्टोबर २०२५ मा जेरुसेलममा भएको भेटवार्तासहित सत्तामा फर्किएपछि इजरायली प्रधानमन्त्रीको ट्रम्पसँगको यो सातौं भेट हो । नेतान्याहुको कार्यालयले हालै भनेको छ कि प्रधानमन्त्रीले इरानसँगको कुनैपनि वार्ताले यसको आणविक मुद्दा मात्र नभई ब्यालेस्टिक मिसाइल कार्यक्रम र क्षेत्रीय गतिविधिहरूलाई पनि सम्बोधन गर्नुपर्छ भन्ने धारणा राख्नेछन् ।

    नेतान्याहुको वासिङ्टन भ्रमणको प्रतिक्रिया दिँदै इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा इजरायल यस क्षेत्रमा असुरक्षा र सुरक्षा समस्याहरूको मुख्य कारण भएको बताउनु भयो । इजरायल इरानको शान्तिपूर्ण आणविक कार्यक्रमलाई बनावटी संकटमा परिणत गर्ने मूल कारण भएको बाघेईले बताउनु भयो ।

    उहाँले इजरायल यस क्षेत्रमा शान्ति र स्थिरता पुनः स्थापना गर्ने कुनैपनि कुटनीतिक प्रक्रियाको विरोधी रहेको समेत बताउनु भयो । बाघेईले इरानले वार्तामा आफ्नो गम्भीरता र सद्भाव प्रमाणित गरेको र देशमा लगाइएका अवैध प्रतिवन्धहरू हटाउन हतारमा रहेको बताउनु भयो ।

    इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मंगलवार ओमान पुगेको ओमान समाचार एजेन्सीले रिपोर्ट गरेको छ । ओमानको शाही दरबारको आधिकारिक विज्ञप्तिअनुसार ओमानका सुल्तान हैथम बिन तारिक अल सैदले इरानी अधिकारीसँग भेट गरी इरान–अमेरिका वार्तासँग सम्बन्धित पछिल्ला घटनाक्रम र दुई पक्षबीच सन्तुलित र निष्पक्ष सम्झौतामा पुग्ने उपायबारे छलफल गरेका छन् ।