बुधवार , माघ २८, २०८२
काठमाडौं, २८ माघ । नेपाली काँग्रेसका सभापति गगन थापाले आगामी निर्वाचनमा पार्टीले परम्परागत ‘घोषणा पत्र’ को सट्टा ‘प्रतिज्ञा पत्र’ सार्वजनिक गर्ने घोषणा गर्नुभएको छ ।
सिरहामा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै थापाले अबको राजनीति ५ वर्षे योजनामा मात्र सिमित नभई दैनिक कार्यसम्पादन र जवाफदेहितामा आधारित हुनुपर्नेमा जोड दिनुभयो ।
सभापति थापाले प्रश्तावित नयाँ सरकारी मोडेलका बारेमा चर्चा गर्दै फागुनमा चुनाव र चैतमा सरकार बनेपछि वैशाख १ गतेदेखि नै प्रधानमन्त्रीले जनताका नाममा जवाफदेहिताको नयाँ अध्याय शुरु गर्ने बताउनु भयो ।
काँग्रेसको सरकार बन्दै गर्दा प्रधानमन्त्रीले ५ वर्षको अमूर्त कुरा नगर्ने स्पष्ट पार्नुभयो । हरेक ३० दिनमा प्रधानमन्त्री देशवासीको सामु उभिएर गएको महिना के काम भयो र के हुन सकेन भन्ने स्पष्ट हिसाव दिने पनि बताउनु भयो ।
काठमाडौंको आफ्नो सुरक्षित मानिने निर्वाचन क्षेत्र छाडेर मधेसको भित्री भेग सर्लाही–४ बाट चुनावी मैदानमा उत्रिनुको कारण प्रस्ट्याउँदै थापाले मधेस नबुझी देशको सफल नेतृत्व गर्न असम्भव रहेको बताउनु भयो । पहाडमा जन्मिएको र शहरमा हुर्किएको हुनाले आफूले ती क्षेत्रको दुःख र सुख बुझेको बताउँदै उहाँले मधेसका मुद्दालाई काठमाडौंको ‘स्थायी सत्ता’ सँग जोड्न आफू सर्लाही गएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘ हामी ५ वर्षका निम्ति सरकार चलाउन चाहन्छौँ, यसमा लुकाउने कुरा केही पनि छैन । तर प्रत्येक दिनको हिसाव किताव होस् भन्ने चाहन्छौँ । हामी घोषणा पत्र तयार गरिरहेका छौँ, यो पटक त्यो काँग्रेसको घोषणा पत्र हुँदैन, त्यो हाम्रो प्रतिज्ञा पत्र हुन्छ । हामी प्रतिज्ञा पत्र लिएर आउँछौँ । फागुनमा चुनाव हुन्छ, चैतमा सरकार बन्छ ।
काँग्रेसको सरकार बन्दै गर्दा काँग्रेसले वैशाख १ गते देशवासीको नाममा उभिएर ५ वर्षको कुरा गर्दैन, २०८३ साल वैशाख १ महिना भित्रमा कुनकुन काम सक्ने हो भन्ने बारेमा देश र जनतालाई बताउँछ । फेरि जेठ १ गते आउँछ, र जेठ
१ गते फेरि प्रधानमन्त्री उभिन्छ र फेरि बताउँछ ।
यो गएको ३० दिनमा मैले यो यो काम गरेँ, यो काम गर्न सकिनँ भन्छ र फेरि ३० दिनको हिसाव लिएर नागरिकका बिचमा आउँछ । ५—५ वर्षमा एक पटक आएको छ, म यो देखाएको छ, भोट मागेको छ, त्यसपछि बेपत्ता भएर गएको छ ।
यो प्रवृत्ति बदल्ने हो हामीले । नयाँ तरिकाले काम गर्ने हो। त्यो काम गर्ने सोचका साथ हामी आएका छौँ । हामी एउटा एउटा संकल्प लिएर आएका छौँ । म फेरि भन्छु । हामी देशलाई सम्हाल्छौँ पनि, कुनै झगडा, कुनै उत्तेजना, कुनै घृणा केही पनि नफैलाईकन सबैलाई मिलाएर लिएर जान्छौँ । सँगसँगै देशलाई सुधार्छौँ पनि । तर यसका निम्ति म एक्लै भएर हुँदैन, मलाई टिम चाहिन्छ ।
म एक्लैले सक्दा पनि सक्दिनँ, न म सँग सङ्ख्या पुग्छ, न म सँग त्यो क्षमता राख्छु । त्यसैले म तपाईँहरुसँग आग्रह गर्न आएको, मेरो पार्टीको अत्यन्त अत्यन्त भलादमी साथी आदरणीय रामचन्द्र चौधरी तपाईंहरुको यो ठाउँमा अहिले आएर पार्टीको तर्फबाट नेपाली कांग्रेसको उम्मेदवार हुनुहुन्छ । तपाईँले उहाँलाई निर्वाचित गराइदिनु प¥यो।’
उहाँले ५–५ वर्षमा भोट माग्न मात्र आउने र त्यसपछि बेपत्ता हुने राजनीतिक प्रवृत्तिलाई अन्त्य गर्दै नयाँ कार्यशैलीका साथ अघि बढ्ने संकल्प समेत व्यक्त गर्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
