२०८३, बैशाख ३१ गते

May 14 2026 | २०८३, बैशाख ३१ गते

व्यवहारिक ज्ञानको एकदमै खाँचो छ : उपप्रमुख अधिकारी

बुधवार , माघ २८, २०८२

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • भैरहवा, २८ माघ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ । उहाँले व्यवहारिक ज्ञानको एकदमै खाँचो रहेको बताउनुभयो ।

    सिद्धार्थनगर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा भैरहवास्थित श्री रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालयमा आयोजित सामूदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकका लागि सिकाइ आपूरण तथा दु्रत सिकाइ योजना तालिम कार्यक्रममा उहाँले यस्तो बताउनुभएको छ । ‘आजको समयमा व्यवहारिक ज्ञान आवश्यक छ । मानव भएकोले हाम्रो के दायित्व छ, त्यो बुझ्न जरुरी छ । शिक्षक (गुरु) को दायित्व अझ बढी छ, ’उपप्रमुख अधिकारीले भन्नुभयो ।

    अहिलेको युग प्रविधिको युग भएकाले प्रविधि अनुसार अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ । शिक्षा क्षेत्रमा अन्य पालिकामा भएका राम्रा अभ्यासलाई सिद्धार्थनगर नगरपालिकामा अगाडि बढाउन सकिने उहाँले बताउनुभयो । ‘नगरपालिकाको आन्तरिक स्रोत न्यून भएकोले इच्छा हुँदाहुँदै कतिपय काम गर्न सकिएको छैन, तर शिक्षा क्षेत्रको विकासमा हाम्रो ध्यान गएको छ, ’उहाँले भन्नुभयो ।

    पाठेघरको मुखको क्यान्सर रोकथामका लागि सिद्धार्थनगर नगरपालिकामा विद्यालय केन्द्रीत खोप ‘ह्युमन पापिलोमा भाइरस’ (एच.पी.भी.) कार्यक्रम सञ्चालन गरिएकोले खोप लगाउनुपर्ने किशोरीहरुलाई विद्यालयलाई प्रोत्साहन गर्नुपर्ने उहाँले बताउनुभयो । 

    ‘गुरुहरुको भूमिका बढी नै हुन्छ, हामीले विद्यार्थीहरुलाई किताबी ज्ञानका साथै व्यवहारिक ज्ञानका कुरा सिकाउँदा सिकाई अझ प्रभावकारी हुन्छ, ’उपप्रमुख अधिकारीले भन्नुभयो ।

    सिद्धार्थनगर नगरपालिकाको शिक्षा अधिकृत जाह्नवी पाण्डेले तालिममा सामूदायिक विद्यालयका प्रधानाध्यापक तथा कक्षा ३ देखि ८ सम्म अध्यापन गराउने शिक्षकहरुको सहभागीता रहेको जानकारी दिनुभयो ।

    IMG_1059.JPG

    ‘कक्षा ३ देखि ८ सम्मका लागि निदानात्मक परीक्षण साधन (प्रश्नहरु) तयार गरी कक्षा ३ देखि ५ सम्म गणित र नेपाली तथा कक्षा ६ देखि ८ सम्म नेपाली, गणित, अंग्रेजी र विज्ञान विषयमा केन्द्रीत रही सम्बन्धित विषयका शिक्षकहरुलाई सहभागी गराइएको थियो, ’पाण्डेले भन्नुभयो । तालिम मंसिर २५ देखि २७ गतेसम्म सञ्चालन भएको थियो ।