२०८२, माघ २८ गते

Feb 11 2026 | २०८२, माघ २८ गते

भैरहवामा ‘थारु लोक संस्कृति एवं खाना महोत्सव तथा प्रणय दिवस कार्यक्रम’

बुधवार , माघ २८, २०८२

  • 370
    Shares
  • 370
    Shares
  • भैरहवा, २८ माघ । सोसाईटी अफ ट्राभल एण्ड टुर अपरेटर्स (सोट्टो) नेपाल, लुम्बिनी प्रदेशले रुपन्देहीको भैरहवामा ‘थारु लोक संस्कृति एवं खाना महोत्सव तथा प्रणय दिवस कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । आगामी फागुन २ गते प्रणय दिवस (भ्यालेन्टाइन डे) को अवसमा सोट्टो लुम्बिनीले उक्त कार्यक्रमको आयोजना गरेको भैरहवामा पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।

    सोट्टो लुम्बिनीका अध्यक्ष सञ्जय बजिमयले आन्तरिक पर्यटन प्रवद्र्धन गरी आर्थिक चलायमान बनाउन थारु संस्कृति र खानाका परिकारसहितको महोत्सव सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । महोत्सवमा साँस्कृतिक कार्यक्रमका लागि पहिलो प्राथमिकता थारु समुदायलाई दिइएको बताउनुभयो । उहाँका अनुसार थारु समुदायबाहेक अन्य परिकारका खाना र कार्यक्रमको अन्त्यमा डिजे संगीतको प्रस्तुती पनि समावेश गरिनेछ । सबै कलाकार स्थानीय रहेको उहाँले जानकारी दिनुभयो । 

    महोत्सवमा १ सय रुपैयाँदेखि ५ सय र १ हजार रुपैयाँ दरका टिकट उपलब्ध हुनेछ । जसमध्ये विद्यार्थीलाई परिचयपत्रका आधारमा छुटको व्यवस्था छ । महोत्सवमा आकर्षणका लागि सुलभ दरमा घोडा वा बग्गी चढ्न पाइने व्यवस्था गरिएको छ ।

    सोट्टो लुम्बिनीका उपाध्यक्ष तथा कार्यक्रम संयोजक सञ्जीव जोशीले महोत्सवमा रुपन्देहीसहित पश्चिम नवलपरासी, कपिलवस्तु र पाल्पाबाट पर्यटकहरु आउने अपेक्षा गरिएको बताउनुभयो। ‘यस खालका कार्यक्रमले पर्यटन क्षेत्रको विकासमा कोसेढुंगा सावित हुनेमा विश्वस्त छौं, ’उहाँले भन्नुभयो । 

    भारतीय तथा तेस्रो मुलुकका सर्वाधिक पर्यटक नेपाल आउने मुख्य बेलहिया नाका, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनीको मुख्य प्रवेशद्वारको रुपमा रहेको भैरहवा क्षेत्रमा साँस्कृतिक गतिविधिसहितको पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम सम्भव छ भन्ने सन्देश दिनका लागि यो महोत्सवको आयोजना गरिएको बताउनुभयो । 

    पर्यटन व्यवसायी तथा  ए क्यूब एक्वाटिक रेष्टुरेण्ट कानपाराका सञ्चालक अजय कुमार चौधरीले लुम्बिनी क्षेत्रका होटेल रेष्टुरेण्ट तथा रिसोर्टमा पर्यटकको आकर्षणका लागि थारु सँस्कृतिमा आधारित नाचगानको सभ्यता विकास गर्न लागिएको बताउनुभयो ।

    थारु कल्याणकारी सभा, रुपन्देहीका अध्यक्ष कमल नारायण चौधरीले महोत्सवमा थारु समुदायको मौलिक खानाको परिकारका साथमा भेषभुषा र विभिन्न साँस्कृतिक कार्यक्रमको प्रस्तुती रहने बताउनुभयो । 

    कार्यक्रम भैरहवास्थित महेन्द्र सभा गृह (पटवा बैंक्वेट) मा दिउँसो २ देखि राती ९ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएका छन् ।