२०८२, माघ २५ गते

Feb 08 2026 | २०८२, माघ २५ गते

‘लुम्बिनी प्रेस क्लबका गतिविधिले नै संस्थाको गरिमा बढेको छ’

आइतवार , माघ २५, २०८२

  • 292
    Shares
  • 292
    Shares
  • भैरहवा, २५ माघ । लुम्बिनी प्रेस क्लब, रुपन्देहीको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । मायादेवी गाउँपालिका–८ लुम्बिनीरोडस्थित क्लबको भवनमा सम्पन्न साधारण सभाको क्लबका सल्लाहकार तथा अग्रज पत्रकार कुलमणि ज्ञवालीले उद्घाटन गर्नुभयो ।

    सो अवसरमा बोल्नुहुँदै ज्ञवालीले कुनै पनि व्यक्ति वा संघ–संस्था आफ्ना काम, कार्यक्रम र गतिविधिले स्थापित हुने बताउनुभयो । उहाँले लुम्बिनी प्रेस क्लबले गरिरहेको कार्यक्रम र गतिविधिले नै संस्थाको गरिमा बढेको छ ।  उहाँले अघिल्लो महिना बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित तेस्रो लुम्बिनी न्यूज फेस्टिबलले क्लबलाई अझै बढी चर्चाको शिखरमा पु¥याएको उल्लेख गर्नुभयो । उक्त कार्यक्रममा उठाइएका विषयहरु समय अत्यन्तै समय सान्दर्भिक रहेको त्यहाँका सहभागीहरुबाट सुन्न पाइएको उहाँले बताउनुभयो ।

    उहाँले लुम्बिनी प्रेस क्लबले आफ्नो पहिचान स्थापित गर्न सफल भएको बताउनुभयो । लुम्बिनी प्रेस क्लबको सल्लाहकारको भूमिका रहदा गौरवान्दित छु । हामीले गरेका कामलाई निरन्तरता दिदै केही नयाँ काम गर्नुपर्छ, ’उहाँले भन्नुभयो ।

    क्लबका अध्यक्ष कमल रायमाझीले पत्रकारिता क्षेत्रको विकासका लागि लुम्बिनी प्रेस क्लबले महत्वपूर्ण र उत्कृष्ट कार्यहरु गर्दै आएको बताउनुभयो । उहाँले पत्रकारिता समाजसँग पनि जोडिएकाले क्लबले समाजमा विभिन्न कार्यक्रम गरी सचेतनासमेत फैलाउँदै आएको बताउनुभयो ।

    कार्यक्रममा क्लबका उपाध्यक्ष दीपेन्द्र बडुवाल, दीपक घिमिरे, निवर्तमान महासचिव शंकर प्रसाद पाण्डे, कार्यसमिति सदस्य भीम भण्डारीलगायतले लुम्बिनी प्रेस क्लबले गरेको रचनात्मक कार्यलाई निरन्तरता दिदै जानुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा महासचिव प्रकाश न्यौपानेले महासचिवको प्रतिवेदन र कोषाध्यक्ष विष्णु प्रसाद भट्टराईले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । वि.सं. २०७२ सालमा स्थापना भएको लुम्बिनी प्रेस क्लबमा हाल ४२ जना सदस्यहरु आबद्ध रहेको कार्यसमिति सदस्य एलिना आचार्यले बताउनुभयो ।