आइतवार , माघ १८, २०८२
भैरहवा, १८ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले रुपन्देही क्षेत्र नम्बर ३ मा चुनावी अभियान अन्तर्गत शनिबार पनि वडा कमिटीका भेलाहरु सम्पन्न गरेको छ । पार्टीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बासुदेव घिमिरेको उपस्थितिमा भएका भेलाहरुले वडास्तरमा निर्वाचन परिचालन कमिटी समेत गठन गरेका छन् ।
सोही क्रममा एमाले बुटवल उपमहानगरपालिका वडा नम्बर १६ को वडा भेला पार्टीका वडाअध्यक्ष केशव सापकोटाको अध्यक्षता तथा पूर्व केन्द्रीय सदस्य सावित्रा देवी अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
भेलामा प्रमुख अतिथि अर्यालले रुपन्देही क्षेत्र नम्बर ३ ले विकासप्रेमी नेता बासुदेव घिमिरेलाई प्रतिनिधि सभा सदस्य उम्मेदवारको रुपमा पाएको चर्चा गर्नुभयो । उहाँले क्षेत्रको समग्र विकासको जिम्मा एमालेले लिने उल्लेख गर्नुभयो ।
उम्मेदवार घिमिरेले रुपन्देही क्षेत्र नम्बर ३ को भूगोल र यहाँका मतदाताका समस्याहरुको बारेमा आफू जानकार रहेको बताउनुभयो । उहाँले क्षेत्र नम्बर ३ को विकासको बारेमा आफ्नो स्पष्ट भिजन रहेको बताउनुभयो ।
त्यस्तै शनिबार नै पार्टीको सियारी गाउँपालिका वडा नम्बर ७ मा आयोजित वडा भेलाले निर्वाचन परिचालन कमिटी तथा युवा परिचालन कमिटी समेत गठन गरेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
