शनिवार , माघ १७, २०८२
भैरहवा, १७ माघ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ स्थित साई ग्लोबल एकेडेमीमा खेलकुद सप्ताह–२०८२ सम्पन्न भएको छ । खेल सप्ताह मिनी म्याराथनबाट सुरु भएको थियो । भैरहवास्थित लुम्बिनी गेटबाट सुरु म्याराथन बुद्धचोक, नयाँसडक, देवकोटाचोक हुँदै रंगशालामा पुगेर समापन भएको साई ग्लोबल एकेडेमीका अध्यक्ष दिनेश मान अमात्यले बताउनुभयो ।
म्याराथनमा छात्रातर्फ सुम्निमा श्रेष्ठ प्रथम, आरोही अधिकारी द्वितीय र लक्ष्मी गडेरिया तृतीय भएका छन् ।त्यस्तै छात्रतर्फ विशाल थापा प्रथम, मनोज गुरुङ द्वितीय र अभिषेक सुनार तृतीय भएका छन् ।
साई ग्लोबल एकेडेमीका अध्यक्ष दिनेश मान अमात्यको अध्यक्षतामा भएको कार्यक्रमको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) गणेश सापकोटाले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा मनकामना इङ्ग्लिस बोर्डिङ स्कूलका प्राचार्य तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्व प्रशिक्षक जीवन बस्नेत, रुपन्देही क्रिकेट संघका अध्यक्ष एवं साई ग्लोबल एकेडेमीका पूर्वअध्यक्ष हरि बहादुर थापा, एकेडेमीका प्रबन्ध निर्देशक मोती प्रसाद पौडेल, प्राचार्य लक्ष्मण ज्ञवाली लगायतको उपस्थिति थियो ।
कार्यक्रममा वक्ताहरुले खेलकुदले विद्यार्थीको शारीरिक, मानसिक विकास, अनुशासन तथा नेतृत्व क्षमताको विकासमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रमको विजयी खेलाडीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
खेल सप्ताह अन्तर्गत क्रिकेट, भलिबल, फुटसल, ब्याडमिन्टन, म्यूजिकल चेयर, सट पुट र फ्री फायर आयोजना गरिएको विद्यालयका प्राचार्य लक्ष्मण ज्ञवालीले बताउनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
