२०८२, माघ १७ गते

Jan 31 2026 | २०८२, माघ १७ गते

राप्रपा रुपन्देही क्षेत्र नं. १ को निर्वाचन परिचालन समिति कार्यालय स्थापना

शनिवार , माघ १७, २०८२

  • 394
    Shares
  • 394
    Shares
  • भैरहवा, १७ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही क्षेत्र नं. १ ले निर्वाचन परिचालन समिति कार्यालय स्थापना गरेको छ ।

    राप्रपाले फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन परिचालन समिति कार्यालय स्थापना गरेको हो। 

    रूपन्दही क्षेत्र नम्बर १ को रोहिणी गाउँपालिकास्थित धकधईमा स्थापना गरिएको उक्त कार्यालयको  विशेष कार्यक्रमका वीच उद्घाटन गरिएको छ। कार्यक्रममा पार्टीका केन्द्रीय, प्रदेश तथा स्थानीय नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

    rppsssa.jpg

    उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा निर्वाचनका लागि राप्रपाका उम्मेदवार प्रज्जवल बोहराले आगामी निर्वाचनमा जनताको विश्वास जित्दै राष्ट्र, धर्म, संस्कृति र सुशासनको पक्षमा बलियो आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे ।

    उनले आफ्ना स्वर्गीय पिता दीपक बोहराले देखेको रुपन्देही क्षेत्र नं. १ सहित समग्र रुपन्देहीको विकासको सपना पूरा गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गरे । बोहराले विकास, सुशासन र जनअपेक्षालाई प्राथमिकतामा राख्दै क्षेत्रको समग्र उन्नतिका लागि निरन्तर काम गर्ने बताए ।

    Rppsadada.jpg

    कार्यक्रममा राप्रपाका केन्द्रीय सह–महामन्त्री ताहिर अली, केन्द्रीय सदस्य स्वाती थापा, लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदय तथा लुम्बिनी प्रदेश सभा सदस्य आशिष चौधरीले मन्तव्य राख्दै राप्रपाको वैचारिक स्पष्टता र संगठनात्मक मजबुतीका बारेमा प्रकाश पारे । उनीहरूले रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार प्रज्वल बोहरालाई विजयी गराउन सबै कार्यकर्ता एकजुट भएर लाग्न आग्रह गरे ।

    निर्वाचन परिचालन समिति कार्यालय स्थापनासँगै पार्टीको संगठन विस्तार, मतदातासँग प्रत्यक्ष सम्पर्क तथा निर्वाचन अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने लक्ष्य लिइएको राप्रपा रुपन्देही क्षेत्र नं. १ ले जनाएको छ । पार्टीले निर्वाचन प्रक्रिया स्वच्छ, निष्पक्ष र मर्यादित ढंगले सम्पन्न गर्न प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको छ ।