२०८३, बैशाख १९ गते

May 02 2026 | २०८३, बैशाख १९ गते

ओलीलाई झापा ५ मा चुनाव जित्न कुनै जोखिम छैन : शंकर पोखरेल

शुक्रवार , माघ १६, २०८२

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • काठमाडौं, १६ माघ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई झापा ५ मा निर्वाचनमा विजयी हुन कुनैपनि समस्या नरहेको दाबी गर्नुभएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहको सामाजिक सञ्जालमा हल्लाखल्ला भएपनि सो निर्वाचन क्षेत्रमा अध्यक्ष ओलीलाई जित्न समस्या नहुने उहाँको भनाई थियो ।

    शुक्रवार काठमाडौंमा आयोजित सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव पोखरेलले झापा निर्वाचन क्षेत्र नम्बर ५ का मतदाता राजनीतिक रुपमा सचेत रहेकाले त्यहाँ लोकप्रियतावादको नाममा फस्ने कुनै सम्भावना रहेको पार्टीको निष्कर्ष रहेको समेत बताउनु भयो ।

    उहाँले राष्ट्रिय राजनीतिमा दाङको भुमिकालाई स्थापित गराउनका लागि पनि दाङका जनताले आफूलाई निर्वाचनमा विजयी गराउने विश्वास व्यक्त गर्नुभयो । 

    महासचिव पोखरेलले भन्नुुभयो,‘जहाँसम्म झापा ५ को सन्दर्भ छ । झापा ५ का जनताहरु राजनीतिक रुपमा जागरुक जनता हुन् । किनकी जसले पञ्चायतको विरुद्ध युद्धको शंकघोष गरे ।

    त्यो ठाउँका जनताहरु जसले हरेक लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भुमिका निर्वाह गरे । त्यो ठाउँका जनताहरु पपुलिजम र एनार्किजमको प्रभावमा परिरहन परिणामलाई नै तलमाथि पार्न सक्दछन भन्ने खालको मान्यता पार्टीको छैन ।

    होला सोसल मिडियामा हुने हल्लाखल्लाले एक प्रकारको प्रभाव त पारेको छ । तर मतदाताको बीचका कुरा गर्नु हुन्छ भने हामी झापा ५ मा पनि सुरक्षित अवस्थामा छौ । त्यहाँ कुनै प्रकारको जोखिमको अवस्था छैन भन्ने पार्टीको विश्लेषण रहेको कुरा म तपाईहरुको बीचमा राख्न चाहन्छु ।

    जहाँसम्म दाङ जिल्लाको सन्दर्भ छ । विगतमा राजनीतिक दलहरुको बीचमा गठबन्धन भयो । महागठबन्धन भयो । दाङ जिल्ला फेरि यस्तो जिल्ला हो, जहाँ माओवादीको पनि प्रभाव क्षेत्र हो । नेपाली काँग्रेसको परम्परागत प्रभाव क्षेत्र रहेको पनि हो । त्यस्तो जिल्लामा प्रमुख पार्टीहरुबीच गठजोड रहँदा पनि नेकपा एमालेले २ सय भन्दा कम मतमा चुनाव हारेको हो ।

    अहिले राजनीतिक दलहरु एक्लाएक्लै चुनाव लडेको अवस्था र अर्कोतर्फ विगतमा शंकर पोखरेलले चुनाव हार्दा दाङ जिल्लाले धेरै अवसरहरु गुमायो भन्ने त्यहाँको अनुभुति नै दाङ जिल्लामा अहिले दंगाली जनताको बीचमा चर्चा, छलफल र बहसको विषय बनेको मैले महसुश गरेको छु । त्यस अर्थमा यस पटकको चुनावमा दंगाली जनताको राष्ट्रिय राजनीतिमा दाङको भुमिकालाई स्थापित गर्ने गरी शंकर पोखरेललाई जिताउनु पर्छ भन्ने निष्कर्षमा पुगेको मैले पाएको छु ।’ 

    महासचिव पोखरेलले निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो शक्ति बन्नबाट कसैले पनि रोक्न नसक्ने जिकिर गर्नुभयो । त्यस अवसरमा उहाँले काँग्रेससँग आफ्नो पार्टीको प्रतिष्पर्धा हुने पनि बताउनु भयो ।