२०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

तिलोत्तमाका सरसफाईकर्मीहरुलाई पोशाक तथा जुत्ता वितरण

बिहिवार , माघ १५, २०८२

  • 997
    Shares
  • 997
    Shares
  • तिलोत्तमा, १५ माघ । रुपन्देहीको तिलोत्तमालाई ग्रीन तिलोत्तमा क्लिन तिलोत्तमा गराउन महत्वपूर्ण भूमिका खेल्नुभएका सबै सरसफाईकर्मीहरुलाई पोशाक तथा जुत्ता वितरण गरिएको छ । तिलोत्तमा नगरपालिका वातावरण तथा विपद् व्यवस्थापन शाखाले नगरभित्र सरसफाई कार्यमा सम्मिलित कर्मचारीहरुलाई पोशाक तथा जुत्ता वितरण गरेको हो । नगर परिसरमा आयोजित कार्यक्रममा नगरले सडक तथा वडा र निश्चित क्षेत्र भित्र गएर सरसफाई गर्ने महिला तथा पुरुष कर्मचारीहरुलाई पोशाक र जुत्ता वितरण गरेको हो ।

    कार्यक्रममा तिलोत्तमा नगरपालिकाको प्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेश्वर देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल, कार्यपालिका सदस्य रवि सेञ्चुरी, वातावरण शाखाका इञ्जिनियर युवराज पन्थी, शाखा अधिकृत गोरखनाथ खनाल लगायतले सफाई कर्मचारीलाई ट्र्याकशुट र जुत्ता वितरण गर्नुभएको थियो । करिब ५० जना सफाई कर्मचारीलाई पोशाकसहितका सामग्री वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले जानकारी दिनुभयो ।

    कार्यक्रममा बोल्दै नगरप्रमुख खाणले सरसफाई मार्फत देशमा मात्रै नभएर विदेशसम्म तिलोत्तमाको नाम उच्च राख्न सफल भएकोमा सबै सरसफाईकर्मीहरुलाई धन्यवाद दिनुभयो ।
    नगर उपप्रमुख चौधरीले तिलोत्तमा नगरको विकासमा महत्वपूर्ण भूमिका खेल्दै सरसफाई पहिलो काम भनी दिनरात खट्नुहुने सबै कर्मचारीलाई धन्यवाद दिनुभयो । उहाँले काम सानो ठुलो नहुने हुँदा सबै मिलेर एकजुट भइ तिलोत्तमाको गौरव बढाउन लाग्नुपर्ने धारणा राख्नुभयो ।

    सरसफाईकर्मीहरुलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले नगरपालिकाको शान बनेको सरसफाई र हरियालीमा खटेर काम गर्नुहुने सबैलाई धन्यवाद दिनुभयो ।

    उहाँले आगामी दिनमा अझ सुविधासँगै सुरक्षामा समेत नगरपालिकाले ध्यान दिने बताउनुभयो । कार्यक्रममा सरसफाईकर्मीहरुले पोशाक र जुत्ता पाएपछि काम गर्ने दौरानमा हुने सम्भावित दुर्घटनाबाट बचिने र कामप्रति गर्व गर्न सकिने बताएका थिए ।