२०८२, माघ ३ गते

Jan 17 2026 | २०८२, माघ ३ गते

रामपुर, भुजात–गुरुङगाउँको अपार माया बोकेर फर्किदा......

शनिवार , माघ ३, २०८२

  • 43
    Shares
  • 43
    Shares
  • पाल्पाको तल्लो डुम्रेमा पुग्दा बिहानको पौने ८ बज्दै थियो । त्यहाँ ईभीको खाजा स्टेशन रहेछ । सुख्खा रोटीसँग मटरको झोल दाबें । साथी युवराज घिमिरे र मलाई पाल्पा, रामपुरको भुजात गुरुङ पुग्नु थियो । पौने १० बज्दै गर्दा भुजात नजिकैको जानकी आधारभूत विद्यालयमा ओर्लियौं । हामीलाई लिन आउने भनेका यमबहादुर गुरुङ हाइवेमा नआइसकेका कारण पैदलयात्रा उकालियौं । भाइसँगै मोटरसाईकलमा आएका यमबहादुर बाटोमा भेटिए । यमबहादुरसँगै हामी मोटरसाईकल छाडेर पैदल एक नम्बरमा गाउँतिर उक्लियौं ।

    हामीलाई नै हेरेजस्तो ..........
    भुजात गुरुङ गाउँमा होमस्टे सञ्चालन, सम्भाव्यतासम्बन्धी अध्ययन र प्रिजेन्टेसन गर्नुथियो हामीले । यमबहादुरले गोरेटो बाटो हिंडाले । कतै हिलो थियो बाटो, कतै तेर्सो अनि कतै उकालो । उकालोमा फोक्सो फुल्लियो । इएर लियो शरीरले । यमबहादुरको माइजूकहाँ शरीर बिसाइयो । तातोपानी गिलासभर पिएपछि शरीरमा छुट्टै स्फूर्ति मिल्यो । केहीबेर सोही ठाउँबाट नागबेली कालीगण्डकी हेरियो । होमस्टे सञ्चालन गर्न मिल्छ कि नाइँ भनेर माइजूको घर भित्रबाहिर आँखा डुलाइयो । फोटो खिचियो । अगेनामा ओदान, ओदानमा किट्ली बसालिएको थियो । गाउँले परिवेश, मनोरम लाग्यो । गुन्द्रीमा बसेर सानीनानीले गृहकार्य गर्दै थिइन् । बारीका पाटामा रहेका सुन्तला, कागतीका बोटहरुले हामीलाई नै हेरेजस्तै लाग्ने ।

    गाउँमा १० घरहरु गुरुङ जातिका रहेछन् । तीमध्ये दुई घर बसाईसराई सरेछन् । बाँकी ८ घरहरु र साँधमा रहेका चार घर मगरजातिलाई जोडेर होमस्टे चलाउने योजना रामपुर नगरपालिका वडा नम्बर ८ ले गरेको रहेछ । त्यसका लागि आवश्यक सहयोग नगरपालिकाले गर्ने सोच बनाएको वडा सचिव बासुदेव ढकालले बताउँदै थिए । उनकै निम्तो र अनुरोधमा हामी यता आइपुगेका थियौं । गाउँ पुग्न सिमेन्टेड सिंढीहरु बन्दै गरेका रहेछन् । पानीको अस्थायी व्यवस्थापन भए पनि यस वर्ष दुई लाख रुपैयाँले पानीलाई थप व्यवस्थापन गर्ने कुरा यमबहादुरले सुनाए । युवराज र मैले फोटो खिच्ने, भौतिक संरचना हेर्ने र होमस्टे सञ्चालनका लागि आवश्यक पक्षहरुका बारेमा कुराकानी गर्दै यमबहादुरलाई साथमा लिएर अघि बढिरह्यौं ।

    गाउँमै तमू समाजको हल रहेछ । गाउँका मानिसहरु जम्मा हुने साझा हलले सुन्दरता थपेको मानियो । एकैछिन त्यहाँको वरिपरि घुमियो । पानी र बिजुलीको प्रवन्ध गर्न सके उत्तम हुने मानियो । होमस्टे सञ्चालन भएमा यहाँ आउने पर्यटकहरुलाई स्वागत गर्ने, खाना खुवाउने र साँस्कृतिक कार्यक्रम गर्नका लागि तमू समाजको हल उपयुक्त हुने मानियो । छेउमै पीपलपाटा सामुदायिक वनले एउटा सिमेन्टेड चौपारी बनाएको रहेछ । बरु ढुंगा चिनेर बनाएको भए कति उत्तम हुने थियो झैं लाग्यो ।

    नागबेली कालीगण्डकी हेरेपछि................
    त्यहाँबाट उकालियौं । स्याँस्याँ गरायो, उकालोले । तैपनि त्यहाँबाट देखिने स्याङ्जाको चापाकोट, पाल्पाकै रामपुर अनि नागबेली कालीगण्डकी नदीले थकाइलाई बिर्साइ दियो । मनै रमायो । कालीगण्डकी कोरीडोरको तल्लो भुजातबाट उक्लिएको आधा घण्टामा नै स्वर्गीय आनन्द मिल्यो ।  गाउँको टुप्पामा पुगेपछि यमबहादुरले हामीलाई आफ्नो घरमा पुराए । बाबा शेरबहादुरसँग भेटाए । ठूलो परिवार रहेछ उनको । मिठ्ठो चिया पिलाए । आमाले स्वागत गरिन् । माला समेत लगाइयो । केहीबेरमा वडा सचिव बासुदेव आफ्नो साथीसँग आइपुगे । सँगै फोटो खिचियो । युवराजले फेसबुकमा फोटो पोष्ट्याए । पुस महिनाको पारिलो घाममा बसेर स्वादिलो सिकारसँगै खाना खानुको स्वादै बेग्लै । अरु के बयान गर्नु र ? स्वागत, सत्कारले समेत खानालाई झनै मीठो बनायो । 
    दिउँसोको एक बज्दै गर्दा हामी झेरुछाप गाउँका लागि स्कूटीमा उक्लियौं । बाटोमा बाघडाँडामा बन्न सक्ने ग्रीनपार्कका बारेमा सल्लाह गर्याैं । मचान बनाएर उत्तरतिरका हिमश्रृंखलाहरुलाई हेर्दा अति नै सुन्दर देखिने रहेछ । स्याङ्जाको चापाकोट, दामाचौर र रामपुरफाँटलाई आँखैमा सजाउन सकिने रहेछ । यो स्थानबाट देखिने सबै ठाउँहरु भू–स्वर्ग लाग्यो ।

    afaf.jpg

    झेरुछाप गाउँमा पुगियो । सबै मगर जातिको बसोबास रहेछ । झुरुप्पै घरहरु । थाप्लाको गाउँ रहेछ । त्यहाँबाट हेर्दा त झन् राम्रा दृश्यहरु देखिए । गाउँमा करीब ४० घरहरु भए पनि बुढापाकाहरु धेरै देखिन्थे । सहर पसेका बुहारीहरु, नातीनातिना, परदेश पसेका छोराहरुलाई सम्झेर पिंढी कुर्ने बुढाबुढीहरुले गाउँको इतिहासलाई जोगाउँदै रहेछन् । लालुपाते रातै फुलेका । घरहरु चिटिक्क, बार्दलीसहितको । हाम्रा गाउँहरुका प्रतिनिधि गाउँ नै झेरुछाप लाग्यो ।

    फर्केर आइयो । चिया पिइयो । यमबहादुरको घरमा फेरि । उनको गाउँमा मकै, कोदो फल्दो रहेछ । भिरालो जमिन भएकाले धानखेती नहुँदो रहेछ । आँप, नास्पाती, कटहर, सुन्तला मनग्यै फल्दोरहेछ । बेसार, पिंडालु, अदुवाले गाउँलेहरुलाई धानेको समेत थाहा पाइयो । कलात्मक तरिकाले करेसाबारी सजाइएको रहेछ । बाख्रा, भैसीपालनका लागि उत्तम ठाउँ रहेछ । यमबहादुर पनि आफू परदेश पुगेर फर्केका २६ वर्षीय युवा रहेछन् । ६ भाइमध्येका कान्छा रहेछन् । उनका दाजुहरु कोही नेपालमा र कोही परदेशमै रहेछन् । यो गाउँका प्रत्येक घरबाट कम्तिमा एकजना परदेश गएकै रहेछन् ।

    मनै चसक्क ......................
    युवराज र मैले गाउँको सेरोफेरो बुझ्यौं । भूगोल र भावना जान्ने चेष्टा ग¥यौं । गाउँका समृद्धिका आधारहरु केलायौं । भेटिएका जतिसँग गाउँका कुरा ग¥यौं । यमबहादुरका बाजे, उक्त गाउँमा लमजुङबाट आएका रहेछन् । बाबा शेरबहादुरसँग भलाकुसारी गरियो । डोको, डालो, नाम्लो बुन्ने सीप रहेछ उनीसँग तर अचेल उनले ती काम गर्न छाडेछन् । सीप मर्ने कुराले मनै चसक्कै भो । 
    हामी यमबहादुरसँगै भुजातमा रहेको वडा नम्बर ८ को कार्यालयमा पुगियो । मैले वडाध्यक्ष दिनेश आचार्यलाई ‘उद्यान दर्पण’ उपहार दिएँ । त्रिलोचन अधिकारी, सुभाष अधिकारी, बासुदेवलगायतका साथीहरुसँग होमस्टेका बारेमा केही कुरा बुझ्यौं । आफूहरुको होमस्टे सञ्चालनमा उत्कट इच्छा भएको तर, आइडिया नभएको कुरा सुनाए वडाध्यक्षले । हामीलाई चाहिने आवश्यक तथ्यांकहरु संकलन गरियो । त्रिलोचन र सुवास सरसँग उनीहरुका घर, सिद्धबाबा मन्दिर, क्रिकेट पीच, कालीगण्डकी पैदलमार्ग हेरेर रामपुर बजार नजिकै रहेको आस्था इनमा खाजा खान पुगियो ।

    बिहान तालपोखरामा .............
    नेपाल उद्यान महासंघका केन्द्रीय सदस्य सागर देवकोटा, स्थानीय समाजसेवी फणेश्वर गौतमसँगै बसेर तातोतातो थुक्पा खायौं । बर्खि बारेका कारण बासुदेव भोकै परे । हामीलाई होटल व्यवस्थापन गर्दै थिए बासुले तर युवराजको आफन्तीकहाँ बस्ने सल्लाह भो । हुन त बासु र सागरले आ–आफ्ना घरमा बसौं भनेका थिए तर, हामी युवराजको आफन्तीकहाँ पाहुना लागियो ।

    हामी दुईजना, राति एघार बजेसम्म ‘रामपुर भुजात गुरुङगाउँमा होमस्टे सञ्चालन, सम्भाव्यता र अन्तत्र्रिmया’ का लागि आवश्यक छलफल गरी स्लाइड बनाउन थाल्यौं । बाँकी काम विहानै उठेर पूरा गरियो । चिया पिएर बेझाड बजार पुगियो । तन्नेरी भाइ सन्देश ढकालकहाँ पुगियो । उनका बाबा बेचन र आमाले स्वागतका साथ चिया पिलाए । सन्देशको मोटरमा तालपोखरा पुगियो । त्यही भेटिए वडा नम्बर ६ का वडाध्यक्ष दिवाकर देवकोटा र नगर गौशालाका अध्यक्ष हुमनाथ न्यौपानेसमेत । साथमा बासुदेव र सागर थिए । पर्यटन प्रवद्र्धनका लागि रामपुरमा बृहत् कार्यक्रम गर्ने सहमतिका साथ तालपोखरामा फोटो खिचेर बिदा भइयो । बाघको ढाँड र बुद्ध उद्यान हेरेर सन्देशकहाँ गाँस हाल्न पुगियो । स्वादिलो खानाले मुखै रसायो । पेट डम्मै भो ।

    चिया, कोदोरोटी, ट्वाक्कको अचार...........
    पृथ्वी टीभीमा उद्यानसम्बन्धि विषयमा केन्द्रीत रहेर अन्तर्वार्ता कृष्ण पौडेललाई दिइयो । गल्धाली होटलमा युवराजका आफन्ती भेट्यौं । रामपुरमा पुगेपछि रमालाई भेटियो । आफूले पढाएको विद्यार्थी शान्ति राउतलाई रामपुर बजारको ए टू जेड मोबाईल सेन्टरमा भेट्यौं । उनका श्रीमान शनि पाण्डेय र शान्तिले प्रविधिमैत्री व्यापार गरेको देख्दा खुसी लाग्यो । कोेदोको रोटी, स्वादिलो अचार र चियाले पेटै अघायो । स्नेहपूर्ण स्वागत र सम्मानसहितको खाजाले शान्तिको परिवारलाई बिर्सिन गारो बनायो ।

    साँझ ७ वजेदेखि भुजात गुरुङगाउँमा होमस्टेका बारेमा मैले र युवराजले प्रिजेन्टेसन गरियो । रामपुर नपाका प्रमुख प्रशासकीय अघिकृत पण्डित, प्रमुख अतिथि भए । वडाध्यक्षले आफ्नो गाउँमा होमस्टे सञ्चालन गर्ने रहर पूरा हुने कुरा स्वागत गर्ने बेला बताए । प्रमुख अतिथि सूर्यदर्शन पण्डितले आफ्नो पालिकाले होमस्टेलाई सक्दो सहयोग गर्ने र होमस्टे सञ्चालन भएमा पालिकाको नै गौरव बढ्ने बताएका थिए । पत्रकार महासंघ, पाल्पाकी उपसभापति बन्दना पोखरेलले भुजात गुरुङगाउँमा होमस्टे सञ्चालन भएमा व्यापक रुपले प्रचारप्रसार गर्ने, आफ्ना कार्यक्रमहरु समेत यही सञ्चालन गर्ने बताइन् । स्थानीय समाजसेवी फणेश्वर गौतमले गुरुङजातिलाई संरक्षण र गाउँमै बस्ने वातावरण गर्न होमस्टे जरुरी रहेको सुनाए ।

    होमस्टे सम्भव छ तर प्रतिवद्धताको खाँचो ............
    बाटो, बिजुली, पानी, सुरक्षा, सेवा, सुविधा, साँस्कृतिक कार्यक्रम र रैथाने खाना तथा उच्च स्वागत, सत्कार गर्ने संस्कार रहेको भुजात गुरुङगाउँमा होमस्टेको प्रचुर सम्भावना रहे तापनि स्थानीयहरुको रुची अनि प्रतिबद्धता पहिलो शर्त हुने र दोस्रो कुरा वडा र नगरपालिकाले अत्यावश्यक भौतिक पूर्वाधार तयार गर्ने संकल्प भएमा यसै आर्थिक वर्षभित्र होमस्टे सञ्चालन हुन सक्ने हामी दुवै प्रस्तोताको ठहर रहेको सुनायौं । औपचारिक कार्यक्रम समापनपछि रमाइलो साँस्कृतिक कार्यक्रम भो । खानपिनपछि रामपुर सन्देशकहाँ बास बस्न पुगियो । यसपाली बासुदेवको पिंढीको पाहुना बनेर दूध पिउन पाइएन । सागर देवकोटाको घरमा पाहुना बन्न सकिएन ।

    रामपुरबाट बुधवार बिहानै बेचन ढकालसँगै जीपमा फर्कियौं । बुटवल आउँदा रामपुर भुजात गुरुङगाउँको अपार माया बोकेर आइयो । ती गाउँका भाइबहिनीको स्नेहपूर्ण स्वागत, जिभ्रोमा नै झुण्डिने खाना, मनोरम तथा हरियाली गाउँ, शालीन साँस्कृतिक कार्यक्रमलाई आँखामा सजाएर, मनमा पोको पारेर फर्कियौं । फेरि कहिले फर्किने होला, भुजात गुरुङगाउँमा !