मंगलवार , जेठ १९, २०८३
बुटवल, १९ जेठ । नेपालको पर्यटन क्षेत्रमा रहेका समस्या समाधान गरी सो क्षेत्रलाई आर्थिक विकासको एक अधार बनाउनका लागि राज्यको नीति र कानूनी जटिलतालाई हटाउनुपर्नेमा जोड दिइएको छ । सैद्वान्तिक कुरा र प्रतिवेदनले मात्र पर्यटन क्षेत्रमा सुधार हुन नसक्ने बताउँदै कार्यान्वयन तहमा रहेका समस्याहरुको समाधान र समयसापेक्ष नीतिसँगै तीन तहका सरकारबीचको अधिकारको अस्पष्टता हटाउन आग्रह गरिएको छ ।
रुपन्देही उद्योग संघको आयोजना तथा बुटवल उपमहानगरपालिकाको सहयोगमा बुटवलमा सोमबार भएको रुपन्देहीको पर्यटन उद्योगका अवसर र चुनौती विषयक वृहत गोष्ठीमा राज्यकै कमजोरीले पर्यटन क्षेत्रबाट चाहेअनुसारको प्रतिफल आउन नसकेको औल्याइएको थियो ।
गोष्ठीमा बोल्ने वक्ताहरुले पर्यटन नीतिमा आमूल परिर्वतन गर्दै नेपालमा घुम्ने पर्यटकहरुको बसाई लम्ब्याउन सकेमात्र पर्यटनबाट राष्ट्रले लाभ लिन सक्ने दावी गरेका थिए । पर्यटक बसाई लम्ब्याउने गरी प्याकेज योजना र प्रचारमा जोड दिनुपर्ने उनीहरुले सरोकारवालाहरुलाई सुझाव दिएका छन् ।
गोष्ठीमा वक्ताहरुले रुपन्देही जिल्लामा पर्यटकहरुलाई भुलाउने र देखाउने क्षेत्र तथा सम्पदाहरु प्रशस्त रहेको भए पनि त्यसलाई विकाउन नसकेको बताए । नेपालका तराई क्षेत्रलाई रमाउने थलोका रुपमा विकास गर्दै पर्यटक बसाई लम्ब्याउने गरी लाग्नुपर्ने सुझाव दिए । हाल नेपालमा विदेशबाट आउने पर्यटकको बसाई औसत १६ दिनभन्दा बढी रहेको बेला लुम्बिनीमा भने केवल डेढ दिनमात्र रहेने गरेको भन्दै यसलाई लम्ब्याउने गरि योजना ल्याउनुपर्ने उनीहरुले सुझाव थियो ।
कार्यक्रमको एक समारोहकाबीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्दै रुपन्देहीको आर्थिक विकासमा पर्यटनको सम्भावना रहेको हुँदा त्यसमा निजी क्षेत्र लाग्न आग्रह गर्दै स्थानीय सरकार त्यसमा सहयोगी बन्ने प्रतिवद्धता जनाउनुभयो ।
बुद्ध जन्मस्थल लुम्बिनी, आदिमानव रामापिथेकस, सामरिक महत्वको जितगढी किल्लाजस्ता धेरै ऐतिहासिक, धार्मिक साँस्कृतिक महत्वका स्थलहरुलाई प्रचारप्रसार गर्दै पर्यटन आकर्षण गर्ने काममा सरोकारवाला निकायहरु लाग्नुपर्ने सुझाव दिदै त्यसमा निजी क्षेत्रको अग्रसरतामा जोड दिनुभयो ।
त्यस्तै उपमहानगरपालिकाको उपप्रमुख सावित्रा देवी अर्याल, देवदह नगरपालिकाका प्रमुख ध्रुव खरेलले बुद्ध परिपथलाई जोडेर पर्यटन योजना बनाउन सहकार्यको हात सधै अगाडी बढाउदै आएको धारणा राख्नुभयो ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका सिनियर म्यानेजर सुमन घिमिरे, अध्यता तथा प्राध्यापक युवराज कंडेल, लुम्बिनी विश्वविद्यालयका विभागीय प्रमुख डा.श्री प्रसाद भट्टराईले पर्यटन विकास सम्बन्धि छुट्टाछुटै अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा लुम्बिनीलाई शान्ति, ध्यान र आरोग्यको पर्यटकीय क्षेत्रका रुपमा विश्वभर परिचित गराउँदै रुपन्देही पर्यटनको गन्तब्य बनाउन जोड दिएका थिए । छलफलमा स्वदशी उत्पादनको प्रयोगमा जोड दिदै बुटवल ट्रान्जिट शहरका रुपमा विकास भएको हुँदा यहाको कल्चर बुझाउँदै त्यसलाई सदुपयोग गरेमा पर्यटक आर्कषक गर्न सकिने सम्भावना बताइएको थियो ।
रुपन्देहीको पर्यटन क्षेत्रको अवस्थाका बारेमा अवधारणा राख्दै लेखक युवराज कंडेलले पर्यटनको विकास गर्न सेवा र कथा जरुरी रहने बताउनुभयो । उहाँले पर्यटन सुचना केन्द्रको आवश्यकता रहेको र ब्यवसायिक संस्थाहरुबाट नै पर्यटनको विकासमा नया पुस्तालाई जोडेर अघि बढाउन जरुरी भएको सुझाव दिनु भयो ।
लुम्बिनी विश्वविद्यालयका विभागिय प्रमुख डा.श्री प्रसाद भट्टराईले पछिल्लो समयमा साँस्कृतिक धरोहरहरु मठमन्दिर लगायतका आस्थाका केन्द्रहरुको नक्कली बनाउने (डेष्टिनेशन डुब्लिकेशन) विषयले मौलिक पर्यटनको विकासमा दीर्घकालिन गम्भिर समस्या उत्पन्न हुने चेतावनी दिनुभयो । होटल व्यवस्थापन र टुरिजम अध्ययन गर्ने विद्यार्थीहरुलाई कक्षा कोठामा नभइ होटलमा नै व्यवहारिक ज्ञान दिनुपर्ने उहाँको जोड थियो ।
कार्यक्रमको दोस्रो सत्रमा नेपाल पर्यटन बोर्डका सिनियर म्यानेजर सुमन घिमिरे, पर्यटन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख नेत्र प्रसाद भुसाल, वरिष्ठ पर्यटन व्यवसायी माधव नेपाल, नाट्टा लुम्बिनी प्रदेशका पूर्वअध्यक्ष सागर अधिकारीसँग सामूहिक सम्वाद तथा अन्तरक्रिया गरिएको थियो । सो सम्वाद कार्यक्रम पत्रकार प्रदीप आचार्यले सञ्चालन गर्नुभएको थियो ।
नेपाल पर्यटन बोर्डका सिनियर म्यानेजर सुमन घिमिरेले पर्यटन विकासका लागि प्राथमिकतामा पूर्वाधार र यातायातमा जोड दिनुभयो । उहाँले लुम्बिनी आउने पर्यटकहरुलाई अन्य पर्यटकीय स्थलहरुमा घुमाउन सकेमात्र लाभ लिन सकिने धारणा राख्नुभयो ।
नाट्टा लुम्बिनी प्रदेशका पूर्व अध्यक्ष सागर अधिकारीले पर्यटन क्षेत्रमा निजी क्षेत्रबाट धेरै आशमा लगानी गरेको भए पनि त्यो सफलता हासिल नभएको बताउनुभयो । उहाँले सरकारी नीति र विधि पर्यटन विकासको बाधक भएको आरोप लगाउनुभयो । उहाँले अब मास टुरिजिन गर्ने कि लक्जरियस पर्यटक भित्राउने भन्ने छनौट गर्ने बेला आएको बताउनुभयो ।
पर्यटन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख नेत्र प्रसाद भुसालले आफूले नेतृत्व गरेको कार्यालय पर्यटकीय पूर्वाधार विकाससँग जोडिएको कार्यालय भएको हुदा उद्योग दर्ता, नवीकरण जस्ता कामहरु गर्ने, धार्मिक र साँस्कृतिक पूर्वाधारमा काम गर्दै आएको बताउनुभयो ।
पर्यटन व्यवसायी माधव नेपालले पर्यटन क्षेत्रको विकासका बारेमा सधै सैद्वान्तिक कुराहरु मात्र गर्दै आए पनि अब परिणामसहितको काम आवश्यक भएको बताउनुभयो । नेपालले पर्यटन क्षेत्रमा नीजि व्यवसायीहरुलाई काम गर्न निकै ग्राहोे अवस्था रहेको बताउँदै जबसम्म पर्यटनमा नीतिगत रुपमा आमुल परिर्वतन हुँदैन तबसम्म यस्ता छलफल प्रतिवेदनमा मात्र सीमित हुने भन्दै उहाँले टिप्पणी गर्नुभयो ।
संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीको अध्यक्षता, संघका महासचिव सुमन बस्यालको सञ्चालनमा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष जिवकान्त काफ्लेले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
