सोमवार , मंसिर १४, २०८३
काठमाडौं, १३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सांसद ज्ञानु पौड्यालले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी कानूनलाई पीडितमैत्री, समावेशी र प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि सरोकारवालाबीच आयोजित ‘हेलो सांसद’ अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विधेयकलाई अन्तिम रूप दिनुअघि पीडित, अधिकारकर्मी, नागरिक समाज तथा सम्बन्धित संस्थाका सुझाव समेट्नुपर्नेमा जोड दिनुभयो ।
विधेयकको मस्यौदा तयार गर्नुअघि मन्त्रालयले विभिन्न पक्षसँग सुझाव संकलन गरेको र संसद्मा प्रस्तुत भएपछि सैद्वान्तिक छलफल तथा संशोधन प्रस्ताव आएको उहाँले जानकारी दिनुभयो । हाल विधेयक संसदीय समितिमा दफावार छलफलको क्रममा रहेको उहाँको भनाइ छ ।
सांसद पौड्यालले देशभित्रै हुने मानव बेचबिखन तथा शोषणका घटनालाई पनि कानुनी परिभाषामा स्पष्ट रूपमा समेट्नुपर्ने बताउनुभयो। मानव बेचबिखनलाई विदेशमा हुने कारोबारका रूपमा मात्र बुझ्ने परम्परागत सोच परिवर्तन गर्न आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।
त्यस्तै पीडितले उजुरी दिने प्रक्रियालाई सहज र सुरक्षित बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । उजुरीकर्ताको गोपनीयता, सुरक्षा र संरक्षण सुनिश्चित गर्दै प्रहरीमा मात्र नभइ राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोगलगायत सम्बन्धित निकायमासमेत उजुरी दिन सक्ने व्यवस्था गर्नुपर्ने उहाँको धारणा छ । ‘न्यायका लागि अगाडि आउने पीडितका लागि राज्यले खुला ढोका राख्नुपर्छ । उजुरी दिने निकायलाई सीमित गर्दा पीडितलाई थप कठिनाइ हुन सक्छ,’ उहाँले भन्नुभयो ।
सांसद पौड्यालले विधेयकमा लैङ्गिकमैत्री भाषा प्रयोग गर्दै लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको पहिचान र अधिकारलाई समेत सम्बोधन गर्नुपर्ने बताउनुभयो । छोरा–छोरीको सट्टा ‘सन्तान’ जस्ता समावेशी शब्द प्रयोग गर्ने विषयमा पनि छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबीच जिम्मेवारीको स्पष्ट बाँडफाँट आवश्यक रहेको उहाँले बताउनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij