आइतवार , मंसिर १३, २०८३
भैरहवा, १३ मंसिर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साहले सरकार मुलुकमा लगानीको वातावरण बनाउन तत्पर रहेको बताउनुभएको छ । उहाँले उद्योगी–व्यवसायीको साथ पनि सरकारले खोजिरहेको बताउनुभयो ।
शनिबार भैरहवामा चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को १९ औं वार्षिक साधारण सभाको उद्घाटन गर्नुहुँदै मन्त्री साहले वर्तमान सरकार सोहीअनुसार अघि बढिरहेको बताउनुभयो ।
‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहले आफूलाई मन्त्री बनाउने बेला एउटै कुरो भन्नुभएको थियो–त्यो सम्झिन्छु र त्यही कारणले आज म यहाँ उपस्थिति भएको छु । उहाँ दुवैजनाको एउटै भनाइ थियो ः तपाईले उद्योगी–व्यवसायीको मन जित्नुस् र ९६ खर्ब जुन राष्ट्र बैंकमा थुप्रिएको छ, जसको ब्याज मात्र सरकारले लिनुपरेको छ । त्यो रकम उद्योग–व्यवसायमा कसरी चलायमान बनाउने, त्यसको लागि तपाईले काम गर्नुस् भनेर उहाँहरुले जिम्मा दिनुभएको छ, त्यसको लागि २४ सै घण्टा खटेको छु, ’मन्त्री साहले भन्नुभयो ।
उहाँले उद्योग विभागमा एकद्वार प्रणालीलाई सशक्त बनाउन लागिपरेको बताउनुभयो । उहाँले उद्योग मन्त्रालयलाई आफ्नै घर सम्झिन आग्रह गर्नुभयो । ‘हरेस खानुहुँदैन, मैले कहिल्यै सोचेको थिइँन, म सांसदको उम्मेदवार हुन्छु, ’मन्त्री बन्छु, ’उहाँले भन्नुभयो ।
उहाँले आफ्नो पारिवारिक पेशा नै व्यवसाय भएको र पढाइको पेशा इन्जिनियरिङ÷औद्योगिक क्षेत्र भएकोले उद्योगी–व्यवसायीको अथाह माया भएको बताउनुभयो । मञ्चमा मात्र भाषण गर्नुभन्दा बसेर समस्या समाधानका लागि चिन्तित हुनुपर्ने उहाँको भनाइ थियो ।
यसपटक दशैं–तिहारमा कुनै उद्योगीलाई पक्राउ नगरिएको उहाँले बताउनुभयो । तर, कारवाही भने अन्य वर्षभन्दा धेरै भएको उहाँले जानकारी दिनुभयो । आफू मन्त्री बनेको १७ दिनमा साल्ट टे«डिङले ३ लाख जरिवाना तिरेको उहाँले बताउनुभयो । ‘एकीकृत भन्सार जाँच चौकी (आईसीपी) कसरी छिटो सञ्चालन गर्न सकिन्छ, त्यसका लागि एक्शन प्लान मागेका छौं, हस्तकला दिवस मंसिर २८ गते मनाउनका लागि गृह मन्त्रालयमा पत्राचार गरेका छौं, ’उहाँले भन्नुभयो ।
त्यस्तै प्रतिनिधि सभा सदस्य डा.लेखजंग थापाले आयात कि निर्यात गर्ने उद्योग खोल्ने भन्ने विषयमा गहन छलफल हुन आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले निर्यातमुखी उद्योगको प्रवद्र्धन गर्ने खालको नीति ल्याउनुपर्ने बताउनुभयो ।
लुम्बिनी प्रदेशका शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री सन्तोष कुमार पाण्डेयले लुम्बिनी प्रदेश सरकार सधै केन्द्र सरकारको साथमा रहेको बताउनुभयो । उहाँले पर्यटनका माध्यमबाट मात्रै मुलुकमा आर्थिक समृद्धि हुने बताउनुभयो ।
नेपाल चेम्बर अफ कमर्स, लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणमा अर्थतन्त्रका विषय केन्द्रमा आउँदा खुसी भएको बताउनुभयो । उहाँले अर्थतन्त्र ‘कर्नर’ मा परेर प्राप्त लोकतन्त्रले सार्थकता नपाउने र आम नागरिकले अनुुभुति गर्ने वातावरण बन्न नसक्ने बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले उद्योगको विकास र व्यवसायको प्रवद्र्धन नभएसम्म देशको आर्थिक अवस्था राम्रो हुन नसक्ने बताउनुभयो । उहाँले विशेष आर्थिक क्षेत्र (सेज) मा भएका अव्यवहारिक ऐनलाई संशोधन गर्नुपर्नेमा जोड दिनुभयो ।
चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष सचिन रोक्काले निजी क्षेत्र आर्थिक विकास, रोजगारी सिर्जना, राजस्व परिचालन र उत्पादन विस्तारको प्रमुख साझेदार भएको बताउनुभयो । उहाँले निजी क्षेत्रको मनोबल उच्च राख्ने, लगानी सुरक्षित गर्ने र उत्पादन तथा व्यापारलाई प्रतिष्पर्धी बनाउनुपर्ने बताउनुभयो ।
संस्थाका पूर्वअध्यक्ष नारायण प्रसाद भण्डारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा निजी क्षेत्र निराश भएकाले चाँडोभन्दा चाँडो अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले खुल्ला मनले लगानी गर्ने गरी सन्देश दिन सरकारलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा चेम्बर अफ कमर्स, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष राम मिलन यादव, वाणिज्य उपाध्यक्ष सुरेन्द्र पाण्डेय, महासचिव लक्ष्मी अधिकारीलगायतले बोल्नुभएको थियो । कार्यक्रममा संस्थामा नयाँ आजीवन सदस्यता लिएका सदस्यहरुलाई सम्मान गरिएको कोषाध्यक्ष धिरज कुमार मल्लिकले बताउनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij