मंगलवार , जेठ १९, २०८३
धनुषा, १९ जेठ । होटल पौवाले १९ औं शाखा जनकपुरधाममा सञ्चालनमा ल्याएको छ । पौवाले सोमबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी नयाँ शाखा सञ्चालनमा ल्याएको जानकारी गराएको हो ।
मिथिला सभ्यता, संस्कृति तथा धार्मिक आस्थाको केन्द्र जनकपुरधाममा स्थापित यस होटलको औपचारिक उद्घाटन यही जेठ २२ गते हुँदैछ । उद्घाटनको अवसरमा होटल पौवाले तीनदिने ‘वृहत् खाना प्रवद्र्धन’ आयोजना गर्दैछ ।
कार्यक्रममा पौवाका विभिन्न सञ्जालमा कार्यरत अनुभवी सेफहरूले तयार गरेका विविध नेपाली तथा अन्तर्राष्ट्रिय परिकारहरूको विशेष प्रदर्शनी हुने उपाध्यक्ष ध्रुवराज न्यौपानेले बताउनुभयो ।
‘जनकपुरमा पौवाको चारतारे विस्तार यात्रा अर्को महत्वपूर्ण उपलब्धी हो । जनकपुरधाम धार्मिक, साँस्कृतिक तथा आध्यात्मिक दृष्टिले नेपालको एक पवित्र प्रमुख गन्तव्य हो । नेपाल–भारत धार्मिक सम्बन्ध र आस्थाको केन्द्रका रूपमा रहेको यस शहरमा होटल पौवाको उपस्थितिले धार्मिक, आध्यात्मिक एवं आन्तरिक पर्यटन, रोजगार र समग्र आतिथ्य उद्योगको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौं, ’न्यौपानेले भन्नुभयो ।
उहाँका अनुसार होटलमा फरकफरक सुविधाले सुसज्जित ६२ वटा कोठा रहेका छन् । चारतारेस्तरमा हुनुपर्ने सबै सुविधा (स्विमिङ पुल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेमिनार हलहरु, रेष्टुरेण्ट, जीम, साउना स्टिम र स्पा सुविधासहितको पूर्वाधार सञ्चालनमा आइसकेका छन् । होटलले नेपाली स्वाद, नेपाली संस्कार र अन्तर्राष्ट्रियस्तरको आतिथ्य सेवा २४ सै घण्टा प्रदान गर्ने लक्ष्य राखेको उपाध्यक्ष न्यौपानेले बताउनुभयो ।
उद्घाटन समारोह तथा बृहत् खाना प्रवद्र्धन कार्यक्रममा मधेश प्रदेशका आठवटै जिल्लाका उद्योगी, व्यवसायी, पर्यटनकर्मी, सञ्चारकर्मी तथा विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने अपेक्षा छ । नेपाली स्वाद, नेपालीपन र आत्मीय आतिथ्यलाई अझ व्यापक रूपमा प्रवद्र्धन गर्ने अभियानमा पौवा रहेको छ ।
चुनौतीपूर्ण आर्थिक तथा लगानी वातावरणका बीच पनि होटल पौवाले देशव्यापी रूपमा आफ्नो सेवा विस्तार गरिरहेको छ । रुपन्देहीबाट सुरु भएको यात्रा आज जनकपुरधामसम्म आइपुग्दा पौवा नेपाली आतिथ्य उद्योगको स्थापित राष्ट्रिय ब्राण्डका रूपमा विकास भएको अध्यक्ष दुर्गा प्रसाद भण्डारीले बताउनुभयो ।
हाल होटल पौवाका शाखाहरू भैरहवा, बुटवल, गोरुसिंगे, भालुवाङ, लमही, घोराही, जुम्ला, तानसेन, धनगढी, पोखरा, काठमाडौं, मुलकोट, कालिञ्चोक लगायत विभिन्न स्थानमा सञ्चालनमा छन् । साथै नेपालगञ्जमा पाँचतारे होटल तथा पाल्पाको झिंगामारामा लक्जरी रिसोर्ट निर्माणाधीन अवस्थामा रहेका छन् । गत वैशाखबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि चारतारेस्तरको होटल सञ्चालनमा ल्याएको छ ।
‘देशभर प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी सिर्जना गर्दै आएको होटल पौवा नेपालकै सफल सामूहिक लगानी मोडल हो, जहाँ लगानीकर्ता र कर्मचारी दुवै संस्थाको विकास यात्राका साझेदार बनेका छन् । कर्मचारीहरुलाई लगानीकर्ता बन्ने अवसर प्रदान गर्दै हामीले ‘साझा स्वामित्व, साझा सफलता’ को अवधारणालाई व्यवहारमा उतारेका छौं, ’अध्यक्ष भण्डारीले बताउनुभयो ।
जनकपुरधाम, लुम्बिनी, मुक्तिनाथ, पशुपतिनाथ तथा अन्य धार्मिक एवं सांस्कृतिक गन्तव्यहरूलाई समेट्ने यात्रामा होटल पौवा भारतीय तथा नेपाली पर्यटकका लागि विश्वसनीय आतिथ्य साझेदारका रूपमा स्थापित हुँदै गएको छ । एकीकृत ब्राण्ड अन्तर्गत गुणस्तरीयता, स्वच्छता र सेवा मापदण्ड कायम राख्दै पौवाले पाहुनाहरूलाई सुरक्षित, सहज, अविश्मरणीय र आत्मीय अनुभव प्रदान गरिरहेको छ ।
नेपाली स्वाद, नेपाली संस्कार र नेपाली आतिथ्यतालाई विश्वस्तरमा स्थापित गर्ने दीर्घकालीन लक्ष्यसहित आगामी दशकमा ‘मिसन १००’ अन्तर्गत देश तथा विदेशमा आफ्नो उपस्थिति विस्तार गर्ने रणनीतिमा अघि बढिरहेको प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बताउनुभयो । ’तीव्र विकासको लक्ष्य प्राप्तिका लागि सामुहिक लगानी मोडालिटी तयारी गरेका छौं । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने प्रतिबद्धतासहित पौवा नेपाली आतिथ्य सेवालाई नयाँ उचाइमा पुर्याउने यात्रामा निरन्तर अग्रसर रहनेछ, ’उहाँले भन्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
