सोमवार , मंसिर १४, २०८३
लुम्बिनी, १३ मंसिर । लुम्बिनी बौद्ध विश्वविद्यालयको चौथो दीक्षान्त समारोह सोमबार लुम्बिनीमा हुँदैछ । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजना हुने समारोहमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा ६ सय ३६ जना विद्यार्थी दीक्षित हुनेछन् । दीक्षान्त समारोहमा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने १० जना विद्यार्थीलाई स्वर्ण पदकबाट विभूषित गरिने विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयका अनुसार दीक्षान्त समारोहमा स्नातक र स्नातकोत्तर तहका विभिन्न १९ वटा शैक्षिक कार्यक्रमका विद्यार्थी सहभागी हुनेछन् । स्नातक तहका पाँच कार्यक्रमबाट २५२ जना र स्नातकोत्तर तहका १४ कार्यक्रमबाट ३७४ जना विद्यार्थी दीक्षित हुनेछन्। विद्यावारिधितर्फ ७ जना दीक्षित हुने कार्यक्रम छ ।
स्नातक तहअन्तर्गत ब्याचलर अफ आट्र्स ब्याचलर अफ ल (बीएएलएलबी) कार्यक्रममा सबैभन्दा धेरै १४२ जना विद्यार्थी दीक्षित हुँदैछन् । त्यसै गरी ट्राभल एन्ड टुरिजम म्यानेजमेन्टमा ६९, भोट बुद्धिस्ट स्टडिजमा २६, रुरल डेभलपमेन्टमा १२ तथा सोवा रिग्पा मेडिसिन एन्ड सर्जरीमा तीनजना विद्यार्थी दीक्षित हुनेछन् ।
त्यस्तै स्नातकोत्तर तहअन्तर्गत कन्स्ट्रक्सन इन्जिनियरिङ एन्ड म्यानेजमेन्टमा सबैभन्दा धेरै १४५ जना विद्यार्थी दीक्षित हुनेछन् । डिजास्टर रिस्क इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा ७३, एप्लाइड बुद्धिज्ममा ३९, थेरवाद बुद्धिज्ममा ३८, महायान बुद्धिज्ममा १५, बुद्धिज्म एण्ड हिमालयन स्टडिजमा १४ तथा इन्टरनेशनल रिलेसन्स एन्ड पिस स्टडिजमा १३ जना विद्यार्थी दीक्षित हुनेछन् ।
त्यसै गरी पाली बुद्धिस्ट स्टडिज, बुद्धिज्म एन्ड पिस स्टडिज र म्युजियोलोजी एन्ड बुद्धिस्ट कलेक्सन्समा आठ–आठ जना, बुद्धिस्ट स्टडिजमा ६ जना, बुद्धिज्म एण्ड सस्टेनेबल डेभलपमेन्टमा तीनजना, भोट बुद्धिस्ट स्टडिजमा दुइजना तथा आर्कियोलोजी एण्ड बुद्धिस्ट आर्कियोलोजिकल साइट्समा दुईजना विद्यार्थी दीक्षित हुने विश्वविद्यालयको विवरणमा उल्लेख छ ।
विश्वविद्यालयका परीक्षा नियन्त्रक डा. शारदा पौडेलले दीक्षान्त समारोहका लागि आवश्यक शैक्षिक तथा प्रशासनिक तयारी पूरा भएको बताउनुभयो । उहाँले विद्यार्थीहरूको शैक्षिक उपलब्धिलाई सम्मान गर्दै दीक्षान्त समारोहलाई व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्ने गरी विश्वविद्यालयले आवश्यक काम सम्पन्न गरेको बताउनुभयो । ‘दीक्षान्त समारोह विद्यार्थीहरूको वर्षौंको मेहनत, लगनशीलता र शैक्षिक यात्राको महत्वपूर्ण उपलब्धी हो । यसलाई व्यवस्थित रूपमा सम्पन्न गर्न परीक्षा कार्यालयले आवश्यक तयारी पूरा गरेको छ, उहाँले भन्नुभयो–‘उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई स्वर्ण पदकबाट सम्मानित गर्नु विश्वविद्यालयका लागि पनि गौरवको विषय हो ।’
विश्वविद्यालयका सहायक निर्देशक एवं सूचना अधिकारी चुरामणि पोखरेलले चौथो दीक्षान्त समारोहलाई विश्वविद्यालयको शैक्षिक विकास र उपलब्धि सार्वजनिक गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको बताउनुभयो । ‘लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभइ विश्व शान्ति, करुणा र मानवताको सन्देश प्रवाह गर्ने अन्तर्राष्ट्रिय महत्वको स्थल हो । यही पवित्र भूमिमा स्थापित लुम्बिनी बौद्ध विश्वविद्यालयले बौद्ध दर्शनसँगै आधुनिक विषय र व्यवहारिक शिक्षालाई जोड्दै उच्च शिक्षाको दायरा विस्तार गरिरहेको छ, उहाँले भन्नुभयो–‘चौथो दीक्षान्त समारोहले विश्वविद्यालयको शैक्षिक पहिचान र उपलब्धिलाई थप उजागर गर्ने विश्वास लिएका छौं ।
लुम्बिनी बौद्ध विश्वविद्यालय नेपालको उच्च शिक्षाको क्षेत्रमा बौद्ध दर्शन, साहित्य, संस्कृति र शिक्षाको अध्ययन, अनुसन्धान तथा प्रवद्र्धन गर्ने विशिष्ट शैक्षिक संस्थाका रूपमा स्थापित छ ।
सन् २००४ मा स्थापना प्रक्रियाको सुरुवात भएको विश्वविद्यालयले सन् २००६ मा ऐनमार्फत संस्थागत स्वरूप प्राप्त गरेको हो । बुद्धको जन्मस्थल लुम्बिनीमा स्थापित यस विश्वविद्यालयले बौद्ध शिक्षालाई आधुनिक ज्ञान, विज्ञान र अनुसन्धानसँग जोड्ने उद्देश्य राखेको छ ।
विश्वविद्यालयले बौद्ध अध्ययनमा मात्र सीमित नभई कानुन, इन्जिनियरिङ, पर्यटन व्यवस्थापन, अन्तर्राष्ट्रिय सम्बन्ध, शान्ति अध्ययन, विकास अध्ययन तथा सोवा रिग्पाजस्ता विविध विषयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसले परम्परागत बौद्ध ज्ञान र आधुनिक उच्च शिक्षाबीचको सम्बन्धलाई फराकिलो बनाउँदै लगेको छ ।
विश्वविद्यालयका केन्द्रीय तथा सिटी क्याम्पससहित विभिन्न आंगिक र सम्बन्धनप्राप्त शैक्षिक संस्थामार्फत शैक्षिक गतिविधि विस्तार हुँदै आएको छ । बौद्ध दर्शन र संस्कृतिको अन्तर्राष्ट्रिय महत्वलाई ध्यानमा राख्दै विश्वविद्यालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक समुदायसँग सहकार्य र अनुसन्धानका अवसरलाई समेत प्राथमिकता दिँदै आएको छ ।
चौथो दीक्षान्त समारोहले विश्वविद्यालयबाट विभिन्न विधामा उच्च शिक्षा हासिल गरेका विद्यार्थीलाई औपचारिक रूपमा उपाधि प्रदान गर्नुका साथै लुम्बिनीलाई अन्तर्राष्ट्रिय शैक्षिक तथा बौद्ध अध्ययनको केन्द्रका रूपमा स्थापित गर्ने अभियानलाई थप बल पु¥याउने अपेक्षा गरिएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij