२०८२, फाल्गुण १७ गते

Mar 01 2026 | २०८२, फाल्गुण १७ गते

रोहिणी–१ मा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन

बिहिवार , माघ १, २०८२

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • भैरहवा, १ माघ । रुपन्देहीको रोहिणी गाउँपालिका १ नम्बर वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । बगहामा निर्मित भवनको बुधबार गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले उद्घाटन गर्नुभएको हो ।

    वडा सचिव राजकुमार मिश्रका अनुसार भवन ६३ लाख ९९ हजार ९ सय ७८ रुपैयाँको लागतमा निर्माण भएको हो । भवन तोकिएकै समयमा नै निर्माणसम्पन्न भएको मिश्रले जानकारी दिनुभयो । उद्घाटन भएसँगै पुरानो तथा जीर्ण भवनबाट नागरिकलाई सेवा प्रवाह हुँदै आएकोमा अब भने सेवा सुविधासम्पन्न भवनबाट हुने भएको छ ।

    rohini-1.jpg

    भवन उद्घाटन समारोहमा बोल्नुहुँदै अध्यक्ष यादवले वडा कार्यालय भवन निर्माण हुनु ठूलो उपलब्धी भएको बताउनुभयो । उहाँले विगत र अहिलेको भवनको भिन्नताबारे वडाबासीलाई राम्रोसँग जानकारी रहेको बताउनुभयो । ‘यो भवन सम्पूर्ण जनताको लागि हो, ’उहाँले भन्नुभयो–‘भौतिक पूर्वाधारसँगै शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर गाउँपालिका अघि बढेको छ ।’

    त्यस्तै गाउँपालिकाको उपाध्यक्ष शिवकान्ती हरिजनले यसअघि वडा नम्बर ६ मा वडा कार्यालय भवनको उद्घाटन भइसकेको बताउनुभयो । उहाँले विकास निर्माण कार्यलाई अघि बढाउन सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो ।

    प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर बस्नेतले नयाँ प्रशासनिक भवनबाट नयाँ तरिकाले नागरिकलाई सेवा प्रदान गर्नुपर्ने बताउनुभयो । उहाँले जनताको मन जित्ने गरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।

    वडा नम्बर १ का वडाअध्यक्ष आविद अली पठानले विकास निर्माणका कार्यले गति पाएको बताउनुभयो । उहाँले शिक्षा क्षेत्रलाई वडा कार्यालयले पनि विशेष प्राथमिकता दिएको बताउनुभयो ।

    गाउँपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत (हाल सरावल गाउँपालिका, पश्चिम नवलपरासी)का प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमले पहिलोपटक आफू वडा कार्यालयमा आउँदा भवन जीर्ण देखेपछि तत्काल नयाँ भवन बनाउनुपर्ने कुरा राखेको बताउनुभयो । उहाँले भवन निर्माणमा साथ र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो ।

    sskoo.jpg

    रोहिणी गाउँपालिका–२ का वडाअध्यक्ष करम हुसेन खाँले सबैको प्रयासले वडा कार्यालय भवन निर्माणसम्पन्न भएको बताउनुभयो।

    रोहिणी–१ का वडा सदस्य मोहम्मद अमिन खाँले रोहिणी गाउँपालिका वडा नम्बर १ का बडाबासीका लागि आज महत्वपूर्ण दिन भएको बताउनुभयो ।

    कार्यक्रममा बगहा स्वास्थ्य चौकीका इञ्चार्ज बुद्धि प्रसाद पन्थ, पूर्व गाविस उपाध्यक्ष सैयद अलीलगायतले बोल्नुभएको थियो ।

    कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

    sakkks.jpg

    रोहिणी गाउँपालिकामा ७ वटा वडाहरु छन् ।