२०८२, पौष २५ गते

Jan 09 2026 | २०८२, पौष २५ गते

तीन पुस्ताबीचको फरक: हिजो, आज र हामी

बिहिवार , पौष २४, २०८२

  • 445
    Shares
  • 445
    Shares
  • समय बदलिएको छ । तर, समयसँगै बदलिनुपर्ने सोच सबै ठाउँमा बदलिएको छैन । जब एउटै ठाउँमा हजुरबुवा, बाबुआमा र हाम्रो पुस्ता उभिन्छ, त्यहाँ केवल उमेरको अन्तर देखिँदैन, त्यहाँ तीन फरक युगका अनुभव, पीडा र विश्वासहरू ठोक्किएका हुन्छन् । हिजो अस्पतालको प्रतिक्षालयमा बसेर तीन पुस्ता हजुरबुवा, बाबुआमा र हामी बीच भइरहेको संवादले एउटा गहिरो प्रश्न छोडेर गयो । ‘पहिला नै सबै ठीक थियो, अहिले केही पनि राम्रो छैन ।’ यो भनाइ केवल असन्तोषको अभिव्यक्ति होइन, यो पुस्ताबीचको बुझाइको गहिरो खाडलको संकेत हो ।

    हजुरबुवाको पुस्ता अभाव, सीमित विकल्प, मौन स्वीकार र अन्धविश्वासको संरचनाभित्र हुर्किएको पुस्ता हो । त्यो समय शिक्षा अधिकार होइन, भाग्य थियो । छोरीलाई पढाउनु अनावश्यक ठानिन्थ्यो, किनकी उसलाई अन्ततः पराई घर जाने प्राणीको रूपमा हेरिन्थ्यो । छोरा भने वंशको निरन्तरता, सामाजिक हैसियत र बुढेसकालको बीमा मानिन्थ्यो । यही सोचले छोरा–छोरीबीचको विभेदलाई सामाजिक मान्यता दियो । महिनावारीलाई अपवित्रताको प्रतीक बनाएर छोरीलाई गोठमा सुताउने, समाजबाट अलग्याउने छाउपडी जस्ता प्रथाहरू धर्म र संस्कारको खोल ओढेर संस्थागत भए । त्यो पुस्ताका मानिस निर्दयी थिएनन् । तर, उनीहरू प्रश्न नगर्ने संस्कारका कैदी थिए ।

    त्यसै पुस्तामा परिवार नियोजन भन्ने अवधारणा नै थिएन । सन्तान धेरै हुनु ईश्वरको देन र परिवारको बल मानिन्थ्यो । ‘धेरै छोरा भए घर बलियो हुन्छ’ भन्ने सोचले परिवारहरू अस्वभाविक रूपमा ठूलो बने । तर, सन्तानको संख्या बढ्दै जाँदा सबैलाई समान माया, समय, शिक्षा र हेरचाह दिन व्यवहारिक रूपमा असम्भवजस्तै भयो । यसले धेरै बालबालिकालाई, विशेषत ः छोरीहरूलाई, भावनात्मक र शैक्षिक रूपमा उपेक्षित बनायो । यो अवस्था दुर्भावनाबाट होइन, चेतनाको अभाव र समयको सीमाबाट उत्पन्न भएको यथार्थ थियो ।

    हजुरबुवाको पुस्ताको जीवन प्रकृतिसँग नजिक थियो । खाना शुद्ध थियो, खेतबारी र माटोसँगको सम्बन्ध जीवित थियो । तर, स्वास्थ्य सेवा लगभग अनुपस्थित थियो । अस्पताल थिएनन्, वैज्ञानिक उपचारको पहुँच थिएन । सामान्य चोटपटक पनि ज्यान जान सक्ने अवस्थामा परिणत हुन्थ्यो । जीवन बाहिरबाट सरल देखिए पनि भित्रभित्रै असुरक्षित र कठोर थियो ।

    बाबुआमाको पुस्ता परिवर्तनको दबाबमा जन्मिएको पुस्ता हो । परम्पराले बाँधेको हात र आधुनिकताले तानेको मनबीच उनीहरू जीवनभर अड्किए । शिक्षा विस्तार हुन थाल्यो । तर, सोच पुरै रूपान्तरण हुन सकेन । छोरी पढ्न थालिन् । तर, घरको काम र सामाजिक जिम्मेवारी अझै उसैको काँधमा थोपारियो । परिवार नियोजनको चेतना यही पुस्ताको जीवनसँगै समाजमा प्रवेश गर्यो । तर, उनीहरू आफैं त्यो चेतनाका प्रारम्भिक प्रयोगकर्ता मात्र थिए, त्यसका निर्माता होइनन् । यो पुस्ताले धेरै त्याग गर्यो । धेरै सह्यो, तर आफ्ना मानसिक पीडा व्यक्त गर्ने सामाजिक ठाउँ पाएन ।

    हाम्रो पुस्ता सुविधाको चरम अवस्थामा जन्मिएको छ । शिक्षा, अस्पताल, प्रविधि र सूचना हाम्रो पहुँचमा छन् । आज रोग लागे उपचार सम्भव छ, जीवन बच्ने सम्भावना धेरै छ । प्रविधिले चिठ्ठीको प्रतीक्षालाई भिडियो कलले विस्थापित गरेको छ, दूरी घटाएको छ । तर, यही सुविधाले मानिसलाई भौतिक रूपमा नजिक र भावनात्मक रूपमा टाढा बनाइरहेको छ । हामी सधैं कनेक्टेड छौं, तर गहिरो एक्लोपन बोकेर बाँचिरहेका छौं ।

    आज कानूनी रूपमा छोरा र छोरी बराबर छन् । अधिकार, समानता र स्वतन्त्रताका शब्दहरू प्रशस्त छन् । तर, व्यवहारमा विभेद अझै पूर्ण रूपमा समाप्त भएको छैन । खाना सजिलै उपलब्ध छ, तर रासायनिक र प्रशोधित खानाले स्वास्थ्यमा नयाँ संकट जन्माइरहेको छ । मानसिक स्वास्थ्य आजको पुस्ताको सबैभन्दा गम्भीर चुनौती बनेको छ । हामीसँग जानकारी अत्यधिक छ, तर धैर्यता कम छ । सुविधा धेरै छ, तर सन्तोष क्षीण हुँदै गएको छ ।

    त्यसैले ‘पहिला नै राम्रो थियो’ भन्ने भनाइ वास्तवमा त्यो समयको युवावस्था, सादगी र सामूहिक जीवनप्रतिको स्मृतिको अभिव्यक्ति हो । तर, त्यही समयमा रहेको छोरीमाथिको अन्याय, अन्धविश्वास, उपचारको अभाव र मौन पीडालाई बिर्सनु ऐतिहासिक अन्याय हुनेछ । आजको पुस्ताले अधिकार र सुविधा पाएको छ । तर, त्यसको मूल्य मानसिक थकान, अस्थिरता र भावनात्मक रिक्तताका रूपमा तिरिरहेको छ ।

    निष्कर्ष स्पष्ट छ । न त हिजो पूर्ण रूपमा सही थियो, न त आज पूर्ण रूपमा गलत छ । हिजोबाट हामीले शुद्धता, धैर्यता र समुदायको भावना सिक्नुपर्छ । आजबाट हामीले समानता, वैज्ञानिक सोच, मानसिक स्वास्थ्यको महत्व र जिम्मेवार स्वतन्त्रता अंगाल्नुपर्छ । समय दोषी होइन । दोष हाम्रो हो यदि हामीले हिजोका गल्ती स्वीकार्न र आजका अवसरलाई मानवीय समवेदनासहित प्रयोग गर्न असफल भयौं भने । तीन पुस्ताबीचको दूरी तब मात्र घट्नेछ, जब तुलना होइन, संवाद हाम्रो प्राथमिकता बन्नेछ ।