२०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

‘खेलमा हार कहिल्यै हुँदैन’

आइतवार , जेठ १०, २०८३

  • 931
    Shares
  • 931
    Shares
  • भैरहवा, १० जेठ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले खेलमा कहिल्यै हार नहुने बताउनुभएको छ । उहाँले खेलमा जीत वा सिक हुने बताउनुभयो ।

    रुपन्देही क्रिकेट संघद्वारा भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा आयोजित पञ्चकन्या रुपन्देही सुपर लिग २०८२/८३ को समापन समारोहमा उपप्रमुख अधिकारीले यस्तो बताउनुभएको हो । ’क्रिकेट खेलमा विभिन्न विधा हुन्छ, कोही बलिङमा राम्रो हुन्छ, कोही ब्याटिङमा र कोही फिल्डिङमा, ’उहाँले भन्नुभयो ।

    रुपन्देही क्रिकेट संघको टीमले गरेको कार्य प्रशंसनीय रहेको उहाँले बताउनुभयो । यो सिद्धार्थ क्रिकेट रंगशाला यहाँसम्म आइपुगेको छ । यहाँ खेललाई धेरैले माया गर्नुहुन्छ । नगरपालिकाले सहकार्य र हातेमालो गर्दै अघि बढिरहेको उहाँको भनाइ छ ।

    त्यस्तै सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका पूर्वअध्यक्ष विष्ण प्रसाद शर्माले भैरहवालाई क्रिकेटको शहर र रुपन्देहीलाई क्रिकेटको जिल्लाको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । ‘क्रिकेट खेलमा सहयोग गर्नुपर्छ । सहयोग गर्न कन्जुस्याई गर्नुहुँदैन । आज उद्योगी–व्यवसायीले खेलमा लगानी गर्दा भोली प्रतिफल पाइन्छ, ’उहाँले भन्नुभयो । खेलकुदमा विकास, अनुशासन र गतिशीलता आवश्यक रहेको उहाँको भनाइ छ ।

    कार्यक्रममा रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापा, प्रतियोगिताका संयोजक तथा संघका कार्यसमिति सदस्य प्रथम पराजुली लगायतले बोल्नुभएको थियो ।

    यसैबीच ‘पञ्चकन्या रुपन्देही सुपर लिग’ को उपाधि वेष्टर्न क्रिकेट क्लब, बुटवलले जितेको छ । शनिबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको फाइनल खेलमा लुम्बिनी खुकुरी क्लब, भैरहवालाई ४५ रनले पराजित गर्दै वेष्टर्नले चौथोपटक उपाधि जित्न सफल भएको हो । गत सिजनको सुपर लिग पनि वेष्टर्नले नै जितेको थियो । उपाधि विजेता वेष्टर्नले १ लाख १ रुपैयाँ र उपविजेतामा चित्त बुझाएको लुम्बिनी खुकुरीले ५० हजार १ रुपैयाँ प्राप्त गर्याे ।

    विजेता र उपविजेता टीमलाई आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारी, नेपाल क्रिकेट संघका निवर्तमान कार्यबाहक सचिव प्रशान्तविक्रम मल्ल, सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विष्णु प्रसाद शर्मा, खेल संयोजक प्रथम पराजुली, संघका कोषाध्यक्ष निरज प्रताप खाणलगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।