सोमवार , जेठ ११, २०८३
बुटवल, ११ जेठ । नेपालको यातायात क्षेत्र प्रायः दुर्घटना, असुरक्षा र श्रमिक समस्यासँग जोडिएर चर्चामा आउने गर्छ । सडकमा दिनरात खटिने चालक, सह–चालक र मजदूरहरू जोखिमपूर्ण जीवन बाँचिरहेका हुन्छन् । दुर्घटना वा अप्रिय घटनामा ज्यान गुमेपछि परिवार आर्थिक र मानसिक संकटमा पर्ने अवस्था छ । तर, यही कठिन परिवेशबीच पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले भने मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको उदाहरणीय अभ्यास प्रस्तुत गर्दै आएको छ ।
हालै सहकारीले पाल्पाको तानसेन नगरपालिका–१० निवासी स्वर्गीय कोपिल रानाको परिवारलाई १५ लाख रुपैयाँ राहत रकम हस्तान्तरण गरेको छ । राना पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. अन्तर्गत सञ्चालन हुने लु.प्र.०१–००१ ख ०१२८ नम्बरको बसमा सह–चालकको रूपमा कार्यरत हुनुहुन्थ्यो । २०८२ फागुन १७ गते काठमाडौंबाट भैरहवातर्फ फर्कने क्रममा एक समूहले गरेको आक्रमणमा परी उनको ज्यान गएको थियो।
रानाको असामयिक निधनले परिवार मात्र होइन, सम्पूर्ण यातायात क्षेत्रलाई नै स्तब्ध बनाएको सहकारीका अध्यक्ष दधिराम खरेल बताउनुहुन्छ । उहाँका अनुसार सहकारी केवल बचत तथा ऋण कारोबार गर्ने संस्था मात्र नभइ सदस्यहरूको दुःख–सुखको साझेदार बन्ने उद्देश्यले अघि बढिरहेको छ । ‘घरको मूल अभिभावक गुमाउनुको पीडा शब्दमा व्यक्त गर्न सकिँदैन,’अध्यक्ष खरेलले भावुक हुँदै भन्नुभयो–‘यस्तो परिस्थितिमा परिवारलाई ‘तपाईंहरू एक्लो हुनुहुन्न’ भन्ने अनुभूति दिलाउनु पनि हाम्रो जिम्मेवारी हो ।’
यातायात क्षेत्रमा काम गर्ने श्रमिकहरूको जीवन जोखिमले भरिएको अध्यक्ष खरेलले बताउनुभयो । सडक दुर्घटना, झगडा, आक्रमण र स्वास्थ्य समस्याले धेरै परिवारहरू अचानक संकटमा पर्छन् । यस्ता बेला अधिकांश परिवार आर्थिक अभावले थप पीडा भोग्न बाध्य हुन्छन् । यही यथार्थलाई बुझ्दै सहकारीले आफ्ना सदस्यहरूका लागि दुर्घटना बीमा सुविधा सञ्चालन गर्दै आएको अध्यक्ष खरेलले बताउनुभयो ।
सहकारीका प्रबन्ध सञ्चालक रामचन्द्र भुसालका अनुसार हालसम्म सहकारीले ६ जना बस व्यवसायी, चालक तथा सह–चालकका परिवारलाई १५ लाखदेखि २२ लाख रुपैयाँसम्म राहत तथा बीमा रकम उपलब्ध गराइसकेको छ । उहाँका अनुसार यो सहयोग केवल आर्थिक राहत मात्र नभइ पीडामा मल्हम लगाउने आत्मीय साथ पनि हो । ‘दुर्घटना वा अप्रिय घटनापछि परिवार पूर्ण रूपमा विखण्डित हुन नदिन केही हदसम्म भए पनि सहारा दिनुपर्छ भन्ने हाम्रो भावना हो,’भुसालले भन्नुभयो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक निशान थापाले सहकारीको कार्यलाई यातायात क्षेत्रमा सकारात्मक सन्देश दिने अभ्यासका रूपमा व्याख्या गर्नुभयो । उहाँका अनुसार सहकारीले सदस्यबीचको सम्बन्ध केवल आर्थिक कारोबारमा सीमित नराखी भावनात्मक सम्बन्धको रूपमा विकास गरेको छ । ‘एकका लागि सबै, सबैका लागि एक’ भन्ने सहकारी सिद्वान्तलाई व्यवहारमै उतार्दै आएको यो संस्थाले पछिल्ला वर्षहरूमा सामाजिक गतिविधिहरूलाई पनि निरन्तरता दिएको छ ।
सहकारीका सञ्चालक मोहन पिएस का अनुसार गत चैत १८ देखि २४ गतेसम्म सम्पन्न साधारणसभाको अवसरमा आयोजित रक्तदान कार्यक्रममा सहभागी रक्तदाताहरूलाई सम्मान समेत गरिएको थियो ।
नेपालको यातायात क्षेत्र लामो समयदेखि श्रमिक असुरक्षा, न्यून सामाजिक सुरक्षा र अस्थिर आयको समस्याबाट गुज्रिरहेको छ । धेरै चालक तथा सह–चालकहरू बीमा, स्वास्थ्य सुविधा र आकस्मिक राहतबाट वञ्चित छन् । यस्तो अवस्थामा पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीले देखाएको सक्रियता अन्य सहकारी र यातायात संस्थाका लागि पनि प्रेरणाको विषय बन्न थालेको छ ।
विशेष गरी श्रमिकको श्रमलाई सम्मान गर्दै दुःखको समयमा परिवारसँग उभिने संस्कारले सहकारीप्रतिको विश्वास अझ बलियो बनाएको स्थानीय व्यवसायीहरूको भनाइ छ । यातायात क्षेत्र केवल व्यवसाय मात्र नभइ हजारौं परिवारको जीविकोपार्जनसँग जोडिएको संवेदनशील क्षेत्र भएकाले यहाँ मानवीय उत्तरदायित्व अझ आवश्यक हुने सरोकारवालाहरू बताउँछन् ।
पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीले देखाएको यो अभ्यासले सहकारीको वास्तविक अर्थ केवल आर्थिक कारोबार नभइ सामाजिक सहअस्तित्व र मानवीय सहकार्य पनि हो भन्ने सन्देश दिएको छ ।
सो अवसरमा बुटवलमा सरुवा भै आउनुभएका प्रहरी उपरीक्षक निशान थापालाई स्वागत तथा सम्मान गरिएको अध्यक्ष खरेलले बताउनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
