२०८२, पौष १५ गते

Dec 30 2025 | २०८२, पौष १५ गते

टर्कीमा इस्लामिक स्टेटविरुद्धको कारबाहीमा तीन प्रहरीसहित नौ जनाको मृत्यु

मंगलवार , पौष १५, २०८२

  • 244
    Shares
  • 244
    Shares
  • काठमाडौं, १५ पुस । टर्कीको उत्तर–पश्चिमी प्रान्त यालोभामा सोमवार इस्लामिक स्टेट (आईएस) का संदिग्ध सदस्यहरूलाई लक्षित गरी गरिएको सुरक्षा कारबाहीका क्रममा तीन प्रहरी अधिकारी र ६ जना संदिग्ध लडाकुसहित नौ जनाको मृत्यु भएको छ ।

    आन्तरिक मामिला मन्त्री अली येरलिकायाका अनुसार उक्त भिडन्तमा अन्य नौ जना घाइते भएका छन् । अंकारामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री येरलिकायाले रातभर १५ प्रान्तका १०८ विभिन्न स्थानहरूमा एकैसाथ खानतलासी र छापा मारिएको जानकारी दिए । यालोभामा स्थानीय समयअनुसार बिहान २ बजे शुरु भएको उक्त कारबाहीमा संदिग्धहरूले सुरक्षाकर्मीमाथि गोली प्रहार गरेका थिए ।

    सो क्रममा तीन प्रहरीको ज्यान गएको थियो भने आठ अन्य व्यक्ति र एक रात्रिकालीन सुरक्षा गार्ड घाइते भएका थिए । घरभित्र महिला र बालबालिका समेत रहेकाले कारबाही अत्यन्तै सावधानीपूर्वक गरिएको र पाँच महिला तथा ६ बालबालिकालाई सुरक्षित रूपमा बाहिर निकालिएको मन्त्रीले बताउनु भयो ।

    मारिएका ६ जना संदिग्ध आईएस लडाकुहरू टर्कीकै नागरिक भएको पुष्टि भएको छ । घटनापछि यालोभा मुख्य सरकारी वकिलको कार्यालयले अनुसन्धान शुरु गरेको छ भने न्याय मन्त्री यिलमाज तुन्चले पाँच संदिग्धलाई हिरासतमा लिइएको जानकारी दिनुभयो । नयाँ वर्षको अवधिमा सुरक्षा खतरा बढ्न सक्ने आँकलनका बीच टर्कीले पछिल्लो समय आतंकवादी समूह आईएसविरुद्धको अभियानलाई तिब्र पारेको छ ।